संक्रमण कालको सामना गर्दै भूटानी समाज: एक समाजशास्त्रीय चिन्तन

लेखक
लेखक

डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
                                                                

भूटानी समाजलाई देश, काल र परिस्थितिले अब मुख्य रूपमा तीन धारमा विभक्त गरिदिएको छ । समग्रमा  यस तीन धारलाई यसरी हेर्न  सकिन्छ –
१. भूटानभित्रको  समाज
२.शरणार्थी समाज र
३ पुनर्वासको समाज

यो विभाजन दैशिक आधारमा मात्र नभएर शिक्षा तथा चेतनाका आधारमा हेर्ने हो भने पनि समग्रमा संक्रमित भएको देखिन्छ। बारम्बारको बसाई सराइ र ती स्थानहरूको स्थानीय वातावरण, शैक्षिक प्रभाव, भाषा, संस्कृति, र द्रुत गतिमा अघि बढिरहेको वैज्ञानिक उपकरणहरू र जीवन यापनका विभिन्न तौर तरिकामा जीवनस्तरको दौडले नयाँ पुस्ता अप्रभावित रहेन। त्यसै गरी पुरानो पुस्ता पनि केही हदसम्म पछि-पछि दगुर्दै छ। भूटान देखिको तेस्रा मुलुक सम्मको यात्रामा आएका दैनिक उतार-चढाव र सङ्घर्षले पुस्तागत चेतनामा क्रमगत विकास हुँन नपाउँनु र मारिएको लामो फड्काका कारण विभिन्न क्षेत्रमा  विचलनात्मक संक्रमणलाइ निम्त्याएको छ । उता शरणार्थी शिविरको समस्याले अर्कै मोड लिने तैयारीमा देखिन्छ । अ०  हजार भन्दा माथिको सङ्ख्यामा अझै हाम्रा बन्धुहरू शिविरमा यथावत् छन् र आफ्नो देश फर्कने आशामा बाँचेकाछन् ।
नेपालमा अझै रहिरहेको शरणार्थी समाजको भोलि कता मोडिने हो भन्ने अन्योल्मानै रहेकाले यस समाजका बारेमा धेरै केही अनुमान गरिहाल्न सकिँदैन तरैपनि समस्या र परिस्थतिसंग लड्नुनै उनीहरूको वर्तमान हो र यसको सम्मानगर्नैपर्छ ।
त्यसै गरी भूटान भित्रको समाज आफ्नो देशभित्रै भएता पनि गाँस बास र कपासको व्यवस्था र हकहितका मुद्दाहारूमा स्वतन्त्र र स्वाभिमान पूर्वक बाँच्न नपाउनु उनीहरूको नियतिनै बनिसकेको अवस्था छ। विगत आठ वर्ष देखि शरणार्थी अवस्थाबाट पुनर्वासका नाममा तेस्रा विश्वका सात देशहरूमा छरिएका हामी नयाँ परिपाटी,सभ्यता र वातावरणमा तातो हावा (हाइट्रोजन) भरिएका फुकुण्डा समान आकाशमा लक्ष्य विहीन विचरणको वर्तमानलाई झेल्दै गरेको अवस्थामा छौँ । यहाँ भौतिक रूपमा केही प्रगति देखिएता पनि विकृतिले जरा गाडेको अवस्था छ । यथार्थमा भन्ने हो भने समाज एउटा सङ्क्रमणकालको अनियन्त्रित दहमा डुबुल्की मारिरहेको अवस्था छ ।
यस समाजले भूटान देखि लिएर नेपाल हुँदै तेस्रो मुलुक सम्मको यात्रामा भौतिकरूपमा धेरै  महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्ने अवसर पाएको भए तापनि नैतिक,भाषिक,शैक्षिक तथा बौद्धिक  चेतनाका क्षेत्रमा छिटपुट प्रगति बाहेक अपेक्षाकृत बौद्धिक जमात खडा हुँन सकेको छैन । साथै विचारणीय पक्ष के छभने भौतिक क्षेत्रमा अभियान्त्रिक दौडको सिकार बन्न बाध्य बन्यो । यस दौडले भूटानमा हुँदाको शैक्षिक चेतना र समझदारीको स्तरबाट फड्को मार्दै नेपाल र भारतको जीवनस्तरलाई अनायासनै पचाउन ठुलो सङ्घर्ष गर्नु पर्ने भयो । यद्यपि शरणार्थी अवस्थामा शैक्षिक क्षेत्रमा अभूतपूर्व उपलब्धि पाउँन यो समाज सफल देखिएता पनि गुणस्तरयुक्त स्थानीय वातावरणका अभावमा अनियन्त्रित संस्कारलाई अँगाल्न बाध्य भयो भन्दा अतिशयोक्ति नहोला । त्यहाँ क्रमगत व्यवस्थित बौद्धिक आर्जन गर्न नपाउँदै स्थानीय लहरमा लहरिनु परेको थियो । यसरी मारिएको फड्कोले लगभग ५० साल अघिको चेतानात्मक स्तरमा फड्को मार्दै संक्रमित जीवनशैलीलाई अपनाउँनु यस जमातको बाध्यता बनेको यथार्थता हो ।

सङ्क्रमणको अर्थ –
यो सङ्क्रमणको अर्थ समाजको सामूहिक या व्यक्तिगत रूपमा दैनिक जीवनस्तर र क्षमता अनुरूपको क्रमिक बौद्धिक चेतनामा आएको विचलन,अस्थिरता र निर्णयात्मक ट्रयाकमा आएको भंगता हो । यो अवस्थामा जीवन दर्शनको मस्तीस्कीय अतिक्रमण हुँदै स्तर र क्षमता भन्दा सूक्ष्म र उँचाइको जीवनशैलीमा घुलमिल हुनुपरेकाले पुस्तागत समझदारी र क्रमिक विकास हुँन पाउँदैन । यो समस्या  नयाँ स्थान,भाषा,संस्कृति,जीवनशैली र चेतानागत लम्किएको फड्कोले निम्त्याएको विचलन हो,जो स्थापित भैनसेकेको र सही दिशा के हो र कता मोडिनु पर्ने हो भन्ने तय गर्न नसकिएको अवस्थामा दिक्भ्रमित हुँदै गरेको अवस्था हो ।
वस्तुत: समाज शास्त्रीय दृष्टिमा हेर्दा यस प्रकारको अवस्थामा मानव  युगीन चेतनामा फड्को मार्दै भौतिक रूपमा अघि त बढ्दछ, तर क्रमगत शैक्षिक,बौद्धिक,नैतिक र भावनात्मक परिपक्वतामा पछाडीनै रहेको हुन्छ । अर्को महत्त्वपूर्ण कुरो के हुन्छ भने पुस्तागत विचारमा ठुलो फाँट (अन्तर) आउने गर्दछ । यस विचलनले गर्दा समाजले सामाजिक सार्वभौमिक विज्ञानलाई या दर्शनलाई नत स्थापित गर्न सकेको हुन्छ नत प्रचलित विचार र उत्पादनलाई सहजै स्वीकार्न या पचाउँननै रुचाउँछ । त्यसैले समाजमा भएका छिट-पुट बौद्धिक वर्गद्वारा अघि सारिएका प्रकल्प,विचार,योजना,र उपदेशलाई आत्मसात् गर्न नसकेको हुँनाले अनियन्त्रित हुँदै कठिन परिस्थितिलाई जन्म दिने गर्दछ । यस अवस्थामा समाजका सम्पूर्ण युवा शक्ति शृजनात्मक गतिविधिमा अग्रसर भए पनि मात्र गुणस्तरहीन उत्पादनलाई जन्म दिइरहेको हुन्छ । यस्तो प्रकारको कार्यक्षमता तकनिकी क्षेत्रमा सफल बनेता पनि शिक्षा,साहित्य ए भाषिक क्षेत्रमा दुर्बल बनेको देखिन्छ ।
यसरी संक्रान्ति कालमा सानो कालखण्डमा आफ्नो बैद्धिक विकास,श्रोत-साधनहरूको कमी र गुणस्तरमा गर्न नसकिएका उपलब्धिका कारण अघिल्लो पुस्ता र पछिल्लो पुस्तामा बुझाइको तारतम्यता नमिल्ने र दुई पुस्ताबिच सम्बन्धमा स्खलन,क्षरण र विचलन आएको देख्न सहजै सकिन्छ । किनकि यस अवस्थामा समाजको नयाँ पुस्ताले चल्दैगरेको स्थानीय शिक्षा प्रणाली र परिपाटीमा प्रतिस्पर्धात्मक रूपमा दौड लगाउनु पर्ने उनीहरूको बाध्यता हुन्छ र पुराना पुस्ताको विचारलाई र स्तरलाई साथ दिन या त्यसमा अल्झीरहन समयको अभाव र प्रयोगात्मक दृष्टिमा प्रयोजनहीन सम्झिन थाल्दछ । उता पुरानो पुस्ता आफ्नो आदर्शबादी विचारलाई त्याग्न नसकेको अवस्थामा हुन्छ । जसका कारण दुई पुस्ता बिच वैचारिक फाटो अभिलक्षित हुँन थाल्दछ । यो समस्या क्रमगत एक पुस्ता देखि अर्को पुस्ताबिचमा हुँने क्रमगत बौद्धिक विकास र हस्तान्तरणमा आएको विचलनद्वारा उत्पन्न एक गम्भीर सामाजिक समस्या हो र यसलाई विचारको सङ्क्रमण भन्न सकिन्छ ।
यो सङ्क्रमणको समस्या वस्तुत: एक स्थानबाट अर्को स्थानमा बसाइँ  सरिनाले,स्थानगत शैक्षिक बौद्धिक  स्तर नमिल्नाले,बौद्धिक चेतनामा गुणस्तरीय विकास नहुँनाले,एक भाषाबाट अर्को नयाँ भाषाको अध्ययन बलात् गरिनु परेकाले,समाजमा सांस्कृतिक तथा सभ्यतागत भिन्नता आउँनाले,धार्मिक मतभिन्नता र मान्यताहरूको सम्बन्ध र सामान्जस्य कायम नहुँनाले,गाँस,बास र कपासको व्यस्थापनमा व्यस्त हुँनु परेकाले,स्थानीय आर्थिक समस्या,बिमा आदि खर्चिला भुक्तानीहरू समयमा पुरा गरिनु पर्ने मानसिक बोझ झेल्नु परेकाले र सैकड़ौ वर्षदेखि शासकीय बन्धनबाट मुक्त हुँदै सबै क्षेत्रमा प्रवेश गरिहाल्ने र पाइहाले हतारमा यान्त्रिक जीवनशैलीलाई अपनाउनु परेकाले र सम्बन्धित विषयमा अध्ययनको समयाभाव भएकाले, र यस्तै थुप्रै कारणहरू द्वारा प्रभावित हुँदै स्थिरता,दूरदर्शिता,बौद्धिकता आदि गुणहरूको अभावमा आएको बिचलन या अस्थिरता हो । यस समस्याबाट समाजले मुक्ति पाउन समय लग्ने देखिन्छ । शिक्षा र बौद्धिक स्तरमा विकास र दैनिक समस्याहरूमा बिस्तारै सुधार तथा अभ्यास द्वारा मात्र स्थिरता कायम हुन सम्भव हुनेछ।

यसरी हेर्दा भूटानी समाजमा भूटान भित्रको नियन्त्रित,हैकमबादी र विकसित हुन नपाएर कुण्ठित भएको चेतनास्तरमा सन् १९९० पछिका दिनहरूमा नेपाल र भारतका केही स्थानहरूमा बसोबास र हासिल गरिएको शैक्षिक आर्जन र त्यस समयमा जन्मिएको शिबीरे पुस्ता (जो वर्तमानमा २४-२५ सालको भएको छ) आज मदमस्त युवा र उर्वरक अवस्थामा पुगेको भएता पनि  पुनर्वासले निम्त्याएको अत्याधुनिक विकसित युगमा अर्को फड्को मार्दै विश्वभरि छरिन पुगेको र उक्त दुई पुस्ता देखि लिएर अब कमसेकम चार पुस्ताको भैसकेको यो समाज अझ संक्रमित हुँदैगरेको अवस्था देखिन्छ ।
यो सङ्क्रमणको समस्या उत्पन्न गराउने जुन कालखण्डको अतिक्रमण भयो त्यो कालखण्डलाई चेतना र क्रमिक विकासका आधारमा वर्तमान देश,काल र परिस्थित्लाई तुलनात्मक अध्ययन गर्दा भूटानबाट नेपाल पस्दा कमसेकम ५० साल र भारत पस्दा १०० साल अघि फड्को मारेको रहेछ भन्ने अनुमान गर्न सकिन्छ र  अब पुनर्वासमा स्थापित हुँदा भूटानबाट तात्कालीन अवस्था र परिवेशबाट सिधै ५०० सालको फड्को मार्दै  ४० वर्ष भन्दा माथिको आयुबर्गको पुस्ता अझ संक्रमित भएको देखिन्छ ।
पुस्तागत विचलनले निम्त्याएको यो सङ्क्रमणमा समग्र समाजलाई चार भागमा बाँट्न सकिन्छ:

१. प्रौढ पुस्ता (आदर्शबादी) पुस्ता
२. प्रगति उन्मुख पुस्ता
३. संक्रमित पुस्ता
४.पुनार्वासित पुस्ता 

यो वर्गीकरण आयुवर्ग र चेतानास्तरका आधारमा गरिएको हो । आदर्शवादी पुस्ता भन्नाले भूटानमा खेती-किसान गरेर जीविकोपार्जन गरेको त्यहाँको तानासाही शासकद्वारा प्रताडीत पुस्ता हो, जो आधुनिक शिक्षाबाट विल्कुल अपरिचित तर आदर्शबादी संस्कार र मूल्य-मान्यतामा विश्वास गर्दछ,जो वर्तमानमा प्रौढ अवस्थामा पुगेको छ । यो वर्ग आयु वर्गका दृष्टिमा हेर्दा लगभग ५० वर्षदेखि माथिको वर्ग हो ।
दोस्रो वर्ग जसलाई प्रगति उन्मुख पुस्ता भन्न सकिन्छ । यो पुस्ता भूटान छोड्दा लगभग १४-१५ वर्षदेखि लिएर तीस वर्ष सम्मको आयुवर्गमा पर्दछ । यस पुस्ता आधुनिक प्रणालीमा  प्राथमिक शिक्षा र केही व्यक्तिहरू उच्च शिक्षा हासिल गर्न सफल बनेको छ । अर्को महत्त्वपूर्ण उपलब्धि यो पुस्ताको के रहेको छ भने उपर्युक्त तीनैवटा संक्रमित अवस्थामा साक्षीका रूपमा विद्यमान छ र चेतना र शिक्षाका क्षेत्रमा संवेदनशील र समाज प्रति उत्तरदायी पनि छ । यस वर्गलाई प्रगतिशील पुस्ता भनेर किन भन्न सकिन्छ भने यस पुस्ताले भूटानको जानकारी,माया र संवेदना बोकेको छ साथै शरणार्थी जीवनका सम्पूर्ण भोगाइहरूमा एकापट्टी उच्च शिक्षा प्राप्त गर्न ठुलो सङ्घर्ष गर्दै नयाँ पुस्ताको अभिभावक बन्दै वर्तमानमा पुनर्वासमा पनि भाषा,शिक्षा र समाजका विभिन्न समसामयिक समस्याहरूमा संवेदनशील र जीम्मेवारपूर्ण काँध हाल्नु पर्ने भएको छ भने सम्पूर्ण घटनाक्रमको प्रत्यक्ष साक्षी बन्नु परेको अवस्था छ ।

तेस्रो समूह हो संक्रमित समूह । जो केही मात्रमा भूटान छोड्दा १०-१२  वर्ष मुनिको वर्ग र शरणार्थी शिविरमा जन्मिएको वर्गलाई लिन सकिन्छ  । यो वर्गलाई भूटानको माया,सम्झना र समवेदना आदिको अभाव भएको पाइन्छ भने शरणार्थी अवस्थामा आएर यद्यपि शिक्षार्जनका निम्ति सङ्घर्ष गर्नु परेता पनि ढाकछोप गरिदिने अभिभावक भैदियेकाले कुनै ठुलो जिम्मेवारीको बोध गर्न पाएन । त्यस्तै शरणार्थी अवस्थामा जन्मिएर हुर्किएको पुस्ता पनि स्थानीय वातावरण र अभावग्रस्त जीवनशैलीका प्रभावले प्रभावित भयो । फलत: यस वर्गलाई नत मातृभूमिको बिछोडको चिन्ता भयो,नत ढाकछोप र उत्तरदायित्व पूर्ण गर्नु पर्ने बाध्यतानै आइलाग्यो । वर्तमानमा पुनर्वासमा मदमस्त युवा अवस्थामा भएता पनि उर्वरक मस्तिष्कलाई दिशाहीनाताका सिकार हुँदै पुनर्वासमा सङ्क्रमण हुँन पुग्यो । कर्तव्य र उत्तरदायित्वबोध तथा गुणस्तरयुक्त शैक्षिक चेतनाले युक्त भएको बौद्धिक क्षमताको क्रमिक विकासका अभावमा वर्तमानमा अतिविकशित मुलुककरूमा यन्त्रमानव बनेको छ । यो वर्ग भौतिक चिन्तनले प्रभावित हुँदै अनुशासन र कर्तव्यबोधमा अतिरंजित देखिएको अवस्था छ ।
यस बर्गीकरणको अन्तिम वर्ग हो पुनर्वासित वर्ग : यो पुस्ता शरणार्थी शिविरमा जन्मिएको र झापा छोड्दा लगभग पाँच वर्ष मुनिको वर्ग र पुनर्वास पछि तत्तत् मुलुकहरूमा जन्मिएको वर्ग हो । यो आयुवर्गको संसार भिन्नै छ,चिन्तन र जीवनशैली विल्कुल अलग हुनु स्वाभाविक पनि हो । यो वर्ग अत्याधुनिक अभियान्त्रिक युगको कुनै फ्याक्ट्रीको गुणस्तरीय उत्पादन भन्दा कम देखिँदैन  । यो वर्ग स्थानीय शिक्षा पद्धति र वातावरणका प्रभावमा पूर्णतः: प्रभावित स्क्रिनमा डाउनलोड गरेको दृश्य सामाग्रीझैँ देखिएता पनि हामी अभिभावक जागरुक र सचेत हुँनसके अत्यन्त चमक युक्त हिरा भएर निस्किन सक्ने  सम्भावना छ । साथै चेतना र जागरुकताका अभावमा भाषा,संस्कार,नैतिकता,अनुशासन र पूर्वीय चिन्तन बिनाको यन्त्रमानव बन्ने खतराहरू पनि उत्तिकै संवेदनशील छ ।

यसरी शिक्षा,चेतना,कर्तव्य,उत्तरदायित्वबोध र वैज्ञानिक यन्त्रबाद आदि कारणमा आधारित हाम्रो जीवनशैली र भविष्यका चुनौतीहरूका आधारमा स्थूल रूपमा यो समाज चार भागमा देखा परेको छ । समग्रमा भन्ने हो भने समग्र समाज महासंक्रमणको युगमा प्रवेश गरेको अवस्था छ । यो सङ्क्रमणको समयावधि निश्चित रूपमा तोक्न भने मुस्किल छ,तथापि यति अवश्य भन्न सकिन्छ की अबको २० देखि २५ वर्ष सम्ममा अत्याधुनिक शिक्षा प्रणालीलाई आत्मसात् गर्ने वर्गको आफ्नो एउटा ट्रयाक तय हुन सम्भव छ । तर भाषिक,नैतिक र अध्यात्म जीवन दर्शनको अनिकाल लाग्ने खतरा पनि उत्तिकै छ ।
अतः: यी विषयहरूको आधारभूत संरचना र शिक्षणको अनुसन्धान तथा व्यवस्थापन हाम्रो भविष्य प्रतिको चुनौती हो र समग्रमा भन्ने हो भने यी विषयहरू पुनार्वासित देशहरूमा आधिकारिक तथा वैधानिक रूपमा हाम्रो उपस्थिति दर्जा गरिनु पर्ने र आफ्नो पहिचान स्थापित गर्नु  पर्ने ठुलो मुद्दा र समस्या पनि हो । तदर्थ हामीले सचेत र सावधान हुन आवश्यक छ । विशेष गरेर भाषा साहित्य,नैतिक शिक्षा,र जीवनमूल्यलाई स्थापित गर्न,धार्मिक तथा सामाजिक भेदभावलाई निर्मूल गर्न र सामाजिक सद्भाव र शैक्षिक चेतनाको
बीजारोपण गर्न कम्मर कस्नु नै आजको समयको अपरिहार्य माँग बनेको देखिन्छ। तसर्थ
सबैले कम्मर कसौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *