“म्याराथन दौडभित्रको जिन्दगी” संग दौडँदा
यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया
औंलाहरूमा अटाउने सक्ने कुशल भूटानी कविहरू मध्ये एउटा नाम हो सञ्चमान खालिङ | आफ्नो देशबाट विस्थापित भए पश्चात् अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रेका भूटानीहरूको जटिल भोगाइलाई सरल शब्दमा सम्प्रेषण गर्नु कवि खालिंगको प्रशंसनीय प्रतिभा हो भन्ने कुराको प्रत्याभूति उनका प्राय कविता पढ्दा जोकोहीलाई पनि हुन नसक्ने दावा कसैले पनि गर्न सक्दैन| उनको यस्तै यौटा कविता म्याराथन दौडभित्रको जिन्दगी लाई यहाँ चर्चा गर्ने जमर्को गरिएकोछ |
कवि सञ्चमान खालिङले आफ्नो देशमा हुँदा खेतीपाती गरेर घरजम चलाउने अधिकांश विस्थापित भूटानीहरूको अतीतसंग अन्योंन्याश्रित सम्बन्ध राख्ने “भाटी” सँगै कविताको थालनी गरेर पाठकलाई आफूतिर तानी लिएर हिंड्छन् ती पुराना गाउँहरूतर्फ | फसल लगाउने र उठाउने बेलामा सास फेर्न नभ्याउने विगतको भाटीसंग वर्तमानको छातीलाई तुलना गर्न खालिंगले प्रयोग गरेको उपमा ज्यादै प्रासंगिक तथा प्रयुक्त छ| ती देउराली र छोर्तेनहरु सब आफूले बिर्सेको बहाना गरी विगतलाई नजानिंदो पाराले कलात्मक ढङ्गमा ब्युंत्याएका छन् | अमेरिकामा आफूलाई पुनर्स्थापना गर्न जागिरेहरूलाई समय पाबन्दी यति छ कि उनीहरूले आफ्नो अविस्मरणीय विगतसँग जोडिएका सांस्कृतिक उपदेयिता भएका विरासत समेत भुसुक्कै भुलिसकेकाछन् भन्छन् कवि खालिङ। यद्यपि यो कुनै व्यग्र उत्कण्ठा नभएर विवशताको कुण्ठा नै हो भन्ने यथार्थलाई भने नकार्न सकिन्न |
भाटीको तालमा दम फेर्छ छाती
एक पछि अर्को गोरेंटो हुँदै
कहाँ छुट्यो कहाँ
देउराली र छोर्तेनहरु
त्यो क्षितिजलाई सोध
उसले देखेको छ
मैले त कता भुलें कता-
कसैलाई उछिनेर कुनै पदक प्राप्त गर्ने लिप्सा नभएर समयले लखेट्दा लखेट्दै जीवनको क्यानभासमा कोरिएका कुरूप नक्सालाई मेटाएर नयाँ निर्माण गर्न तथा पाश्चात्य जीवनशैली अपनाएर आफूलाई पुनर्स्थापित गराउन उद्दत हुनु पर्ने जागिरे युवाहरूको बाध्यताको विदारक बिम्बलाई खालिङले निम्न पंक्तिहरूमा छर्लङ्ग उतारेका छन् |
मैंले कसैलाई जित्न
यो म्याराथन दौडेको होइन
म यति थाकिसकें
पैतला क्षिया-क्षिया भैसक्यो
काँडाहरुको कोराई कति हो कति
कहिले कुदियो भिरैभिर
कहिले कुदियो तिरैतिर
स्वासप्रस्वास सञ्चालन गर्न या भनौं एउटा औसत जीवन यापन गर्न गर्नै पर्ने जागिर सकेर घर फर्के पश्चात् बिछ्यौनामा लडेर कुनै चिन्तनशील एवम् सचेत मान्छे एउटा अर्थपूर्ण जीवन बाँच्नलाई कोर्नु पर्ने सुन्दर खाकाको बारेमा सोच्दा सोच्दै शरीर शिथिल पार्ने जागिरको थकानले भुसुक्कै निदाउँछ | उ ब्युँझदा पुन: जागिरतिर हिँड्ने बेला भैसकेको हुन्छ भन्दै आफूले आफ्नै ट्रयाक निर्माण गर्न नसकी समयाभावले कुपोषित भएर पनि अर्कैले कोरेको म्याराथन ट्रयाकमा हत्केलाले छाती थिच्दै थिच्दै निरन्तर दौडिरहनु पर्ने कठिन परिस्थितिको ज्वलन्त चित्र खालिङले जस्ताको त्यस्तै खिचेकाछन् | गाउँको सामान्य तर सुन्दर दृश्यबाट सुरु भएको उनको यस कविताका यी अन्तिम पंक्तिले पाठकलाई कहालीलाग्दो ओलम्पिक्स अरीनाभित्रको दुखान्तमा पुर्याउँछन् |
जिन्दगी “यस्तो होला/ हुनुपर्ने हो” को परिकल्पना
कति चोटि कोरियो, कहाँ कता छोडियो
त्यो बतासलाई सोध
उसँगै दौडेको छु, उसले देखेको हुनुपर्छ
हत्केलाले छाती थिच्दै दौडिरहेको छु
म्याराथन
बस ! म्याराथन
केवल यो कविताको आधारमा भन्ने हो भने खालिङ समीचीन यथार्थवादी कवि हुन् | आफ्नो वरिपरीको दृश्यावलीलाई निकटावलोकन गरेर त्यसलाई कैद गर्ने क्यामरा तथा त्यसको चित्ताकर्षक चित्र मुद्रण गर्ने प्रिन्टर दुवैको गुणस्तरीय ब्रान्डको नाम हो सञ्चमान खालिङ |