वर्जित फल

कवि

शिवलाल दाहाल
खुदुनाबारी , झापा

तिमीले भन्यौ
त्यो वर्जित फल हो
हामीले विश्वास गर्‍यौं
अनि हामीले
कोदाको ढिँडो खायौं
सिस्नाको खोले खायौं
गिठ्ठा, भ्यागुरको रस चाख्यौं
त्यस वृक्षपटि टाउकोसम्म उठाएर हेरेनौं
तर जब हामीले संसार बुझ्न थाल्यौं
यो थाहा पायौं कि,
युगौं अघिदेखि त्यही वृक्षको फल खाएर मानिसहरु बाँचिरहका रहेछन्
तब हामीले पनि त्यही वृक्षको फल खान पाउनुपर्छ भन्यौं
तिमीले सोझै इन्कार गर्‍यौ
बरु एकाएक त्यस वृक्षको फल माग्नेहरुको
जिब्रो थुत्यौ
हाँगा तान्न खोज्ने हातहरु भाच्यौं
हिड्न लम्किने खुट्टाहरु मर्कायौं
तर पनि हामीले त्यही फल खान पाउँनुपर्छ भनेर
संसारभरि चिच्याइरह्यौं
तिमीले त्यही संसारलाई भनिरह्यौ
“त्यो फल तिमीहरुको हो,
हाम्रो आफ्नै पहिचान छ
हाम्रो कुल राष्ट्रिय खुसीयालीको देश हो
यहाँ को भोको छ ? को नाङ्गो छ ?
नहुनेले पनि कोदाको ढिँडो खान पाएकै छन्
नहुनेले पनि  सिस्नाको खोले हुरेल्न भेटेकै छन्
जसले पनि गिठ्ठा, भ्यागुरको रस निल्न पाएकै छन्
सबका हातमा वर्षौ नधोएको ‘वाङचुङ’ छँदै छ
सबका आङमा महिनौ नधोएको मैलपाट्टी एक कपडा छँदैछ
यही नै हाम्रा लागि मनग्ये छ,

हामी हिपोपोटामस् हौं
हाम्रो अस्तित्व दुर्लभ छ
त्यो फल खाए हाम्रो अस्तित्व नै विलय हुन्छ ।”
सभ्य संसारले त्यही फलको स्वाद चाखेर पनि
त्यो फल वर्जित छ भन्ने सत्य बकिदिएर
एक पटक सत्यको पराजय गरिदिएको छ
एक पटक न्यायको घाँटी निमोठिदिएको छ
कस्तो विडम्बना !
अनि हामीले  फेरि पनि
त्यो फल वर्जित हो भन्ने कुरा स्वीकार्नु परिरहेछ !

रचनाः १८ जुलाई,२०११


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *