मैले देखेका तस्वीरहरू
डंमर घिमिरे
एडिलेड, अस्ट्रलिया
मानिसका रङ्हरु आफ्नै
गति संगै- आफ्नै अभिलाषा भित्रै
पोतिएर छर्लङग भित्तामा टाँगिएका छन
मानौ ऐतिहासिक कथाको ध्योतक हुनुपर्छ
कुनै कालका महाँ नायकहरु हुनुपर्छ
तस्वीरमा टाँगिएका मानिसहरू ।
पद देखि कदसम्म कद देखी शीरसम्म
नियाल्दा लाग्छ भिन्नै रंगसंग
सम्झौता गरेको हुनुपर्छ
कुनै आधारभूत सिद्धान्तको उपमा हुनुपर्छ,
कुनै साक्षात अनुभूतिको प्रणेता हुनुपर्छ
ती पुराना तस्वीरका रंगरञ्जित रंगका
पोला भित्रका मानिसहरू ।
तस्वीर भित्र भिन्न-भिन्नै जातका-प्रकारका
फूलहरु छन, स्वछन्द छन,हँसिला छन
आँफै देखि खुशी छन्,
आफैलाई सुरक्षित ठान्छन्
त कतै नैरश्यताको तुँवालो आफ्ना
शीरमा राखी बाँचिरहेका छन्
नाङगा पाइलाहरू गन्तव्यतिर लम्किरहेका छन्
तै पनि आनन्दिपन खेलिरहेको भान हुन्छ,
नयाँ कालका तस्वीरमा रंगहरु
फिक्का जस्तो देखिन्छ
अनौठो किसिमको अनुभूति लिएर
झुन्डिरका छन तस्वीरहरू
लाग्छ समयको जंगार तराईले
अलि अलगै तुल्याएको हुनुपर्छ,
विषादपूर्ण हुनुपर्छ।
नयाँ तस्वीरका फूलहरु निराश
देखिन्छन्,त्रसित देखिन्छन्
गन्तव्यबिमुख देखिन्छन् ,
आजकल फूलहरु आत्मरक्षाका खातिर हतियार उमार्न
लागेका छन,
अहम र् आन्तरिक द्वन्द्वको विज रोप्दै छन
यस्तै देखिन्छ भित्ताका तस्बीरहरुमा,
लाग्छ गलत रंगको प्रयोग भएको हुनुपर्छ,
रंगको संरचना नै अलौकिक हुनुपर्छ,
समयको तुसारोले रंगहरुको संयोजन बिथोलेको हुनुपर्छ
लाग्छ कुनै अघोषित महाँ प्रलयको संकेत हुनुपर्छ।