विरासतको प्रश्न : सम्झने कि हस्तान्तरण गर्ने?

भाषा विरासत सभामा गरिएको सम्बोधन 

शिवलाल दाहाल

आदरणीय सभापति महोदय,
यस कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगण, अग्रज साहित्यिक स्रष्टाहरू, समकालीन साथीहरू तथा भाषा–साहित्यप्रति चासो राख्नुहुने सम्पूर्ण महानुभावहरूमा म हार्दिक अभिवादन व्यक्त गर्दछु। आजको यस कार्यक्रममा यहाँहरूसँग भेटेर आफ्ना विचारहरू राख्न पाउँदा अत्यन्तै खुसी र गौरवान्वित महसुस गरिरहेको छु।

नेपाली भाषा विरासत महिना मनाइरहँदा, आज म यहाँ विरासतको प्रश्न : सम्झने कि हस्तान्तरण गर्ने? भन्ने विषयमा आफ्ना केही धारणा राख्न चाहन्छु।

अघिल्लो (२०२५) वर्ष मैले पेन्सिलभेनियाको एक कार्यक्रममा नेपाली भाषा विरासत दिवसका बारेमा परिचर्चा गरेको थिएँ। खास गरेर सन् १८८७ मा तत्कालीन पारूका महाराजा रिन्पुले दालचन गुरुङ र उनका छोरालाई प्रदान गरेको बसोबाससम्बन्धी कागजातलाई आधार मानेर हरेक वर्ष सेप्टेम्बर महिनालाई भाषा विरासत महिनाका रूपमा मनाउनुपर्ने तर्क अघि सारेको थिएँ। त्यो बस्ती बसाउन दिइएको अधिकारपत्र नेपाली भाषामा लेखिएको थियो। त्यसभन्दा अघि नै नेपालीभाषीहरू भुटानमा प्रवेश गरेका भए पनि, त्यो अधिकारपत्रमा नेपाली प्रयोग हुनु राज्यको औपचारिक अभिलेखनमा यस भाषाले प्रवेश पाउनु थियो।

कतिपय मानिसहरूको प्रश्न छ– नेपाली भाषाको विरासत कसरी? यो प्रश्न जायज पनि हो। जब हामी नेपाली भाषालाई समग्रतामा हेर्दछौँ, तब नेपाली भाषा कुनै अप्ठ्यारो स्थितिमा पुगेको हामी देख्दैनौँ। तर जब हामी हाम्रो समाजको आजको परिस्थितिको सापेक्षतामा हेर्दछौँ, अवस्था निकै जटिल छ। हामी यस्तो परिस्थितिमा पुगेका छौँ कि आगामी पुस्ताका लागि नेपाली भाषा केवल आफ्ना पुर्खाहरूको भाषाका रूपमा सीमित हुने परिस्थिति निर्माण भइरहेको छ। नेपाली भाषाको विगत मात्र होइन, पुस्तान्तरणको प्रश्न पनि हामीसँग छ। त्यसकारण मैले यसलाई ‘नेपाली भाषाको विरासत’ भनेँ।

हाम्रा पुर्खाहरू जुन समयमा भुटान प्रवेश गरेका थिए, त्यो समय र आजको समय बिलकुल फरक छ। तर भाषाको जुन समस्या हामी आज भोगिरहेका छौँ, त्यो समयसँग केही मिल्दाजुल्दा कुरा पनि छन्, केही फरक पनि। माथि उल्लेखित सन् १८८७ देखिको सन् १९५० सम्मको मात्रै कुरा गर्ने हो भने नेपाली भाषा राम्रोसँग विकास भएको पनि थिएन र पढ्ने–लेख्ने आधिकारिक स्थान वा संस्थाहरू पनि त्यहाँ थिएनन्। जति उनीहरूसँग नेपाली भाषाको ज्ञान थियो, त्यो मौखिक परम्परामा सीमित थियो। बीचमा सन् १९५० देखि सन् १९९० सम्म भने नेपाली भाषा विद्यालयहरूमा पढाइ हुने गरेको थियो। सन् १९९० पछिको अवस्थामा भुटानभित्र नेपाली भाषाको औपचारिक अध्ययन–अध्यापन गर्ने संस्था रहेनन्। सरकारी नियन्त्रण, जोङ्खा भाषाको प्रवर्धन र अङ्ग्रेजी भाषाको विश्वव्यापी प्रभावले गर्दा आज भुटानमा नेपाली भाषा लगभग बोलीचालीको भाषाका रूपमा मात्र सीमित हुँदै गएको छ। नेपाली भाषा पढ्न–लेख्न सक्नेको सङ्ख्या सानो मात्रै छ। तर भाषालाई प्रभाव पार्ने कुरा भने पढ्ने, लेख्ने, सिक्ने ठाउँ छ कि छैन भन्ने कुराले मात्र फरक पार्दैन। सामान्य बोलीचालीको भाषा सिक्न विद्यालय वा महाविद्यालय जानु पर्दैन। भाषा सिकाइलाई प्रभाव पार्ने कुरा शिक्षालयको पढाइ मात्र होइन, सामाजिकता हो, परिवेश हो, प्रयोग हो।

