व्यवहारले चल्ने व्यापार

यतिराज अजनबी 
एड्डिलेड, अस्ट्रेलीया 

तेश्रो विश्वको कुनै देशको
देहातको पखेरोमा
पखेरु पसेदेखि मेरो शरीरमा
काटेर उतै आधा जिन्दगी
अचेल यौटा विशाल नगरको
बासिन्दा बनेको छु
म एक दिन सवारी सो रुममा पुगेँ
भारतीय सहायक व्यवस्थापक रहेछ
नमस्कार गरेर निहुरियो
के सेवा गरौं भन्यो
म राजदेखि महाराज
अनि मौसूफ बनेको महसुस भयो
माइक्रा किन्न गएको मान्छे
नाभारा लिएर फर्किएँ
मैले निबाराको पातमा निर्वाह गरेको भुसुक्कै बिर्सिएँ
एक महिनापछि
कम्प्लिमेन्टरी सरभिसिङको लागि त्यहीँ पुगेँ
केही नबोकेकी केही नउचालेकी
यौटी कन्याले कन्दै भनिन्,
“प्लिज् हेल्प् युरसेल्फ् विथ् टि, कफी, स्याण्डविच्,
बिस्किट्स अर एनिथिङ् यु लाइक्।”
कफी मेसिनतिर हेरेर
कसरी बनाउने होला भन्दै थिएँ
मेरो मनको कुरा बुझेर उनले थपिन्
“वाट् वुड् यु लाइक्—
क्यापाचिनो, लाटे, लङ्ग ब्लयाक?”
त्यसपछि सरभिसिङको लागि
गाडी अन्त कहीँ लगिनँ
ऋणको पीरले
मन भतभती पोल्न थालेपछि
एक दिन प्राभेट साकोलोजिस्टकोमा पुगेँ
भेटमा उसले भनी,
“इट्स रियल्लि नाइस् टु मिट् यु।
हाउ क्यान् आइ हेल्प् यु टुडाइ ?”
मेरो कथा-व्यथा सुनिसकेपछि
हिँड्नेबेलामा उसले भनी,
“लुकिङ् फर्वड् टु सिइङ् यु अगेन।”
बल्ल बुझ्दै छु यो सब कारोबार रहेछ
पैसाले चल्ने सरोकार रहेछ
व्यापार रहेछ
गाउँतिर व्यवहार चलाउन व्यापार गरिन्थ्यो
शहरमा व्यवहारले व्यापार चलाउँदो रहेछ
लामो समयान्तरपछि
आज बिहान साथीले फोनबाट
रात्रिभोजको लागि निमन्त्रणा गरेको छ
मलाई लाग्दैछ
उसले कुनै व्यवसाय थालेको छ

Don't have a Facebook account? Please, use the form below with other options!