रुखो सत्य
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
एउटा कुरा भन्छु, पत्याउनु हुन्छ?
साँच्चै! मैले ढाँटेकै हैन, म डाँट्दिनन्
म निन्द्रैमा थिएँ
अनि मलाई खुबै सजाइएको थियो
म देखिरहेको थिएँ
कि मलाई नङ्ग्याई रहेको थियो
मलाई बुझ्न गाह्रो भइरहेको थियो
कि मलाई फेरि बच्चा जस्तै
काँधमा बोक्न लागिएको थियो
कस्तो खेल रचिरहेछ, मेरै खिलाफ, मेरै घरमा!
आफ्ना मेरा सबै वरि परि भेला भएका थिए
फेरि मलाई सबैले भुल्ने सिलसिलामा जुटेका!
जसले मलाई कहिल्यै देखेका थिएनन्
या भनौँ भेटेका थिएनन्
जोसँग कुरा कानी भएको थिएन
उनीहरू पनि मनै देखि माया दर्साइरहेका थिए
या भनौँ कम्तीमा मलाई चाहिँ यस्तो लागिरहेको थियो
मलाई थाहा थिएन
किन सबै हैरान देखिन्थे म मस्त सुतेको देखेर
चिच्याई चिच्याई रोएर
मलाई ब्युँझाउने कोसिसमा देखिन्थे सबै
मेरो आत्मा अचम्भीत देखिन्थ्यो मेरो घरको यो दृश्यले
जहाँ मलाई सधैँ भरको लागि सुताउन गइरहेको थियो
भरपुर माया थियो जसको मनमा मेरा लागि
तिनै मनका हातहरूले मलाई जलाउन लागिएको थियो…….