यो आलेखको सरोकार केवल भुटानभित्र नेपाली भाषाको ऐतिहासिक अवस्थासँग मात्र सम्बन्धित छैन। भाषा कुनै भूगोल वा संस्थाभित्र मात्र बाँच्दैन; त्यो समाजसँगै बाँच्दछ। त्यसैले भुटानबाट विस्थापित भएर संसारका विभिन्न मुलुकमा पुगेको नेपालीभाषी समाजमा भाषाको अवस्था कसरी बदलिँदैछ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण प्रश्न हो।

पुनर्वास भएको समाज भाषिक दृष्टिले भुटानभित्रको समाजभन्दा निकै फरक छ, किनभने यो समाज नेपालमा लामो समय बसेर आएको समाज हो। समाजको ठूलो हिस्सा नेपाली भाषाको औपचारिक तथा अनौपचारिक अध्ययन गरेर आएको छ। तर नयाँ पुस्तामा भाषा हस्तान्तरण किन झन् जटिल बन्दै गइरहेको छ? प्रश्न यही हो। समस्या पनि यही हो।

यस आलेखमा म यी तीन भिन्न परिस्थिति र परिवेशमा बाँचेको समाजको कुरा गर्दछु, किनभने समाजसँग भाषा जोडिएको हुन्छ अनि संस्कृति र इतिहास जोडिएका हुन्छन्। बाहिरी कारणलेभन्दा पनि हाम्रो सामाजिकताले, मनोविज्ञानले, आवश्यकताले, भाषिक प्रतिष्ठानहरूको उपलब्धताले वा अभिभावकहरूको उचित हस्तक्षेप (इन्टरभेन्सन)को कमीले भाषालाई कसरी प्रभाव पार्न सक्छ भन्ने कुरा गर्नेछु। जब विरासतको कुरा आउँछ, त्यो केवल भाषाको मात्र कुरा होइन, संस्कृतिको कुरा पनि हो। इतिहासको कुरा पनि हो। पुर्खाहरूले धानेको परम्पराको कुरा पनि हो। हाम्रो वर्तमानको कुरा पनि हो अनि भविष्यको कुरा पनि हो। 

सर्वप्रथम विस्थापनपूर्वको भुटानभित्रको समाजको भाषिक अवस्थाका बारेमा केही चिन्तन गरौँ, किनभने आजको समाज त्यसैको उत्तराधिकारी हो। उबेलाको समाज मूल रूपमा खेतीपातीमा आधारित र एक–आपसमा अन्तरनिर्भर समाज थियो। भुटानमा स्कुलहरू स्थापना हुनुभन्दा अघिको समाजमा सामान्य अक्षर चिनेका वा सामान्य पढ्न–लेख्न सक्ने गाउँमा एक–दुई जना भेटिन्थे। सन् १९५० पछि स्कुलहरू खुलेसँगै साक्षर हुनेहरूको सङ्ख्या बढ्यो, तर त्यो वृद्धि धेरै ठूलो थिएन।

