विचित्र अमेरिका

कवीन्द्र सिटौला ‘जिज्ञासु’

अमेरिका !
एकादेशमा कुनै समयमा
तिमीलाई सपनाको देश भन्दै
तिम्रो देशको मानिसलाई
अर्कै ग्रहको मानिस ठान्दथे ।
कोही त तिमीलाई पाताल पनि भन्थे ।
तिमी अझै त्यस्तै छौ कि परिवर्तित भयौ ?

सुनेथेँ, अठारौँ शताब्दीमै
अब्राह्म लिङ्कनले रङ्गभेद अन्त्य गरेका थिए अरे ।
सुनेथेँ, विशाल विशाल स्थल मार्गहरू निर्माण गरेर
गगनचुम्बी महलहरू ठड्याउँदै
धरतीमुनि रेल गाडी कुदाउँदै
आकाश र पातालै बाँध्यौ रे !
अमेरिका !
तिमी विचित्र छौ !

तिमीले अनेकौँ गृहयुद्धदेखि
विश्वयुद्ध पनि लड्यौ अरे ।
आणविक बम बनाएर
विश्वमा विध्वंस पनि मच्चायौ रे !
फेरि
तिम्रै सन्तानले नोबेल शान्ति पुरस्कार पनि पाए अरे !
तिमी संसारमा युद्धको रचना गर्छौ रे !
आफैँ फेरि शान्तिको पाठ पनि पढाउँछौ रे !
के हो यो अमेरिका ?

सृष्टिको अनुपम सौन्दर्य लेख्ने स्रष्टा,
मायामा पग्लिँदै परात्मा देख्ने द्रष्टा,
कलाकार, भाषा वैज्ञानिक सबै सबै तिमीसँगै छन् रे !
राइट ब्रदर्श, थोमस एल्भा एडिसन जस्ता
हजारौँ आविष्कारक पनि जन्माएका थियौ अरे !
विकासको उचाइमा पुर्‍याएर  अमेरिकालाई
संसारकै आकर्षक भूमि पनि बनायौ अरे ।

डरलाग्दो विशाल आर्थिक मन्दीमा फँसेर पनि
हिम्मत नहारीकन
न्यु योर्क, लस एन्जलस जस्ता
सयौँ सहरहरू निर्माण गरेर
संसारकै आर्थिक साम्राज्य केन्द्रहरू
स्थापना  गर्‍यौ अरे !
मरुभूमिलाई बदलेर
लस भेगस जस्ता हरियाली सहरहरू बनायौ अरे
अनि त्यसरी नै
विकासको नमुना देखायौ अरे !
विचित्र छौ अमेरिका तिमी !

महान् मार्टिन लुथर जस्तो
नयाँ ऐतिहासिक हिम्मत र स्वप्न द्रष्टाको
मानवीय बिम्ब प्रस्तुत गरी
एक युगीन नेता जन्मायौ रे !
केनेडी जस्तो दूरदर्शी राष्ट्रपति पनि पायौ रे !
फेरि उनकै प्रेरणामा
चन्द्रमामा मानिस पनि  उतार्‍यौ रे !
तर विडम्बना
उनीहरूबाट डराएर उनीहरूलाई मारियो,
हत्या गरियो अरे !
तर उनीहरूको सपना चाहिँ कहिल्यै पनि मर्न सकेनछ !

स्वतन्त्रताको प्रतीक ‘स्ट्याचु अफ लिवर्टी’
खडा गरेका छौ अरे !
अनि त्यहीँबाट स्वदेशमा
वाक्स्वतन्त्रता पनि दिएका छौ अरे
विश्वमा त्यसैको शङ्ख घोष पनि गर्छौ रे
त्यसैका लागि निरन्तर बिगुल फुकिरहेका छौ रे !
अमेरिका तिमी विचित्रका छौ !

तिमीले के  गर्‍यौ कुन्नि ?
तिम्रा धेरै दुस्मनहरू छन् रे !
तिनीहरूले तिमीलाई धेरै आक्रमण गरिरहन्छन् रे !
प्रकृतिले पनि तिमीलाई नै दुख दिन्छिन् रे !
फेरि
तर विशाल सागर, हिमनदी, ताल, जङ्गल, खानी आदि
धेरै अथाह प्राकृतिक र जनसम्पदा
सबै तिमीसँगै पो छन् रे !
संसारकै बहुमूल्य मुद्रा पनि तिमी नै छाप्छौ रे !
विश्व अर्थतन्त्र र विश्व बजारलाई नियन्त्रणमा लिएका छौ अरे

कुनै बेला काला जातिलाई दास बनाउने देशमा
कालै जाति ओवामालाई दुई दुई पटक
राष्ट्रपति पनि बनायौ रे !
सम्भावना र समानताको उदाहरण प्रस्तुत गरेऊ अरे
राजनीति नै नगरेको व्यापारी ट्रम्पलाई पनि
राष्ट्रपतिको अवसर दिलायौ रे !
महिलालाई अझै पनि देशको राजनैतिक प्रमुख बनाउन
नारीलाई शक्ति हस्तान्तरण गर्न सकेका छैनौ रे !
अमेरिका तिमीमा यस्ता अनेकौँ विडम्बना पनि छन् रे !

आविष्कार ! आविष्कार ! आविष्कार !
आविष्कारका जादु गर्दै छौ रे तिमी !
कम्प्युटर, मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल
अनलाइन संसार,काल्पनिक संसार, इलेकट्रोनिक र उड्ने कार
अनि
लिङ्ग परिवर्तन र अनौठा ज्ञान विज्ञानले
संसार परिवर्तन गर्दै छौ रे !
विश्वभरिका तेजस्वी दिमागहरूलाई
एकत्रित ,गरेर राखेका छौ अरे !
तिम्रो देशमा विश्वभरिका  धनाढ्यहरू

गाँसबास विहीन गरिब
सडकमा माग्ने पनि बस्छन् रे !

के हो ?
मानव अधिकारका कुरा गर्ने तिमी
सुनिन्छः
अझै पनि त्यहाँ रङ्गभेद छ अरे !
जातीय द्वन्द्व हुन्छ अरे !
लुटतन्त्र, बलात्कार, हत्या, हिंसा प्रत्येक दिन हुन्छ अरे !
अमेरिकामा स्कुलमा नै बालबालिकालाई
गोली हानी मारिन्छ रे !
शिक्षाको दिन दहाडै हत्या गरिन्छ रे !
जीवनका कोपिला फक्रेर फूल बन्न खोज्दाखोज्दै
चुँडेर फालिन्छ रे !
के हो तिम्रो विडम्बना ?

तर
नवनिर्माण, नयाँ सोच र कर्मवीरलाई
सदैव
स्वागत गर्दै उन्नति गर्न अभिप्रेरित गर्दै
निरन्तर अगि बढिरहन छुट पनि छ रे त्यहाँ !
संसारभरका मानिसलाई बास दिन्छौ रे !
अमेरिकालाई सबैले आफ्नै देश जस्तै ठान्छन् रे !
सबैलाई हरेक कुरामा समान अवसर दिन्छौ रे !
कर्मको सदैव पूजा गर्छौ अरे !
कुनैपनी कामलाई ठुलो र सानो भनिँदैन अरे त्यहाँ
तिम्रो शब्दकोश र कर्म क्षेत्रमा
असम्भव भन्ने शब्द नै छैन रे
त्यसैले,
त्यहाँ सम्भावना नभएको जन्तु नै बस्दैन अरे !
त्यहाँ सम्भावना नभएको जन्तु नै बस्दैन अरे !

अमेरिका !
तिमी विचित्र रहे छौ !
गजबकै रहेछौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *