शब्द विवेचनाः ‘आइमाई’ र ‘महिला’
भक्त घिमिरे
ओहायो, अमेरिका
केही हप्ता अघि फेसबुकमा ‘महिला’ शब्दको अर्थ र यसको विपरितलिंगी शब्द सोधेको थिएँ । त्यसपछि आएका उत्तर र जिज्ञासाले नै मलाई यो लेख तयार पार्न हुट्हुटी चलाएका हुन् । वास्तवमा जुनसुकै भाषाका शब्दहरूको पनि उत्पादन/निर्माण विशेष परिवेश, प्रयोजन, धातु/ध्वनि र क्षेत्रीय प्रभावमा आधारित रहन्छ ।
हामी यहाँनेर ‘महिला’ शब्दलाई लिएर चर्चा गर्न लागेका छौँ । तर, सोझै महिला शब्दमा प्रवेश गर्नुभन्दा पहिले त्यसका पूर्वाधारहरूको शृङ्खलाबारे आंशिक चर्चा गर्नु जरुरी छ । यस सरोकारमा हाम्रो भाषिक परम्पराले हामीलाई लेख्य रूपका मुख्यतः दुईवटा शब्दहरू दिएको छ -स्त्री र नारी ।
यद्यपि, हाम्रो बोलीचालीको भाषामा न ‘स्त्री’ शब्द आउँछ न त ‘नारी’ शब्द नै ! अलि गाउँले (कसैले असभ्य शैली पनि मान्छन्) लवजमा ‘आइमाई’ भनिन्छ अनि कता हो कता सभ्य भनिएको समाजमा ‘महिला’ भनिन्छ । खास गरी नेपाली भाषा र नेपाली समाजमा मात्रै प्रयोग हुने आइमाई शब्दका पनि धेरै व्याख्याहरू होलान् । संस्कृतको ‘आर्यमाता’ भन्ने शब्दावलीबाट यो आइमाई शब्द बनेको धेरैको दाबी छ । तर मैले भेटेका व्याख्यामध्ये हास्यव्यङ्ग्य साहित्यकार भैरव अर्यालको अर्थ्याइ यस्तो छः-
आ– आगो
इ–इर्श्या
मा– मायालु
ई– ईख
सन् १९७०/७१ तिर हरिभक्त कटुवाल नेपाल छोडेर सधैँका लागि आसाम बसाइँ जान लाग्दा उनले चलाउने ‘बान्की गोजीका’ भन्ने साहित्यिक पत्रिका विश्वम्भर प्याकुरेल र राम थापालाई जिम्मा लगाए । त्यस बेला पत्रिकालाई लेख्य खुराक भेला पार्ने सिलसिलामा धेरै साहित्यकारहरूलाई भेट्तै गर्दा भैरव अर्यालसित पनि प्याकुरेलको साक्षात्कार भयो । अर्यालले सो पत्रिकाका लागि ‘आइमाई’ शीर्षकीय लघु कथा लेखिदिएका थिए । यसै लघु कथामा अर्यालले सो शब्दको अर्थ्याइ प्रस्तुत गरेका हुन् । तर, अर्यालको अर्थ्याइलाई खास्सै भाषाविज्ञानले लिएको छैन । किनकि त्यो हास्य प्रयोजनका लागि बनाइएको परिभाषा थियो । तर, अचम्मको कुरो त के छ भने ‘आइमाई’ शब्दको पनि महिला शब्दको जस्तै नेपाली भाषामा पुल्लिंगी बुझाउने कुनै शब्द फेला परेको छैन ।
हँ, म त भुतुक्कै विषय छोडेर अन्तै पो दौडिन थालेँ कि कसो हौ ! अँ हामीले महिला शब्दको प्रसङ्गबाट चर्चा सुरु गरेका हौँ । महिला शब्दलाई नारी, स्त्री, आइमाई, त्रिया, ललना, धर्ती, पृथ्वी, नदी आदि आदि शब्दहरूसित पर्यायवाची बनाइएकोले ती केही शब्दहरूको विश्लेषण पनि यहाँ आवश्यक देखियो । त्यही भएर माथि आइमाई शब्दलाई अलिकति व्याख्या गरिएको हो । अब स्त्री र त्रिया शब्दको छोटकरी व्याख्या गरौँ ।
नेपाली भाषा र साहित्यको चर्चा गर्नलाई संस्कृत, हिन्दी, उर्दू, पारसी (फारसी) भाषाको पनि अलिकति ज्ञान जरुरी हुँदो रहेछ । यसर्थ यहाँनेर केही भाषिक सम्बन्धहरूको चर्चा पनि गर्न चाहेको छु ।
केही भाषा वैज्ञानिक र इतिहासकारहरु ऋगवेदकालीन आर्यहरुको मतलाई आधार मान्दै शूर-असूर अथवा देव-दानवका प्रसङ्गमा फिन्निस (Finnis [people of Finland]) र आर्यहरुबीच भाषिक सम्बन्ध रहेको दाबी गर्दछन् जसअनुसार उनीहरूकी देवी ईश्तरको सम्बन्ध संस्कृतको स्त्री शब्दको उत्पतिसित कायम भएको बताइन्छ । ईश्तर र स्त्री शब्दबिच ठोस सादृष्य प्रमाण नपाइए पनि हिन्दी साहित्यका महारथी डा. भागवतशरण उपाध्यायले “वृहत्तर भारत” नामक पुस्तकमा यसबारेमा सामान्य चर्चा उठाएका छन् । ईश्तर र कैयौँ भारतीय देवीहरूमा समानता पाइन्छ । देवीदुर्गा जस्तै ईश्तरलाई पनि सिंहवाहिनी देखाइएको छ । दुर्गालाई जस्तै सौर्य शक्ति, युद्ध र कामको लागि ईश्तरलाई पुकारिन्छ भने लक्ष्मीझैँ ईश्तरका साथमा उल्लूलाई राखिएको छ । तर, यहाँनेर अल्मलिने कुरो के छ भने संस्कृत भाषामा नारीलाई बुझाउने स्त्री शब्द एक्लै छैन ।
संस्कृतमा स्त्री शब्दले जति नारीलाई बुझाउँछ त्यति नै तिरिया (त्रिया) शब्दले पनि नारीलाई उल्लेख गर्दछ । हिन्दी भाषामा भित्रसम्म पसेकाहरुले बुझ्दछन् खास गरी नारीलाई लुगाई र तिरिया (त्रिया) शब्दले बढी सम्बोधन गरिन्छ । लुगाई राजस्थानी, कोकणी आदि विभिन्न स्थानीय भाषाको प्रभावबाट हिन्दी भाषामा प्रवेश गऱ्यो तर, त्रियाचाहिं हिन्दीमा संस्कृतबाटै आएको हो । लुगाई भनेको साधारण अर्थमा स्वास्नी हो जसरी नेपालीमा आइमाई शब्द प्रयोग गरिन्छ । तर आइमाई शब्दमा पुरुषवाची अर्थ बुझाउने शब्द नभएजस्तो अवस्था लुगाईमा छैन । ‘लोग’ लाई लुगाईको पुरुषवाची शब्द हिन्दी भाषाले मानेको छ । जस्तै नाम-थर, वतनबिना कसैलाई सम्बोधन गर्नपरे हिन्दीमा “लोग आये थे”, “लोगों ने बोला” भनिन्छ । लुगाई शब्द साधारणतः विवाहित नारीका लागि प्रयोग गरिन्छ भने अविवाहितहरुका लागि लोकशैलीमा ‘त्रिया’ शब्द प्रयोग गरिन्छ । शब्दशक्तिको आधारमा त्रिया शब्दध्वनी-अर्थको मूल्याङ्कन गर्ने हो भने स्त्री र लुगाई दुवै शब्दभन्दा त्रिया शब्दले धेरै नकारात्मक भाव पैदा गर्दछ । महाभारतको यो श्लोकले त्रिया शब्दमार्फत स्त्री वा नारीविरुद्ध त्यस्तै नकारात्मक आशय पेस गरेको छ ।
“नृपस्य चित्तं, कृपणस्य वित्तमा; मनोरथाः दुर्जनमानवानाम्।
त्रिया चरित्रं, पुरुषस्य भाग्यम्; देवो न जानाति कुतो मनुष्यः।।”
‘राजाको चित्त, लोभीको धन, दुर्जनको इच्छा, पुरुषको भाग्य र स्त्रीको चरित्र देवताले पनि जान्दैनन् भने मान्छेको त कुरै छोडौँ !’
हिन्दीभाषीका गाउँघरतिर बोलिने, “तिरिया चरित्तर”, “तिरिया हठ” जस्ता वाक्यांशहरूले पनि त्रिया शब्दमार्फत नारीप्रतिको हेयभाव नै दर्साउँछन् । हिन्दी साहित्यको भक्तिकालीन समयका कवि मल्लिक मोहम्मद जायसीले चितौडकी रानी पद्मावतीको बारेमा उल्लेख गर्दै ‘पद्मावत’ नामक आफ्नो कवितामार्फत लेखेका छन्- “तुम्ह तिरिया मतिहीन तुम्हारी…।” जायसीको रचना ‘पद्मावत’ सन् १५५० मा लेखिएको बताइन्छ । उनको यस कथनबाट तिरिया शब्दप्रतिको नाकारात्मक भाव सँगै अर्को के पनि जान्नु जरुरी छ भने हिन्दीमा त्यस समयसम्म नारीलाई महिला भनिएको छैन । स्त्री, त्रिया, लुगाई जस्ता शब्दहरूमै अँटाइएको छ । संस्कृतका त्रयी, त्रय अथवा त्रि धातुबाट बनेको यो तिरिया (त्रिया) रूपबाटै पछि स्त्री शब्द बनेको पनि धेरै शास्त्रले सङ्केत गरेका छन् ।
अब प्राचीनकालका पनि केही कुरा गरौँ कि ! ईशापूर्व १० औँ का महर्षि यास्कमुनिको कृति ‘निरुक्त’ लाई हिन्दी साहित्यको आधारस्तम्भ मानिन्छ । निरुक्तमा ‘स्त्यै’ धातुबाट स्त्री शब्दको व्युत्पति गरिएको छ जसले लाजले चाउरिनु, खुम्चिनु वा सङ्कुचित हुनु भन्ने अनुमानित अर्थ धेरै व्याकरणाचार्यहरुले लगाएका छन् । यास्कमुनिको व्युत्पति व्याख्याको समीक्षा गर्दै दुर्गाचार्य लेख्छन्-“लज्जार्थस्य लज्जन्तेपि हि ताः ।” यसको अर्थ के हुन्छ भने ‘लज्जाबाट द्रवीभूत हुनु नै नारीको असली स्त्री रूप हो ।’
यहाँनेर हामी स्त्री वा नारीको अर्थसँगै उसलाई सामाजिकीकरण गर्ने सवालमा पनि चर्चा गरिरहेका छौँ । शर्माउनु वा लाजले खुम्चिनु नै नारीको आभूषण वा मूल गुणतत्व नहुनुपर्ने हो । यदि पुरुषवर्चस्वी सभ्यतालाई समाजले अङ्गीकार गरेको थिएन र समाजले नारीमा लज्जाको भाव आरोपित गरेको थिएन भने ऊ पनि गुडियाजस्तो छुनुमुनु नगरीकन पुरुषजस्तै आफ्नो हितका निम्ति आफ्ना अगाडि उभिएको मानिससित आँखामा आँखा जुधाएर कुरा गर्नसक्ने थिई ! साँच्चै भन्ने हो भने यसरी नै पुराना शास्त्रीय मान्यतादेखि आजसम्मकै सभ्यताका पौरखीहरुले समाजमा लैंगिक विभेद पैदा गरेका छन् ।
संस्कृतका श्रेष्ठ व्याकरणविद् पाणिनी (५०० ई.पू.) ले पनि ‘धातुपाठ’मार्फत् ‘स्त्यै’ धातुबाटै स्त्री शब्दको व्युत्पति गराएका छन् । पतञ्जलीले पाणिनीको मतलाई अलिकति विस्तार गर्दै स्त्री शब्दको व्याख्यामा भनेका छन्,“स्तन-केशवती स्त्री स्यात्लोमश पुरुषः स्मृतिः ।” अर्थः ‘स्तन र केश लामो भएकी स्त्री हुन्छे भने लाम (रौं) वाला पुरुष हुन्छ ।’ स्तन, केश र रौंको कुरा गर्दै यसरी सभ्य र प्राकृतिक गुण-धर्मले युक्त हुनलाई लामो केश पाल्नैपर्छ भनेर पतञ्जलीले आफू स्त्रीजातिमाथि अदृश्य बाध्यता लाद्ने शास्त्रार्थीको रूपमा आफैँलाई पेस गरेका छन् । केश नकाटी पाल्यो भने स्त्रीको मात्रै बढ्छ र; पुरुषको केश लामो हुँदैन ? लामो हुनु स्त्रीकै केशको मात्र गुणधर्म हो र ? स्तनकै कुरा पनि के गरिरहनु, थलचर प्राणीहरुमा एउटा घोडामात्र सद्दे पुरुष हुन्छ भनिन्छ…जसको शरीरमा स्तनको आकार हुँदैन । घोडाबाहेक सबै पुलिंगी पशु र मानिसमा समेत स्तन हुन्छ नै ! वयस्क नारी र पुरुषबिच केवल स्तनको आयतनमा फरक पर्ला !
यतिमात्र होइन, पतञ्जलीको विवेचनामा स्त्री शब्दमाथि अरू व्याख्या पनि छन् । “स्त्यायति अस्यां गर्भ इति स्त्री ।” अर्थात् ‘गर्भको स्थितिलाई आफूभित्र समाहित गर्नसक्ने गुणले गर्दा ऊ स्त्री भएकी हो ।’ यस मानेमा चाहिँ पक्कै पनि पुरुषसितको समानान्तर भेदमा स्त्रीको मान्यतालाई सम्मान गरिनु पर्दछ । किनभने आजसम्म पुरुषले गर्भधारणको शक्ति सञ्चय गरेको छैन । यसबाहेकका धेरै प्रसंगहरुमा स्त्रीलाई पुरुषको मनोरथ साधनका रूपमै व्याख्या गरिएको पाइन्छ । प्रसिद्ध ज्योतिर्विद वाराहमिहिरले आफ्नो ग्रन्थ ‘वृहत्संहिता’ मा यहाँसम्म भन्न भ्याएछन् कि,“श्रुतं दृष्टं स्पृष्टं स्मृतिमपि नृपां ह्लादजननं न रत्त स्त्रीभ्योन्यत् क्वचिदपि कृतं लोकपतिनां ।” अर्थात् ‘ब्रह्माले स्त्रीबाहेक यस्तो कुनै रत्न बनाएनन् जो देख्ता, सुन्दा, स्पर्श गर्दा वा स्मरणमात्रै गर्दा पनि अपूर्व आनन्द प्राप्त हुन्छ ।’ यी र यस्ता धेरै परिभाषाहरू स्त्रीलाई केवल देहधारी प्राणी र त्यो पुरुषको लागि मनोरञ्जक सामाग्री मान्ने चेतनाको प्रतिध्वनि हुन् ।
दुःखको कुराचाहिँ के छ भने, हाम्रा जतिवटा शब्दशास्त्रहरु केलाए पनि ती सबै पुरुषवादी पूर्वाग्रह अथवा पितृसत्तात्मक रुझानले युक्त छन् । अथवा आशय खुलाएरै भन्नुपर्दा, नारीहरू आफैँले आफूलाई सङ्केत गर्ने, अर्थ लगाउने शब्द यो हो भनेर ठ्याक्कै शास्त्रीय व्याख्यासहित, व्याकरणीय अर्थभेदसहित शब्दसंयोजन गरेका भेटिएको छैन । उहिले त उहिले भइहाल्यो । आजको जमानामा स्थिति धेरै फेरिएको छ । सामाजिक चेतनामा विकास भएको छ । तर, नारीले आफूलाई क्षमतावान्, ऊर्जाशील बनाउने सम्बन्धमा भने अझै पनि प्रगति भएको देखिँदैन ।
स्त्री शब्दको विश्लेषणमा हामी धेरै हराएझैँ लाग्यो । अब नारी शब्दको प्रसङ्ग उठाऊँ । नारी शब्दको पनि सिङ्गो प्रयोग वेदमा पाइएको छैन । ‘नृ’ धातु वेदमा छ जसको अर्थ वीर, नेता आदि बताइएको छ । प्राचीनकालमा ‘नृ’ शब्दधातुले नै स्त्री-पुरुष समेटेर मानव भन्ने अर्थ बुझाइन्थ्यो । यसैबाट नर र नारी शब्द पछि बनेका बताइन्छ । मनुस्मृतिमा नारायणबाट नर र नारी दुवै उत्पन्न भएको बयान छ । “आपो नारा इति प्रोप्ता आपो वै नरसूनवः, ता यदस्यायनं पूर्व तेन नारायणः स्मृतः ।” यसको तात्पर्य हो, ‘ब्रह्माण्डको सृष्टिभन्दा पहिले नार नाम गरेको जल थियो । त्यसमा नर (स्वयंभू पुरुष) बास गर्दथे । नारमा बास गर्ने नर भएकाले नै उनलाई नारायण भनियो ।’ जललाई नार भनिएपछि नारमा रहनेलाई नारायण भनिनुको प्रसङ्ग निक्कै रोचक छ । आज पनि पानीलाई नार भन्ने चलन कताकता बाँचेको छ । पूर्वतिर कुवा खनेर पानी निकाल्ने ठाउँलाई इनार (इ+नार) भन्ने चलन अझै पनि छँदै छ ।
यसै गरी नर भन्ने शब्दको स्रोत नृ धातुबाट बनेका शब्दहरू हामीले पढ्दै आएका हौँ । जस्तै नृप, नृपति, नृपाल, नृसिंह जसले शक्तिशाली र पौरखी पुरुषलाई बुझाउँछ । धेरैवटा शास्त्रीय ग्रन्थहरूमा पाठान्तर, विषयान्तर भए पनि मूलभावमा एकरूपता नै देखिन्छ । सबैको मूलभावले के भन्छ भने सृष्टिको आरम्भ जलबाट सुरु भयो र उसैमा पितृ- मातृ दुवै तत्त्व समाहित छन् । नरलाई स्वयंभू परब्रह्मा र उसैमा अन्तर्निहित विराट योनिरूपलाई मातृत्व मान्दै नर अनि नारी दुईलाई सृष्टिका स्रोतको रूपमा अधिकांश शास्त्रहरूले बयान गरेका छन् । व्याकरण विधिले पनि पुरुष बुझाउने नर शब्दमा ‘ई’ प्रत्यय जोडेर नारी पैदा गरेको छ । कुरा जे भए पनि समष्टिमा नर र नारी शब्दमा स्त्री-पुरुषबिचको सामाजिक हैसियतमा धेरै ठूलो भिन्नता देखिँदैन ।
अब बल्ल हामी चर्चाको मूल विषय प्रसङ्गमा प्रवेश गर्न लाग्यौँ । हामी त कहाँको सुरुमा ‘महिला’ शब्द विवेचनामा लागेका थियौँ, बग्दा बग्दै कता पुगिएछ !
महिला शब्दको उत्पति स्रोतका रूपमा संस्कृतको ‘मह’ वा ‘महि’ धातुलाई लिइएको बताइन्छ । ‘मह’बाट महत, महान्, पूज्य आदि शब्दभावहरु उत्पन्न हुन्छन् । महि शब्दले अझ प्रष्ट गरी पृथ्वी, बादल, ब्रह्माण्ड, धर्ती र स्वर्गको संयोजन आदि आदि अर्थ बताएको छ । केही व्यक्तिहरू मार्कण्डेय पुराणको “महिस्वरूपेण यदास्थितासि…” भन्ने श्लोकलाई लिएर महिला शब्दको वकालती गरिरहेका छन् । तर, यो दाबीमात्र हो । मह बाट महान् बन्यो, महता बन्यो आदि आदि भन्दै महिला शब्द महान् हो भनिएको छ । तर, त्यो ‘महिला’ शब्दको प्रयोग हुनथालेको धेरै समय बितेपछि, यसको तात्पर्यको खोजी हुन थालीकन मात्रै यसलाई संस्कृतको मह धातुमा जोड्न खोजिएको छ । जसरी बुर्का लगाउने सबै मुसलमानहरु लक्ष्मणले नाक काटेकी सुपर्नखाँ का सन्तान हुन् भनियो । अरबको मक्कालाई मक्केश्वर महादेवको मठ भनियो । गोरो रङ्ग भएका बेलायतीहरूलाई हनुमानका सन्तान भनियो । यशुलाई क्रुसमा टाँगिएपछि कृष्णभक्त बनाएर भारतमा निर्वासित गराइएको छ । तर, यी कुनै पनि कुराको ठोस आधार-प्रमाणहरू सम्प्रेषित भएका छैनन् । महिला शब्दलाई ‘मह’ वा ‘महि’ बाट उत्पति गराउने दाबी पनि तिनै निराधार बयान जस्तै हो । यसरी शब्दसंयोजन जुटाउँदै जाने हो भने महबाट महेश्वर शब्द बनेको छ अनि महि शब्द ध्वनिबाट महिषासूर पनि बनेको छ ! अनि आजसम्म अरबी र फारसी भाषालाई हाम्रै संस्कृतबाट भंगालिएर गएको भाषा हो भन्न कसैले सकेको छैन !
संस्कृत शब्दकोशमा महल्लिका भन्ने शब्द छ तर, महिला शब्दसित सादृश्यता राख्ने महल शब्द भने छैन । यसरी महिला शब्दको स्पष्ट उल्लेख पुराना शास्त्रीय ग्रन्थहरूमा नभएको, समयक्रमले पनि यसको प्रयोग धेरै छोटो समयभित्र मात्र व्यापक भएको यथार्थलाई हेर्दा यो शब्द संस्कृतबाट आएको नभई पारसी, अरबी, उर्दू हुँदै हिन्दीमा आएको कुरा पत्याउन कहर लाग्छ । अनि नेपालीमा त हिन्दीबाट साभार गरिएको हो भने पनि फरक पर्दैन ।
महिला शब्दको व्युत्पति र यसको अभिव्यञ्जनाले नै यसलाई अरबी भाषाको महलसित तादात्म्यता जुटाइदिएको छ । पारसी (फारसी), अरबी, उर्दू हुँदै हिन्दीमा पसेको यो महल शब्दले ठूला घरदेखि राजाको दरबारसम्म बुझाउँछ । यसरी नै महल्ला शब्दले गाउँदेखि एउटा निश्चित समुदायको राज्यसम्म बुझाउँछ । अब महल र महिला शब्दमा कसरी तादात्म्य बन्यो भन्ने केलाउँदा निम्न तथ्यहरू भेटिन्छन् ।
जीलोचर हिन्दी अङ्ग्रेजी शब्दकोशले महल शब्दको अर्थमा भवन, राजभवन बताएको छ भने यसको लिंगीय अवस्थालाई पुल्लिंग (masculine gender) मानेको छ । अनि धेरैवटा उर्दू शब्दकोशहरूले ‘महल’लाई महिलाको वासस्थान बताएका छन् । कुरो योमात्र होइन, मोनियर ह्विलियम्स र वामन शिवराम आप्टेको संयुक्त संस्कृत शब्दकोशले केटी वा नारीहरूको सामूहिक बासस्थल (अपार्टमेण्ट) मा काम गर्ने स्त्री परिचारिकालाई ‘महल्लिका’ भनेको छ । अनि त्यसपछि महल शब्दको व्याख्या गर्दै यो शब्द संस्कृतमा पनि अरबीबाटै ल्याइएको कुरा स्वीकार गरेको छ । ‘SERVANTS of the DYNASTY-palace women in world history’ र ‘A WOMAN’s PLACE is in THE HOUSE-Royal women of Judah and their involvement in the house of David’ जस्ता अङ्ग्रेजी पुस्तकहरूले पनि महिला शब्दको परिभाषाका लागि ह्विलियम्स र आप्टेकै मतलाई पछ्याएका छन् ।
संस्कृत साहित्यका महापण्डित वामन शिवराम आप्टे (सन् १८५८- १८९२)-ले यस कुरालाई अझ विस्तारित रूपमा आफ्नो कृति ‘द स्टुडेण्ट्स गाइड टू संस्कृत कम्पोजिशन’ (1881) मा महिला शब्दप्रति खरो हीनभाव दर्साएका छन् । उनको व्याख्या अनुसार “महिला भनेको ‘मदमत्त’ र ‘विलासिनी’ स्त्री हो अथवा कैद गरिएकी, थुनिएकी, बन्दी बनाइएकी स्त्री हो ।” हुन पनि हो, मध्ययुगीन सामाजिक आर्थिक व्यवस्थापनमा नारीहरूको हैकम देखिँदैन । त्यस समयमा महल बनाउने र त्यसको स्वामित्व राख्ने शक्ति पुरुषमै थियो । अनि पुरुषले आफ्नो स्वामित्वमा बनाएका महलहरूमा नारीले सहज र शान्तिपूर्ण जीवन बिताउने कुरै भएन । नारीहरू त्यहाँ कैदी बन्दी जस्तै जीवन भोग्न बाध्य थिए । भारतीय परम्परागत साहित्यको विश्लेषण गर्दै एक जना जर्मन डाक्टरले लेखेका छन्-“मध्ययुगीन समयमा ठूल्ठूला पूँजीपतिहरूले बनाएका महलहरूमा शृंगारको रूपमा सजाउन ल्याइएका नारीहरू नै पछि ‘महिला’ भए । त्यसको अर्थ, आज महिला भनिने नारीहरू महलका गहना हुन् ।” अथवा नारीले अपवादमा पछि महलको मालिक नै हुन पाए भने कुनै दिन उनीहरूले पनि पुरुषको देखासिकी गर्दै मोजमस्ती गरे होलान् ।
त्यही देखेर संस्कृत पण्डित आप्टेले महिला ‘मदमत्त’, ‘विलासिनी’ नारी भन्दिए । यसरी महल पुल्लिंगी र महिला स्त्रीलिंगी भएको शास्त्रीय यथार्थसित वामन शिवराम आप्टेको मत जोड्न ल्याएमा महल र महिला पुरुषवाची-स्त्रीवाची शब्दार्थमै टुंगिन्छन् । अमीर पुरुष शासकहरुले महल बनाउने र त्यसको सजावट्का लागि बन्दीझैँ राखिएका स्त्रीलाई महिला भनिएको कुरा माथिका अङ्ग्रेजी पुस्तकहरूले पनि औँल्याएका छन् । अतः महिला शब्दको पुलिंगी भेद महल हुन्छ भन्ने माथिका तथ्यहरूबाट हामीले विश्वास गर्नैपर्ने भएको छ । अन्यथा हामीले संस्कृत र अरबी-उर्दू, हिन्दी हुँदै नेपाली भाषामा प्रवेश गराइएका केही तत्सम-तत्भव शब्दहरूका साथमा ‘महिला’ र ‘आइमाई’ जस्ता विशेषणका पनि नयाँ पुरुषवाची नेपाली शब्दार्थ आविष्कार गर्नुपर्छ । हामी नेपाली भाषाका खेतीवालाहरुले अब धेरै सोचेर यस्ता विषयहरूमा साझा समझ्दारी तय गर्नुपर्छ ।