उनीहरू शिक्षालयमा नगए पनि नेपाली भाषा सहज रूपमा बोल्न सक्थे। गाउँघरमा नेपाली नै माध्यम भाषा थियो। सन् १९९० पूर्व दक्षिण भुटानमा सरकारी कामकाजी भाषाका रूपमा पनि नेपाली प्रयोग हुन्थ्यो। त्यो जमानाका मानिसहरू स्कुल नगए पनि विद्यालाई ठूलो महत्त्व दिन्थे। उनीहरू ‘विद्या आर्जन गर्न’, ‘विद्या सिक्न’ भन्थे। ‘शिक्षा’ भन्ने शब्द उनीहरूको मानसपटलमै सायदै थियो। गाउँमा सामान्य लेखपढ गर्न जान्ने मानिसको अर्कै इज्जत हुन्थ्यो।

गाउँघरतिर अक्षर चिन्ने अवसर पाएकाहरू रामायण, महाभारत, गुणरत्नमाला जस्ता ग्रन्थहरू पढ्ने गर्थे। पढ्न नजान्नेहरू पनि पढिरहेका मानिसका छेउमा गएर सुन्थे। यसरी पढ्न नजान्ने भए पनि उनीहरू सुनेरै धेरै श्लोकहरू कण्ठस्थ पार्थे, कथाहरू स्मरण राख्थे। उनीहरू नीति, ज्ञान, धर्म र दर्शनका कुरामा चाख राख्थे। त्यसले गर्दा उनीहरू औपचारिक शिक्षा प्राप्त नगरे पनि अज्ञानी थिएनन्।

मेलापात, सारोगाह्रोमा एकआपसलाई सहयोग गर्ने र वल्लो घर–पल्लो घरबीच धेरै कुरा साझा रूपमा चलाउने प्रचलन थियो। उनीहरू एकआपसमा नजिकै बस्थे, गफ गर्थे, दोहोरी खेल्थे, गाउँखाने कथाहरू सुन्ने–सुनाउने गर्थे। खेतीपातीमा मिलेर काम गर्थे, सँगै बसेर चिया–खाजा खान्थे, कुराकानी गर्थे अथवा दुःख–सुख साटासाट गर्थे। कतिपय घरमा अन्य जातीय भाषा बोले पनि नेपाली भाषा सबैले बुझ्ने साझा भाषा थियो।

यसरी भाषा पढाइने शिक्षालय नहुँदा पनि उनीहरू नेपाली भाषा जान्दथे। भाषा सिकाइका लागि विद्यालय आवश्यक थिएन; सामाजिक जीवन नै भाषाको ठूलो पाठशाला थियो। परिवार, छिमेक, खेतीपाती, मेलापात, चाडपर्व, धार्मिक पाठ र दैनिक अन्तरक्रियामार्फत भाषाको पुस्तान्तरण हुन्थ्यो।

सन् १९५० पछिको अवस्थामा दक्षिण भुटानमा स्कुलहरू खुलेपछि नेपाली भाषाको अवस्था केही बदलिएको थियो। सन् १९६४ बाट प्रकाशनमा आएको क्युन्सेल र सन् १९७९ बाट प्रकाशित हुने गरेको ड्रुक लोसेल जस्ता पत्रिका, दक्षिण भुटानका लागि प्राथमिक तहमा अनिवार्य तथा निम्न माध्यमिक तहमा ऐच्छिक विषयका रूपमा नेपाली भाषा पाठ्यक्रममा समावेश गरिनु, धार्मिक शिक्षाका लागि भारतको बनारस, वृन्दावनतिर जाने परम्परा रहनु, रेडियो कार्यक्रमसँगको पहुँच हुनु र छिमेकी मुलुक भारत तथा नेपालसँगको सम्पर्कले पनि भाषिक विकासमा केही न केही प्रभाव पारेको थियो।

यो त्यही जमानाको कुरा मात्र होइन; अहिले पनि भुटानमा केही हदसम्म गाउँले सामाजिक जीवन छ। त्यही भएर सन् १९९० पछिको सरकारी नियन्त्रण र भाषामाथिको अङ्कुशका बीच पनि नेपाली भाषा विलय भएको छैन। त्यहाँ अहिले पनि धेरै ठाउँमा यही भाषा साझा भाषाका रूपमा रहिआएको छ। यो ‘सामाजिकता बलियो छ भने भाषा सजिलै मासिँदैन’ भन्ने दृष्टान्त हो।

अब दोस्रो परिस्थितिको केही चर्चा गरौँ। सन् १९८० को उत्तरार्धदेखि नेपालीभाषी भुटानीमाथि सरकारी दमन बढेपछि त्यहाँ नागरिक हक, प्रजातन्त्र र मानवअधिकारका लागि आवाज उठाइयो। प्रजातान्त्रिक आन्दोलनलाई सरकारले दमन गरेपछि नागरिकहरू विस्थापनमा परे।

सन् १९९० पछि भुटानबाट विस्थापित भएका नागरिकहरू पूर्वी नेपालमा रहेका सात शरणार्थी शिविरमा बसोबास गर्न थालेपछि नेपाली भाषाको अवस्थामा उल्लेखनीय परिवर्तन आयो। एकातर्फ, भुटानमा रहँदा अक्षर चिन्ने अवसर नपाएकाहरूले प्रौढ शिक्षा कार्यक्रमअन्तर्गत अक्षर चिन्ने अवसर प्राप्त गरे। विद्यालय जाने उमेरका बालबालिकाहरूले नेपाली भाषा औपचारिक रूपमा अध्ययन गर्न थाले। त्यसैगरी, पहिले विद्यालय गएर पढाइ छोडेकाहरूले पनि औपचारिक तथा अनौपचारिक शैक्षिक कार्यक्रममा सहभागी भएर भाषा सिक्ने अवसर पाए।

शैक्षिक कार्यक्रम, शिविरको बाक्लो बसाइ र नेपाली समाजसँगको अन्तर्क्रियाले अघिको बोलीचालीको भाषामा क्रमशः परिवर्तन ल्यायो। हिजोको गाउँले मौलिक बोलीचालीमा परिस्कृत मानिएको भाषाको बीउ रोपिन थाल्यो। यो परिवर्तन स्थानीय बीउबिजन लगाउँदै आएको बारीमा विकासे बीउबिजन भित्रिए जस्तै थियो। त्यसको प्रभावले हिजोको ठेट र ठाडो पहाडी बोलीमा नयाँ किसिमको शिक्षितपन वा विकासेपन देखिन थाल्यो। सामान्य आदरार्थीका ठाउँमा उच्च आदरार्थी शब्दहरूको प्रयोग बढ्न थाल्यो। ‘तिमी’को ठाउँमा ‘तपाईं’ र ‘हजुर’, ‘हुन्छ’को ठाउँमा ‘हस्’ भन्न थालियो। क्रियापदमा पनि ‘आए’को सट्टा ‘आउनुभयो’, ‘गए’को सट्टा ‘जानुभयो’ र ‘भने’को सट्टा ‘भन्नुभयो’ जस्ता आदरार्थी रूपहरू प्रयोग हुन थाले। सम्बोधनमा पनि ‘आमा’, ‘बाबा’, ‘बुबा’ जस्ता पारिवारिक शब्दहरूको ठाउँमा ‘माता’, ‘पिता’ जस्ता औपचारिक तथा संस्कृतनिष्ठ शब्दहरूको प्रयोग बढ्न थाल्यो। त्यसैगरी, ‘बुइनी’को ठाउँमा ‘बहिनी’ र ‘दाजु’को ठाउँमा ‘दाइ’ जस्ता सम्बोधनहरू प्रयोग हुन थाले। यसरी सम्बोधनका शब्दहरूमा पनि क्रमशः औपचारिकता र स्थानीय नेपालीको प्रभाव देखिन थाल्यो।

विस्थापित भुटानीहरूको भाषामा आएको यो स्वरूपगत परिवर्तनलाई बसाइको दृष्टिले हेर्ने हो भने, यो नेपालको देन थियो। त्यहाँको लामो समय बसाइका क्रममा भएको नेपाली समाजसँगको अन्तर्क्रिया, औपचारिक तथा अनौपचारिक शिक्षाको अवसर र साहित्यिक गतिविधिले विस्थापित भुटानीहरूको भाषिक क्षमतालाई नयाँ आधार प्रदान गर्‍यो। यसको स्पष्ट प्रमाण शरणार्थी शिविरबाट प्रकाशित भएका खबरपत्रिका र साहित्यिक पत्रिकाहरू तथा कविता, काव्य, गजल, कथा, निबन्ध र उपन्यासजस्ता अनेक साहित्यिक विधाका कृतिहरू हुन्। यी प्रकाशनहरूले भुटानीहरूको भाषागत क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको बौद्धिक तथा शैक्षिक उन्नतिमा समेत महत्त्वपूर्ण पृष्ठपोषण गरे।

समग्रतामा हेर्दा, शरणार्थी शिविरको बसाइ विस्थापित भुटानीहरूको नेपाली भाषा–सांस्कृतिक जागरण, सिकाइ, अध्ययन, चेतनाविस्तार र लेखनका दृष्टिले निकै महत्त्वपूर्ण रह्यो। तर औपचारिक शिक्षाको क्षेत्रमा नेपालीलाई भने सीमित स्थान मात्र दिइयो। शिविरका स्कुलहरूमा मुख्यतः अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो र नेपाली एउटा विषयका रूपमा मात्र पढाइन्थ्यो। जोङ्खा र संस्कृत पनि पढाउने गरिएको थियो।

शिविर स्थापनाका सुरुआती वर्षहरूमा अधिकांशलाई एक दिन भुटान फर्किने विश्वास थियो र शैक्षिक कार्यक्रम पनि त्यसैलाई ध्यानमा राखेर बनाइएको थियो। नेपाल बसाइको क्रममा भाषा छनोटको स्वतन्त्रता थियो, शैक्षिक संस्थाहरूको उपलब्धता पनि थियो, तर मानिसहरू उच्च शिक्षाका लागि त्यो विषय रोज्न तयार थिएनन्। भुटान फर्किएपछि अङ्ग्रेजी र जोङ्खाको आवश्यकता पर्ने र फर्किन नसके पनि अङ्ग्रेजी अन्य मुलुकमा रोजगारीका लागि उपयोगी हुने भएकाले उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरू नेपालीभन्दा अङ्ग्रेजी, विज्ञान र गणिततर्फ बढी आकर्षित भए। नेपाली भाषाको भविष्यप्रति रहेको अनिश्चितताले पनि यस प्रवृत्तिलाई थप बल पुर्‍यायो। यसले के देखाउँछ भने, भाषा सिकाइ मातृभाषा जोगाउन, जातीय पहिचान कायम राख्न वा जातीय आत्मगौरवका लागि मात्रै हुँदैन। बाँच्न र अनुकूलित हुनुपर्ने स्वाभाविक प्रवृत्तिले पनि मानिसका छनोटहरूलाई प्रभावित गर्छ। भविष्यप्रतिको आकलन र दृष्टिकोणले समेत भाषा छनोट र सिकाइमा फरक पार्ने गर्दछ।

अब तेस्रो परिस्थितिको चर्चातर्फ लागौँ। करिब डेढ दशक शिविरको बसाइ, त्यस बीचमा भएका राजनीतिक घटनाक्रम, स्वदेश फिर्तीका निम्ति भएका संघर्ष र आन्दोलनहरू अनि अन्तर्राष्ट्रिय परिस्थितिहरूले भुटानीहरूको स्वदेश फिर्ती हुने सम्भावना क्षीण हुँदै गएको परिस्थितिमा पश्चिमा शक्ति केन्द्रहरूले भुटानी शरणार्थीहरूलाई पुनर्स्थापना गर्ने योजना अघि सारे। शिविरको अभावग्रस्त र सास्तीपूर्ण जीवनदेखि आजित भएका मानिसहरू बिस्तारै पुनर्स्थापनामा जान राजी भए। पुनर्स्थापना हुने मुलुक निर्वासनमा बसेको भूमि जस्तो होइन। विस्थापनमा आश्रय लिएको भूमिसँग त आफ्ना पुर्खाको नाता जोडिएको थियो। भाषा, संस्कृति र धार्मिक आस्थासमेत एउटै थियो। पुनर्स्थापना भएका मुलुकहरू भाषा, संस्कृति, खानपान, जीवनशैली, प्रविधि, ऐतिहासिकता र सभ्यता हरेक दृष्टिले फरक छन्।

भुटानका विभिन्न गाउँबाट आएका मानिसहरू शिविरमा एकत्रित भएर बसेका थिए। उनीहरूका दुःख–सुख, अभाव, भोगाइ र अनुभव साझा थिए। एउटै निरंकुशताबाट प्रताडित उनीहरूको साझा घाउ थियो, साझा मुद्दा र साझा इतिहास मात्र होइन, साझा सपना पनि थियो। पारिवारिक नाता तथा सामाजिक बन्धनले उनीहरूलाई एक–अर्कासँग गहिरो गरी जोडेको थियो।

पुनर्स्थापना कार्यक्रम आरम्भ भएपछि भने यो साझा सामाजिक परिवेश विखण्डित हुन पुग्यो। एउटै परिवारका सदस्यहरू पनि छुट्टिएर फरक–फरक मुलुकमा पुग्न बाध्य भए। छरछिमेकी, साथीभाइ र इष्टमित्रहरू पनि अनेक ठाउँमा छरिए। हिजोको साझापन टुक्रियो, भत्कियो। भौतिक उपस्थिति र सामीप्यको सम्बन्ध कमजोर हुँदै गएपछि मानिसहरू फरक–फरक धरातलमा नयाँ जीवनको खोजी गर्न थाले।

यो संक्रमणकालमा नयाँ र पुरानो धरातल, जीवनशैली र दृष्टिकोणबीच अन्तरसंघर्ष सुरु भयो। अघिल्लो पुस्ताका वृद्धवृद्धाहरूमा नयाँ परिवेशप्रति आकर्षण र चाहना तुलनात्मक रूपमा कम थियो भने नयाँ पुस्तामा जिज्ञासा, रोमाञ्चकता र नवीन सपनाहरूको खोजी तीव्र थियो। एउटै परिवार र समुदायभित्र पनि विगतसँगको आत्मीयता र भविष्यप्रतिको आकांक्षाबीच द्वन्द्व देखा पर्न थाल्यो। पुरानो परिवेश, स्मृति र सामाजिक बन्धनलाई जोगाइराख्ने चाहना एकातिर थियो भने नयाँ परिवेशमा आफूलाई स्थापित गर्दै नयाँ सम्भावनाको खोजी गर्ने आकांक्षा अर्कोतिर। यसरी पुस्तान्तरसँगै जीवनशैली, मूल्यबोध र दृष्टिकोणमा पृथकता देखिन थाल्यो।

नियमित काम र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्न झनै चुनौतीपूर्ण भयो। एउटै भाषा बोल्ने परिवारहरू छरछिमेक भएर बस्ने परिस्थिति बनेन। परिवारहरू टाढा–टाढा भए, भौतिक भेटघाटहरू घटे। बोलीचाली र भेटघाट भौतिक नभएर भर्चुअल हुन थाले। बालबच्चाहरू स्थानीय स्कुलमा अङ्ग्रेजी माध्यममा पढ्न लागे। स्कुलमा अङ्ग्रेजी, भेटघाटमा अङ्ग्रेजी, टिभीका कार्यक्रमहरू अङ्ग्रेजी, बजार र किनमेल सबैमा अङ्ग्रेजी। जहाँ गए पनि मोबाइलको प्रयोग। एउटै घरभित्र पनि खासै संवाद हुँदैन। सबै आ–आफ्नै मोबाइलमा व्यस्त।

प्रविधिले टाढाकाहरूलाई नजिक ल्याउन मद्दत गर्‍यो, तर नजिककाहरूबीचको आत्मीयता र सामीप्यता घट्दै गयो। परिवारका सदस्यहरूबीच नै संवाद हुँदैन, गफगाफ हुँदैन। कहीँ कसैलाई भेटघाट गर्न गयो भने त्यहाँ कुराकानी हुनु पूर्व नै वाइफाइको पासवर्ड खोजिन्छ। कार्यक्रमहरूमा भेट हुने पनि अघिल्लो पुस्ताका मानिसहरू नै हुन्। नयाँ पुस्ताका मानिसहरूलाई ती कार्यक्रमप्रति चासो छैन, सरोकार छैन। सांस्कृतिक चाडपर्व, धार्मिक अनुष्ठानहरूमा नयाँ पुस्ताको आकर्षण खासै छैन। अघिल्लो पुस्ताको संघर्ष, रीतिथिति, परम्परा र संस्कृतिप्रति वैरभाव त होइन, तर त्यसले उनीहरूको संवेदनालाई छुँदैन।

पुनर्स्थापनापछि हुर्किँदै गरेको पुस्ताले देखेको, बुझेको भनेकै यतैको संसार हो। आफ्ना पितापूर्खा जन्मेहुर्केको ठाउँ त अलिअलि सुनेको मात्र हो। आफ्नो जाति, भाषा, संस्कृति, पहिचान जस्ता कुराले अघिल्लो पुस्तालाई चिन्तित पारिरहन्छ, तर जसका लागि चिन्ता गरिएको हो त्यसले यसलाई आत्मसात् गर्न सकिरहेको छैन। दुई फरक भाषाका कारण अघिल्लो र नयाँ पुस्ताबीच राम्रोसँग कुरा बुझाबुझ नै हुँदैन। यस्तो भएपछि भाषा र संस्कृतिको नयाँ पुस्तामा कसरी हस्तान्तरण हुन्छ?

विगतमा समाज अपठित थियो, आफ्नो पुर्ख्यौली भूमिभन्दा टाढा पुगेको थियो, तर आफ्नै भाषा र संस्कृतिको सयौँ वर्षसम्म पुस्तान्तरण हुँदै रह्यो। अहिले त्यो समाज पढेलेखेको छ, विकसित मुलुकहरूमा आइपुगेको छ, अनेक किसिमका सुविधा भोगेको छ, तर आफ्नो भाषा, संस्कृति र धर्मलाई जोगाइराख्न सकिरहेको छैन। मूलभूत समस्या यही हो।

नयाँ पुस्तामा भाषा, संस्कृति र पारम्परिक मूल्यहरूको हस्तान्तरणका लागि काम भइरहेका छन् वा प्रयासहरू भइरहेका छन्। ती प्रयासहरूका बाबजुद पनि भाषा, संस्कृति र पहिचान जोगाइराख्ने सवालमा असंख्य चुनौती छन्। यहाँ नयाँ र पुरानो पुस्ताबीच अपेक्षाको द्वन्द्व छ, मूल्य र जीवनदृष्टिबीचको द्वन्द्व छ, दुई फरक सभ्यताबीचको द्वन्द्व छ।

हिजो नेपाली भाषा सिक्नु र जान्नु पर्ने वैयक्तिक र सामाजिक आवश्यकता अर्कै थियो, आज अर्कै छ। आज नयाँ पुस्तामा व्यक्तिगत र सामाजिक अन्तर्क्रियाको भाषा अङ्ग्रेजी भएको छ। त्यसो भए नेपाली भाषा किन पढ्ने त? हाम्रो समाजमा अहिलेसम्म तीन पुस्ता छन्– हजुरबा पुस्ता, बा पुस्ता र नाती पुस्ता। यी परिवारका तीन पुस्तालाई जोड्न सक्ने भाषा भने अङ्ग्रेजी, डच वा नर्वेजियन हुन सक्तैन। अब हजुरबा र बा पुस्ताले अङ्ग्रेजी सिक्ने सम्भावना धेरै कम छ, तर नयाँ पुस्ताले नेपाली सिक्न सक्छ। त्यसले पारिवारिक वातावरण सद्भावमय बनाउन सक्छ, एकअर्काका अपेक्षाहरूको बुझाबुझ हुन सक्छ अनि सांस्कृतिक निरन्तरता र पहिचान जोगाउन मद्दत गर्छ। बहुभाषी हुनुका अनेक उपयोगिता छन्, त्यसको लाभ नयाँ पुस्ताले लिन सक्छ।

नव पुस्ताले भाषालाई अघिल्लो पुस्तासँग कुरा गर्ने माध्यमका रूपमा मात्र होइन, आजको जटिल संसार बुझ्ने माध्यमका रूपमा पनि ग्रहण गर्नुपर्छ। आफ्नाे इतिहास बुझ्न, संस्कृति जान्न र आफ्नो विशिष्ट पहिचान जोगाइराख्न पनि भाषा जान्नु आवश्यक छ। भाषामार्फत नै हामी आफ्ना पुर्खाका अनुभव, ज्ञान, मूल्य, परम्परा र जीवनदृष्टिसँग जोडिन सक्छौँ। 

स्वभाषा सिक्न नसक्नुमा वा नजान्नुमा दोष नयाँ पुस्ताको मात्रै छैन। यसको कारण बहुआयामिक छ। नयाँ पुस्ता युगको फरक मोडमा छ, फरक परिवेश र समाजसँग अन्तर्क्रिया गरिरहेको छ, जुन हिजोको समाजले भोग्नुपरेको थिएन। नयाँ पुस्ताले एक्लै नेपाली भाषा सिक्न सक्तैन। त्यसमा अघिल्लो पुस्ताको पर्याप्त लगानी चाहिन्छ, त्यो पैसाको भन्दा बढ्ता समयको हो। एकल परिवारमा हुर्किएकाभन्दा संयुक्त परिवारमा हुर्किएका बालबालिकाहरू नेपाली भाषा बोल्ने क्षमतामा अगाडि छन्। यसको कारण के हो भने वृद्धवृद्धाहरू रोजगारीमा नरहेकाले घरमै बस्ने हुँदा बालबच्चासँग धेरै समय बिताउँछन्। उनीहरू अङ्ग्रेजी नबोल्ने वा कम बोल्ने हुँदा बालबच्चालाई नेपाली भाषा सिक्न बाध्यात्मक अवस्था सिर्जना हुन्छ।

नेपाली बोल्ने छरछिमेक र समाज नभएपछि भाषा सिकाइको पहिलो केन्द्र नै आफ्नै घर हो। त्यसपछि भाषा सिक्न चाहनेका लागि अनेक अवसरहरू छन्, जस्तै आफ्ना स्थानीय सहरहरूमा भइरहेका भाषाका भौतिक कक्षा अनि अनलाइनमा सञ्चालनमा भइरहेका भर्चुअल कक्षाहरू। परम्परागत समाज जस्तो होइन, आजको युगमा सुन्ने, पढ्ने सामग्री अनगिन्ती छन्। हिजो सामाजिक परिवेशले भाषा सिक्न मद्दत गर्थ्यो, आज त्यो भूमिका परिवारमा आइपरेको छ, त्यसमा प्रविधिले सघाउन सक्छ। हामी धेरैले दुई–तीनवटा भाषा एकै साथ सिकेका थियौँ भने नव पुस्ताले अङ्ग्रेजीका साथै नेपाली सिक्न नसक्ने कुरा छैन। भारतको सिलिगुडी, दार्जिलिङतिरका बालबच्चाहरूले एकै साथ नेपाली, हिन्दी, अङ्ग्रेजी अनि बङ्गाली जस्ता अनेक भाषा सिकिरहेका हुन्छन्। बालबालिकाहरूमा हामीले बहुभाषाको उपयोगिताका साथै आत्मभरोसा जगाउन सकियो भने उनीहरूले भाषा सिक्न नसक्ने भन्ने हुँदैन। हामीले हाम्रा कथाहरू उनीहरूले बुझ्ने भाषामा सुनाएर नै उनीहरूलाई आफ्नो भाषाप्रति आकर्षित गर्न सक्छौँ।

इतिहासको लामो कालखण्डदेखि नेपाली भाषा हाम्रो समुदायको माध्यम भाषा रहिआएको छ। भाषा विरासतको कुरा गर्दा केवल नेपाली भाषाको मात्र कुरा गर्नुपर्छ भन्ने होइन। हाम्रो समाजमा विभिन्न जातीय समूह वा वर्ग छन्। तिनका आफ्नै भाषा, संस्कृति र परम्परा छन्। हाम्रो समाजको निकै ठूलो हिस्सा ओगट्ने तामाङ, राई, गुरुङ, मगर, लिम्बू, नेवार, शेर्पा आदि जातिका भाषाहरू झन् सङ्कटग्रस्त अवस्थामा छन्। तिनको नयाँ पुस्तामा कसरी हस्तान्तरण होला?

त्यसकारण सेप्टेम्बर महिनालाई भाषाको सम्झना गर्ने महिनाका रूपमा मात्र होइन, संस्कृतिको, देशको र इतिहासको स्मरण गर्ने समयका रूपमा पनि लिनुपर्छ। विरासत केवल सम्झनाका लागि मात्र होइन, हस्तान्तरणका लागि पनि हो। पुस्तान्तरणले मात्र हाम्रो समाजको पहिचान, ऐतिहासिकता, भाषा, संस्कृति र सभ्यताको निरन्तरता सुनिश्चित गर्न सक्छ।

अन्त्यमा, यहाँहरूको अमूल्य समय र साथका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै म आफ्ना विचार यहीँ टुंग्याउन चाहन्छु।  धन्यवाद।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *