मैले कविता लेख्ने थिइन

के. सी. ‘सान्दाइ’ 
       एडिलेड
आमाको अस्तित्व नलुटिएको भए
बाबाले अर्काको गुलाम बन्नु नपरेको भए
श्रीमतीको चौबन्दी नच्यातिएको भए
ज्यू! हजुरियाहरूले शोषण नगरेको भए
बन्दकीमा राखेको घरबारी नहडपेको भए
मैले कविता लेख्ने थिइन।
हलगोरु र श्रीमतीको हार
साहुले जफत नगरेको भए
धितो राखेको सुन नपचेको भए
घोडे जिनको बुच्चे, दौरा लगाएर
तुसारो घारी र जुका घारीमा
लुग-लुग काम्दै अर्काको भैँसी
चराउनु नपरेको भए
मैले कविता लेख्ने थिइन।
तत्कालीन परिस्थितिले गर्दा
श्रीमतीका आँखाबाट आँसु नझरेको भए
साना छोरा छोरी भोकले विहोस
नभएका भए
साहुको ऋण तिर्न सहज वातावरण
भइदिएको भए
आफ्नै जन्मभूमिमा तेस्रो दर्जाको नागरिक
बन्नु नपरेको भए
मैले कविता लेख्ने थिइन।
शोषण दमन विरुद्ध आवाज उठाउँदा
झेल पर्नु नपरेको भए
झेल भित्र परिवारको यादले
विह्वल हुनु  नपरेको भए
आफ्ना सहयात्री मित्र र
आफ्ना आफन्तहरू
गुमाउनु नपरेको भए
मैले कविता लेख्ने थिइन।
अनायासै कुटाई पिटाई र
अवहेलना खेप्नु नपरेको भए
गरिबीको मारभित्र सदैव
आधा पेटको पिडा खप्नु
नपरेको भए
दासत्वको पराकाष्ठा भित्र
लत्रिनु नपरेको भए
भयावह परिस्थितिको
 भुँवरीले नसताए भए
मैले कविता लेख्ने थिइन।
देशमा विषम परिस्थितिको
सामना गर्नु नपरेको भए
आफ्ना छोरी चेलीहरू
बलात्कृत नभएका भए
आफ्नू भाषा संस्कृति र
भेसभुसा नखोसिएको भए
भाइ-भाइ बिच रक्तपात नभएको भए
राष्ट्रिय सम्पदाको विनाश नभएको भए
धनसिरी र जल ढक्कामा
रगतको प्रवाह नबढेको भए
मैले कविता लेख्ने थिइन।
पल्लो गाउँको जेठालाई झुन्डाएर नमारेको भए
मगरेको मनेलाई गोली हानेर नमारेको भए
पण्डित बाजेको टुप्पी नकाटिएको भए
हाङ्बु जेठाको जनै नचुटाएको भए
द्यौरालीमा बम विस्फोट नभएको भए
नेपाली भवनहरू नजलेका भए
सांस्कृतिक धरोहर नढलेका भए
मैले कविता लेख्ने थिइन।

One Reply to “मैले कविता लेख्ने थिइन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *