विदेशको बाध्यता

कवि
कथाकार

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

आज पनि काम छ । खुइ ! गर्दै लामो सास फेरेर उ उठ्यो । उठेर नास्ता बनायो । अलिकति चिया र एउटा पाउरोटी खाएर सधैँ झैँ उ आफ्नो नित्य कर्म कामतिर लाग्यो । काम नगरे घरको भाडा तिर्न नसकिने । भाडा नतिरे घरमा बस्नै नपाइने । आज भएन भोलि दिन्छु है भनेर भन्न नपाइने । आज बिरामी छु म काममा भोलि आउँछु ल भन्न पनि नपाइने । दिनको दस घण्टा, हप्ताको छ दिन काम गर्नुपर्ने अवस्था । अनि घरमा आएर बजार जानुपर्ने, नसुती हस्पिटल अपोइन्ट्मेन्ट । कति व्यस्त जिन्दगी कहिले काहीँ त एक-दुई घण्टा पनि राम्ररी नसुतीकन काममा जानुपर्ने । मनमा यस्तै कुरा खेलाउँदै उसले गाडी स्टार्ट गर्‍यो । गाडीको घुरर…..आवाजले उ आफैँ निद्राबाट ब्युझिएझैं भयो । ओहो ! सोच्दासोच्दै म त झन्डै पो निदाएँछु । उसले गाडीलाई पछाडि सार्‍यो रोडमा निकाल्नको लागि । यही अवस्थामा एउटा स्वर आएर उसको कानमा ठोक्कियो, भरे आउँदा छोरालाई डायपर किनेर ल्याउन नबिर्सनु है । उसले यसो फर्केर हेर्‍यो अनि चिन्यो, अरू कोही नभएर आफ्नै श्रीमती पो रहिछन् । थकित मुद्रामा उसले हुन्छ म ल्याउँछु भन्यो अनि आफ्नो बैङ्क अकाउन्ट खोलेर हेर्‍यो । ओहो पैसानै रहेनछ अकाउन्टमा त, उ झस्कियो । ए ! सुन त उसले श्रीमतीलाई बोलायो । उत्तर आएन, श्रीमती अघि नै हिँडिसकेकी रहिछन् । उसले आफ्नो गाडी अगाडी बढायो । जसरी भए पनि काममा जानैपर्ने बाध्यता सम्झियो ।

पर्सि दसैँको टिकाको दिन, बिदा पनि पाइएन । यो जिन्दगी पनि कस्तो, आफ्नो रितिरिवाज परम्परा पनि घरमा बसेर मनाउन नपाइने । नेपालमा हुँदा रोटे पिङ खेलेको, साथीभाइसँग रमाइलो गरेको । टीका लगाएर गाउँमा नाँच्दै गाउँदै हिँडेको झल्झली सम्झियो । सोच्दा सोच्दै उ काममा पुग्यो । मनमा हज्जारौं कुरा खेलाउँदै काम गरेर घर फर्कियो ।

वर्षौं बित्न त कति समय लाग्दैन भने एक दिन बित्न कति लाग्छ र, विजयादशमी पनि आयो । हतारहतार गरेर उसले नुहाइधुवाई गर्‍यो । एकै छिनलाई भए पनि नयाँ कपडा लगायो । उसले कपडा लगाइसक्दा उसकी श्रीमतीले आफू र छोरालाई पनि तयार पारिसकेकी थिई । बिहानको दस बजेको टिकाको राम्रो साइत रहेछ भनेर उसका बुबाले भनेपछि ठिक दस बजे सबै परिवार मिलेर टीका लगाए । उसले पनि बुबा र आमाको हातबाट टीका र आशीर्वाद थाप्यो अनि श्रीमती र छोरालाई पनि लगाइदियो । जस्तै अवस्थामा पनि समयले नपर्खने, एकै छिनमा उसको काममा जाने समय पनि भयो । घरमा सबैसँग रमाइलो गर्ने चाह हुँदाहुँदै आँखाभरि आँसु उ पारेर कामतिर लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *