“यो जिन्दगी खै के जिन्दगी”

सुशिल रेग्मी   Sushil

 

प्रत्येक साँझ जब नजिकैको रेलरोडमा रेलको लामो साइरन बज्छ अनि मेरो पनि बैठक कोठाबाट आफ्नो कोठामा उकालो चड्ने समय हुन्छ। कोठामा प्रवेशसँगै मेरा आँखा एकाएक छिमेकिको बरण्डामा पुगिहाल्छन् । न हेरौ भन्छु मन न हो पटककै मान्दैन ! खासै छेमेकिको बरण्डामा केही भएको त हुदैन तर, केही तिन चारजाना मेरै उमेरका अंग्रेज़ी युवाहरू  बियरका बोत्तल, हातमा सिगरेटर पोलेको मासु लिएर मस्ती गरिरहेका हुन्छन् । म भने मेरो कोठाबाट एकोहोरो हेरिरहन्छु । मनमनै सोच्छु कास म पनि यसरी नै मोज गर्न पाए त… ! केही पुराना मित्रहरु र उनीहरुसँग बिताएका पलहरु मेरा आँखा वरिपरी घुम्न थाल्छन् । अनि कल्पनाभित्र हराउँछु र सोच्छु म पनि यसै गरी रमाऊँ । तर त्यहीबेला मेरो अन्तरहृदयबाट एउटा अडर आउँछ-“तँ यस्तो केही गर्न पाउदैनस् किनकि तँ एक महारोगी होस्, तेरो स्वास्थ्यले यसो गर्न दिँदैन।” मलाई आफैंसँग रिस उठ्छ।

प्रायःजसो पन्ध्रमै भए पनि मेरो परिवार र केही साथीहरु मिलेर हामी इण्डियन रेस्ट्यूरेण्ट छिर्ने गर्छौ । हामी धेरैजसो बिर्यानीनै माग्ने गर्छौ । अडर लिने वेटर सोध्छ-“हाउ स्पाइसी वुड यू लाइक टू ह्याभ सर…?” अरु भन्छन्-“इट सूड बी हट एण्ड स्पाइसी ।” म भने मन खिन्न पारेर जिरो स्पाइसी प्लिज भन्छु । अडर आएपछि खाने क्रममा कोही बोलिहाल्छन्-“बिर्यानी त पिरोपिरै मिठो हुन्छ हौ ।” मेरोमा त खोर्सानी हालेकै छैन; के म नमिठै खाँदै छु त । त्योबेला सबै रमाईरमाई खाइरहेका हुन्छन्; म भने आफ्नै स्वास्थस्थितिलाई गाली गर्दै हुन्छु- थुक्क म पिण्ड रोगी !

आजभोलि त यस्तो लाग्छ बाटोमा सिगरेट तान्दै हिड्नेलाई घुमाएर मुक्का हानुँ- किनकि तिनीहरुले तान्दै गरेको देखेर मलाई पनि तान्न मन लाग्छ । तर, म त्यसो पनि गर्न सक्दिनँ । घरमा कहिल्यै पनि चिया-कफी या चट्पटे नबनोस् भन्ने चाहन्छु; किनकि अरुले खाएको कुरा लाटोले पापा हेरेझै कति हेरिरहनु ! नेपाली बजार छिर्नै मन लाग्दैन तर, नछिरी पनि नहुने हामी नेपालीलाई चाहिने आवस्यक वस्तुगरू त त्यहीँ पाइन्छ । छिरीसक्दा कसै न कसैले सोधीहाल्छ-“पान, गुड्का, सुपारी के खाउँ?” म भने मैले सबै थोक पो छोडें त भनेर सरक्क त्यहाँबाट बाटो लाग्छु ।

कहिलेकाहीं त लाग्छ यो संसार नै मलाई गिज्याइरहेको छ । मेरो खिल्ली उडाइरहेको छ अनि जोडजोडले चिच्याउँदै भन्दैछ- “तँ साच्चै महारोगी नै होस्।” कतै घुम्न जाउँ, आफन्त भेटुँ या मित्रहरु- एउटै प्रश्नले हैरान हुन्छु-“काम कस्तो चल्दै छ त ।” म भने टाउको निहुराएर भन्छु अस्तिको काम अलि अल्छि लागेर छोडीदिएँ, नयाँ खोज्दै छु। तर उनीहरुलाई के थाहा मेरो स्वास्थ्यले साथ नदिएर छोड़ें भनेर या त धेरै समय यता काम नै गरेको छैन। यस्तै छ मेरो काम, दाम र मामको लागि संघर्षको जिन्दगी । स्वाः हरिभक्त कटुवाल दाइलाई स्मरणमा अँगालेर भन्छु, “यो जिन्दगी खै के जिन्दगी ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *