संमोहन चर्चा
भक्त घिमिरे
पूर्वीय संस्कृति मान्ने क्षेत्रहरुमा प्रचलित संमोहन शब्दलाई पश्चिमीहरु ‘हिप्नोटिजम्’ भन्दछन् । अठारौं शताब्दिमा अष्ट्रियाका वैद्य फ्राञ्ज एण्टन मेस्मरले मनोरोग उपचारका लागि संमोहन-विधि आविष्कार गरेको बताइन्छ । मानसिक रोगको उपचारका लागि अचुक उपायका रूपमा स्थापित भइसकेको यो विधिलाई १९ औं शताब्दिमा फ्रान्सका अर्का वैद्य जीन्मार्टिन चार्कोटले अझै विकसित गरे । चार्कोटले प्रारम्भमा यो विधिलाई स्त्रीहरुको मिरगी रोग निको पार्न प्रयोग गरेका थिए । चार्कोटको यही उपचारविधिबाट प्रभावित भएर सिग्मण्ड फ्रायडले मानव-मनोविश्लेषण केन्द्रित लेखनको अभियान नै चलाए । साहित्यमा आज उनको लेखनलाई ‘फ्रायडवाद’ को नामले चिन्ने गरिएको छ ।
तर, संमोहनको विधि पश्चिमी चिकित्सा शास्त्री र वैज्ञानिकहरुले पत्तो लगाएको सत्य होइन । जेसुकै नयाँ कुराको आविष्कार पश्चिमी मुलुकहरुबाट मात्र सम्भव छ भन्ने पलायित सोचको परिणतिमात्र हो यो कुरा । किनभने आजभन्दा हजारवर्ष पहिलेदेखि नै पूर्वमा संमोहनको अभ्यास भइरहेको थियो ।
तिब्बतमा बोन्पो र बौद्धहरुले १५ सय वर्षदेखि यही संमोहनको विधि अँगालेर अवतारवादको अवधारणा विकसित गराएका थिए । तान्त्रिक र वैदिकहरुले पनि यही विधि अपनाएर पुनर्जन्मलाई सकारेका छन् ।
बोन्पोहरुले गर्ने संमोहनको विधिलाई ‘जोङ्चेन’ भनिएको छ । बोन्पोहरु यसलाई संसारका दुःखबाट निवृत हुन गरिएको योगिक क्रियाको रूपमा बुझ्दछन् । यो अभ्यासमा उनीहरु एकाग्र ध्यान, विषयहरुबाट चित्तनिवृत्ति, स्वप्नमय निर्देशनको परिकल्पना अथवा वस्तुनिष्ठ दृश्यावलोकनलाई माध्यमको रूपमा प्रयोग गर्दछन् । बोन्पो र बौद्ध संस्कृतिको समायोजनबाट विकसित नयाँ परम्परालाई उनीहरुले अवतारवादको रूपमा अँगालेका हुन् । केही अनुसन्धानले यतिसम्म देखाएका छन् कि बोन्पो मिश्रित बौद्ध योगीहरुले आफ्नो जीवनको विगत पत्तो लगाउन संमोहनको विधि अपनाएर पूर्वजन्ममा आफू कहाँ थिएँ, के –कस्तो थिएँ भन्नेसम्म प्रतिविम्बित गर्दछन् ।
उनीहरुले निश्चित व्यक्तिलाई विशेषरूपमा बाल्यकालदेखि नै यस्तो विधिको अभ्यास गराउने गरेका पनि अनुसन्धाताहरुको दाबी छ । निद्राको सुसुप्त अवस्थामा पैतालालाई प्रयोग गरेर विगतको स्मरणमा डुब्न सकिने अनुसन्धाताहरुले औंल्याएका छन् । जस्तो कि पैताला अत्यधिक चिसो बनाएर सुतेको खण्डमा हिउँमा टेकेको अथवा शितमा भेजेको सपना देखिने; पैतालामा अत्यधिक तातो दिएर सुतेको खण्डमा आगोमा दौडिएको, डढेलो लागेको सपना देखिने आदि ।
यस्तै सपनाहरुको माध्यमबाट अभ्यस्त हुँदै मानिस निरन्तर संमोहनको क्रियामा गएपछि कुनै विन्दुमा सपना नै भौतिक-सत्यझैं लाग्न थाल्दछ । यही विधिको अभ्यास गरेर तिब्बती बौद्ध लामाहरुले अवतारको परिकल्पना गरेका बताइन्छ । संमोहनविधिका विशेषज्ञहरुको दाबी अनुसार निद्राको सपना, सुसुप्तिको कल्पना र आनन्दनाभूति माध्यम हुँदै विगतमा फर्किएर आफू जन्मिएको कोखसम्म, त्योभन्दा अझ पछिसम्म जान सकिन्छ ।
वैदिकहरुमा पनि संमोहनको मनोवैज्ञानिक प्रभावबारे धेरै सन्दर्भहरु छन् । उदाहरणका रूपमा केही प्राचीन कथाहरुलाई हेरौं । समुद्रमन्थनको कथाप्रसंगमा मोहिनी पात्र देखाइएको छ । विष्णुको एकमात्र स्त्री रूपमा मोहिनीलाई लिइएको छ । मोहिनीले आफ्नो अगाडि आएका जुनसुकै नररूपलाई अचेतझैं बनाएकी थिइन् । मोहिनीको प्रेमील मुस्कानमा वशीभूत भएर आफैंलाई भुल्नेहरु धेरै थिए चाहे त्यो भुलक्कड शिवजी नै किन नहुन् ! यो सन्दर्भ समुद्रमन्थनपछि फेला परेको अमृतको सुरक्षार्थ विष्णुले मोहिनी रूप धारण गरेको प्रसंगमा केन्द्रित छ । प्रसंग अनुसार मन्दराचल पर्वतको मदानी, बाशुकी नागको नेती लगाएर समुद्र मथेपछि अमृत फेला परेको कुरा देवता र असुरहरु दुवैपक्षलाई जानकारी भइसकेको थियो । तर असुरहरुले अमृत पिएर अमरत्व प्राप्त गर्लान् भनेर देवताहरु डराइरहेका थिए । यो अवस्थामा देवताहरुले विष्णुलाई उजुरी गरेपछि विष्णुले मोहिनी रूप लिएर देवतालाई अमृत पिलाए अनि असुरहरुलाई वशीभूत बनाएर अमृत पिउनबाट रोकिदिए ।
यस्तै अर्को पनि एउटा पौराणिक कथा छ । कथा अनुसार भस्मासुर नाम गरेको एउटा यस्तो राक्षस थियो जसलाई कसैको टाउकोमाथि हात राख्यो कि त्यो हात राखिएको व्यक्ति वा वस्तु भस्म भइहाल्ने वरदान प्राप्त थियो । भस्मासुरले यो वरदानको शक्तिलाई दुरुपयोग गरी देवताहरुको टाउकोमाथि हात राख्ने दुस्प्रयास गरिरहेको थियो । एकदिन शिवजी स्वयंलाई भस्म पार्न ऊ अघि बढ्यो । आपतमा शिवले विष्णुसित गुहार मागे । विष्णुले सुन्दरी नारीको रूप धारण गरेर भस्मासुरलाई आकर्षित गरे (गरिन्) । भस्मासुर मोहित भएर लहसिएपछि मोहिनीले सँगै नाच्न अनुरोध गरिन् । नाच्ता नाच्तै मोहिनीले जसो गऱ्यो भस्मासुर पनि उसै उसै गर्नथाल्यो । यतिकैमा मोहिनीले आफ्नै शिरमाथि हात राखिन्; भस्मासुरले पनि उसै गऱ्यो । यतिकैमा ऊ स्वयं भस्म भइगयो । अर्थात्, आफ्नै वरदानले भस्मासुर आफैं नष्ट भयो ।
अझै अर्को कथा छ जसमा कृष्णप्रतिको आकर्षणका सन्दर्भहरु समेटिएका छन् । धेरै कथाका प्रसंगहरुमा कृष्णको नाम नै मोहन छ । मोहन भनेको मोहित पार्ने गुणले युक्त हुनु हो । जसले जसरी हेर्छ उही रूपमा देखिने भनेर कृष्णको महिमा गाइएको छ । कृष्णको मधुर मुस्कान र सुन्दर रूप देखेर गोकुलका गोपिनीहरु आफूलाई रोक्नै नसकी मोहित हुँदै उनकै पछि लागेका कुरा छन् । कृष्णको मुरली बजेपछि गोपी र गाईहरु उनका वरिपरि घेरा लागेका कथामा जनाइएको छ । कृष्णले आफ्नै मुखभित्र सारा ब्रह्माण्ड देखाएर यशोदा मातालाई आश्चर्यचकित बनाइदिएको कुरा पनि कथामा सामेल छ । कृष्णले जसलाई जस्तो चाहे उस्तै देखाउन वा सुनाउन सफल भएका कुराहरु पनि छन् । यस्ता अनेकौं प्रसंगहरु छन् जो संमोहनका नमूना हुन् ।
यस्ता कुराहरु पढिरहँदा, सुनिरहँदा हामीलाई लाग्नसक्छ संमोहन भनेको छलकपट गर्नु हो । अर्कालाई भ्रममा पारेर लट्याउनु हो । जादु वा चटक गर्नु हो । तर, असलमा संमोहन त्यतिमात्र होइन । यो चेतन मन र अवचेतनमा मनको अवस्थामा भरपर्ने कुरा हो । यसको सरोकार आफ्नो अवचेतन मनलाई कसले कति काममा लगाउन सक्छ भन्ने कुरामा भरपर्छ । मानव मनको गति दुइवटा भिन्न स्थितिमा केन्द्रित छ भन्ने वैज्ञानिक अनुसन्धानले पनि पुष्टि गरेको विषय हो ।
सामान्य मानिसले संमोहनको साधना गर्नु निकै कठीन कार्य हो; तथापि हामीले त्यो अभ्यास गर्नै नसक्नेचाहिं होइन । व्यावहारिक रूपमा काम गरिरहँदा मानिसको चेतन मन सक्रिय हुन्छ । तर, अस्वाभाविक कार्य गर्नेबेला अवचेतन मन क्रियाशील हुन्छ । आकस्मिक रूपमा कुनै घटना वा आश्चर्यजनक स्थिति पैदा भएमा हाम्रो अवचेतन मन सक्रिय हुनथाल्छ । हो यो अवचेतन मनलाई सामान्य अवस्थामा पनि क्रियाशील गराउन सकियो भने संमोहनको गति त्यहीँबाट विस्तारै अघि बढ्छ ।
संमोहनका दुइटा अलग अवस्थाहरु छन् । एउटा भ्रान्तिमा परेर हुँदैगरेको भन्दा अर्कैथोक देख्नु, सुन्नु वा बुझ्नु हो भने अर्कोचाहिं अगाडि देखिएको, सुनिएको वा घटेकोलाई आधार बनाएर भित्रैसम्म पुगी त्यसको सूक्ष्म अनुसन्धान-पहिचान गर्नु हो । संमोहन भनेको देखिरहेको घटना, व्यक्ति वा वस्तु-स्थितिलाई अर्कै रूपमा बुझ्नु वा सूक्ष्म मूल्यांकन गर्नु पनि हो । संमोहनको विधिलाई सदुपयोग गर्नसक्ने व्यक्तिहरुले आफ्नो जीवनको मूल्य निर्धारण गर्दछन् । यस्ता मानिसहरु अरु सामान्य मानिसको तुलनामा आफूलाई बहुमूल्य साबित गर्दछन् । तर, दुरुपयोग गर्नेहरु बर्बाद पनि हुन्छन् ।
दैनिक जीवनमा संमोहनका अनेकौं दृष्टान्तहरु हामीले देखिरहेका/बुझिरहेका हुन्छौं । राजनीतिक वा धार्मिक नेताहरु आफ्नो वक्तृत्वकला, तर्कक्षमताबाट मानिसहरुलाई संमोहित गर्दछन् । आफूलाई होइन लागिरहेको विषय पनि उनीहरुका कुरा सुनेपछि हो कि हो कि पार्नसक्ने उनीहरुमा खूबी हुन्छ । यसै कारण अनेक राजनीतिक दल वा नेताका पछि ठूलो संख्यामा मानिसहरु ताँत लागिरहेका हुन्छन् । असंख्य सम्प्रदाय-प्रचारकका पछि पनि ठूल्ठूला भीड लागिरहेकै हुन्छन् । धामी-झाँक्री, चटकीहरु संमोहनको प्रक्रियाबाटै दर्शकलाई नानाभाँती खेला देखाउँछन् । उनीहरुका पछि पनि उस्तै भीड हुन्छ ।
हामीले दन्तेकथाहरुमा सुनेका छौं, उहिले कुनै झाँक्रीलाई मांसाहार गर्न मनपरे बाघ बनेर गाउँमा खसी चोर्न जान्थे । बाघ बनेर खसी ल्याइपुऱ्याउँदा कसैले उसको शरीरमा पहिले नै मन्त्र फुकेर राखेको अक्षेता छरिदिए त्यो बाघ फेरि सामान्य मान्छे बन्ने किस्साहरु हामीले सुनेकै हुन् । हामीलाई सितिमिति यस्तामा कुरा विश्वास लाग्दैन । तर, यस्ता काण्डहरु ठ्याक्कै कथामा भनिएजस्तै नभए पनि कुनै न कुनै रूपमा हुनै नसक्ने चाहिं होइनन् । यद्यपि, यो अर्काले देख्ने गरी घट्ने भौतिक घटनाचाहिं कथाकारको आत्मरतिमात्र हो । जे जति हुन्छ, आफूमा हुन्छ । आफ्नो हृदयमा, आफ्नै चेतनामा हुन्छ । अर्थात् यो पनि अन्य धेरै कलासरह स्वयंलाई सुधार्ने एउटा कला हो ।
संमोहन कलाबारे अध्ययन गर्दा यसका विभिन्न रूपहरुको जानकारी हुन्छ । यसको एउटा विधिलाई आत्मसंमोहन भनिन्छ । यो भनेको अरुलाई देखाउन वा प्रभाव पार्न नभएर आफैंलाई मात्र थाहा हुनेगरी संमोहित हुनु । कुनै चम्किलो वस्तुमा एकनिष्ठ दृष्टि राखेर आफैंलाई संमोहित गराउन सकिन्छ । लगातार २१ दिनसम्म एउटा जलेको दीयोलाई एकचित्त भएर हेर्ने गऱ्यो भने त्यसपछि दीयो निभाएर हेर्दा पनि जलेकै देखिने, ज्योति देखिने कुरा योगाभ्यासमा लागेका केही साधकहरु बताउँछन् ।
सामान्य मानिसले पनि अत्यधिक उत्तेजना, भय आदिको सामना गर्ने बेला अस्वाभाविक हर्कत गर्नथाल्छ । अथवा बुढा-पाकाले भन्ने गरेको ‘रिसको बेला वेद पढिँदैन’ भन्ने उक्तिलाई पनि लिन सकिन्छ । यो भनेको उत्तेजनामा सामान्य अवस्थालाई भुल्नु हो । संमोहन भनेको पनि विद्यमान अवस्थालाई चुटक्कै भुलेर काल्पनिकतामा लीन हुनु हो । मानिसको सार्वजनिक जीवन अनेकौं कपट, ढोंग, स्वाङ र नौटंकीहरुले भरिएको हुन्छ । यसैकारण अत्यधिक मादक पदार्थ सेवन गरेर चेतन मन शिथिल भइरहेको बेला मत्थुहरुले आफ्नो जीवनका कति कुरा सत्य बोलिरहेका हुन्छन् । अथवा अरुबेला खोल्न नसकेका आफ्ना भित्री इच्छाहरु निशाले मत्त भएको बेलामा खोलिरहेका हुन्छन् । यो पनि अवचेतन मनमा रहेका कुरा बाहिर निस्किने प्रक्रिया हो भनेर बुझ्नुपर्ने हुन्छ ।
शरीरमा ठूलो चोट लाग्दा अथवा मानसिकरुपमा भयग्रस्त हुँदा कहिलेकाहीं हात-खुट्टा सद्दे भएर पनि मनुष्य अपाङ्गता महसूस गर्छ । आँखाको ज्योति हुँदाहुँदै दृष्टिविहीन भएको अनुभूत गर्छ । रातको निद्रामा स्वप्नील यात्रा गर्दा मनुष्य कहिलेकाहीं घरबाहिर सडकमा हिँडिरहेको हुन्छ । दृष्टि भ्रम अथवा जागा अवस्थामै स्वप्ना देख्नेहरु पनि हुन्छन् । जातीय वा धार्मिक उत्तेजनाले संमोहित भएर कोही उन्मत्त साँढेझैं युद्ध गर्छन् र आफैं मर्न तयार हुन्छन् । यसको तात्पर्य के हो भने संमोहनले कसैलाई सिर्जनात्मक बनाउँछ, मानवताप्रेमी बनाइदिन्छ र कसैलाई चाहिं विध्वंशको पक्षपाती पनि बनाइदिन्छ ।
सम्मोहनको बेला अवचेतन मन जागा हुने माथि नै उल्लेख भइसक्यो । यसलाई अझ विस्तारमा निम्न तरिकाले बुझ्न सकिन्छ ।
चेतन मनलाई जागृत मन पनि भनिन्छ । चेतन मनमा रहँदा हामी खुल्ला आँखाले देख्ने भौतिक साधनहरु अप्नाएर दैनिक कार्य गर्दछौं । तर, अवचेतनमा हामी सामान्य व्यावहारिकता भन्दा बाहिर गएर परिकल्पना गर्दछौं । यो मस्तिष्कभित्र सुसुप्ति अवस्थामा रहेको हुन्छ । यसमा जीवनसम्बन्धी परा-अपरा सबै सूचनाहरु संग्रहित हुन्छन् । आधुनिक विज्ञानले पनि मानेको छ मस्तिष्कमा रहेको अवचेतन मनले क्रियाहरुलाई सञ्चित गरेर चेतनमा मनमा पठाउँछ र सो अनुसार चेतन मनले काम गर्छ । यो वस्तुनिष्ठ प्रक्रिया हो ।
हाम्रो समयको पछिल्लो चरणतिर आइपुग्दा पूर्वमा यसलाई एउटा तिलस्मी जादुको रूपमा लिन थालियो (झाँक्री बाघ बनेर खसी चोर्न गएको प्रसंग) तर, पश्चिमले यसलाई उपयोगी साधनका रूपमा विकास गऱ्यो । फरक यति नै हो; हामीले उपयोगिता गुमायौं, पश्चिमीहरुले त्यसको हरतरहले सदुपयोग गरे ।
असलमा मनका अनेकौं कलुषित विकारहरुलाई सफा गरेर एकीकृत गरेपछि मानिसमा स्वयं आत्मबलको विकास हुन्छ र त्यही आत्मबलको माध्यमबाट अरुलाई प्रभावित गर्नु नै संमोहन विद्या हो । मानव मनको सुदूर गहिराईमा रहेको यो चेतनालाई शास्त्रहरुले ‘सिद्धि’को उपनाम दिएका छन् । तर, विडम्बना ! भारतीयसंस्कृतिको दबदबा रहेका सबै क्षेत्रमा संमोहनलाई एउटा चमत्कारका रुपमा मात्र हेर्न थालियो । पूर्वेलीहरु शास्त्रका सन्देशहरुलाई अभ्यासमा लाने प्रक्रियामै गएनन् । अधिकतम तर्क र कथाकारितामा रमाएर अर्कोभन्दा शुद्ध, दक्ष र चतुर भएको आत्मरति अँगाल्दै रमाइरहे । सोही कारण संमोहन पनि सधैं जिज्ञासा र आश्चर्यको विषय बनिरह्यो ।
पूर्वेलीहरुको जीवन अध्यात्म प्रधान रहँदै आएको छ । पूर्वीय संस्कृति मान्ने मानिसहरुको जीवनका प्रत्येक क्षेत्रमा दर्शन र आध्यात्मिक साधनालाई सर्वाधिक महत्व दिइएको छ । यही अर्थमा संमोहनलाई ‘प्राण विद्या’ वा ‘त्रिकालविद्या’ को उपमा समेत दिइएको छ । तर, साधनाको अभ्यास शून्य भएकाले यस्ता विद्याहरु अन्धविश्वासी कथाकै रूपमा थच्मरिए ।
वास्तवमा पूर्वीय दर्शनको अध्यात्मले आफूलाई योग र योगको सिद्धिसित जोडेको छ । योग शब्दको अर्थ नै ‘जोडिनु’ वा ‘जोड्नु’ हो । योग शब्दलाई आध्यात्मिक आवरणमा बुझ्ने हो भने यसको अर्थ आत्मलाई प्रमात्मासित जोड्ने, भक्तलाई भगवानसँग जोड्ने, मानवलाई ईश्वरसित जोड्ने, व्यष्टिलाई समष्टिसँग जोड्ने अथवा पिण्डलाई ब्रह्माण्डसित जोड्ने भन्ने अर्थ लाग्दछ । गहिरिएर हेरियो भने योगिक क्रियाको उद्देश्य नै मनलाई पूर्णरुपले नियन्त्रित गरेर एकाग्र हुँदै जीवनले खोजेको वास्तविक दीव्य-आनन्दमा पुऱ्याउने वा आफैं समर्पित हुने भन्ने निष्कर्षमा पुगिन्छ ! यो समर्पण नै संमोहनको पूर्णता हो । यस्तो खाले समर्पणपछि मात्रै मानिस असल मानवको रूपमा उदाउने किटान शास्त्रका विभिन्न प्रसंगमा दर्शाइएको छ । तर, शास्त्रका अध्यापक र अध्येता दुवै धेरैभन्दा धेरै श्लोक घोकेर अरुलाई सुनाउने होडबाजीमा संमोहित भइदिएपछि हाम्रा शास्त्रका बहुमूल्य सन्देशहरु खोसेलासरह बनेका छन् ।
“विद्याविनयसंपन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।।” (अर्थ आफैं खोज्नुहोला)
श्रीमद् भगवद्गीता अध्याय ५-श्लोक १८ को यो सन्देशजस्ता जीवनमुखी सुझावहरु शास्त्रमा अनेकौं छन् । तर, शास्त्रका अध्यापकहरुले ‘किताबका भ्याण्टा’ र ‘बारीका भ्याण्टा’मा फरक देखाएपछि सिंगै समाज अल्मलमा छ । यो पनि एक खाले संमोहित अवस्था नै हो । आखीर संमोहनमार्फत उत्पादित मनोबलले नै जीवन सुधार्छ भने नकारात्मक संमोहनमा गएर आफूलगायत सिंगो समाजलाई ध्वस्त किन पार्नु; बरु सकारात्मक संमोहनमा गएर आफूसँगै अरुको पनि जीवन सुधार्ने काम गरे हुन्न र ?
The word Hypnotism “Sammohan” with its source, meaning, use and misuse, illustrated from the time of “Samudra Manthan, Mohini, western Philosophers and Its presence today in different forms, Named and renamed seems well explained with good research and explanation. Most of the readers may get frowned with the topics and first paragraphs of most of the articles of Bhakta Ghimire ( Daajai). Its normal because he shoots an arrow at the first instance to divert the attention of the readers, making them aggressive. Many may leave after the first paragraph which may endanger their logic. But after a certain level, the real meaning, theme and the answers of the readers flow in perfect harmony. I have never seen his article without any unsatisfactory endings. They may be lengthy and time consuming but worth reading to wash out the heap of doubts and skepticism from the mind. Jai hos.