संस्मरण

लेखक
लेखक

प्रतिमान सिव
ओहायो, अमेरिका

कुरो सन १९८४-८५ तीरको हुनुपर्छ । म सानै भएको करण तिथि-मितिको ठेगान भएन । त्यसताका दैफाममा एक मात्र सरकारी विद्यालय थियो, दैफाम प्राइमरी स्कूल (प्राथमिक विद्यालय), जो हरेक दैफामबासीका लागि मुटुको एक टुक्रा थियो| अङ्ग बनेर खिल जस्तै गाडिएको छ हिजो आज पनि) । दैफाम बजार सदरमुकाम (डिभिजन्) थियो भने त्यसका परिसरमा रहेका गाउँहरू हस्तिनापुर (जसलाई तालाबस्ती पनि भनिन्छ) , नाङ्ग्ले, तल्लो जाम्पानी, माथिल्लो जाम्पानी, गोलन्टि, बेतहोली, खौरुङ्, माज्भाट, दलदले , प्लाण्टेसन, भोर्लाटार, दैसाम, बकासेहरु थिए । दैसाम पनि दैफाम मै गनिन्थियो तर दुरीमा भने निक्कै टाढा थियो । दक्षिण भाग भारतको आसाम (अख्खम्) सङ्ग जोडिएको थियो भने उत्तरी भागमा सुन्दर पहाडका हरियालीले सजिएको थियो । उत्तर-पश्चिम भागमा दिदी-बहिनी डाँडा एकदम अटल भएर न्यानो दैफामलाई शीतल छहारी प्रदान गर्दछ । दिदी-बहिनी डाँडासङ्ग जोडिएका विभिन्न किम्बदन्तीहरू हरेक दैफामबासिहरूका मुखबाट दन्त्य कथाका रूपमा एक पुस्तादेखि अर्को पुस्तामा हस्तानन्तरण गरिन्थ्यो । पूर्वी भागमा धन्सिरी नदी भारतको अरुणाचल प्रदेश र भूटानको दैफामलाई छुट्ट्याउने सिमानाको काम गर्दछ । त्यति मात्र नभएर धन्सिरी नदी दैफामबासीहरूका लागि एक विशेष श्रोतका रूपमा लिइन्थ्यो । विशेष गरी जाम्पानी र बजारबासीहरूले यस धन्सिरी नदीलाई नजिकैबाट नियाल्ने मौका अनि यसबाट प्रशस्त मात्रमा फाइदा लिन पाएको हुनुपर्छ भन्ने मेरो बिचार छ । आफू थोरै समय माथिल्लो जाम्पानीमा बसेता पनि धन्सिरी नदीलाई स्कूल गएको बेला मात्र नजिकैबाट देख्न पाइन्थ्यो । माथिबाट जाम्पानी नदी र धन्सिरी नदी बगेर एकै ठाउँ मिसिन्थे र एक भएर बग्थे । हामी चैँ जाम्पानी नदी पनि भन्ने गर्थ्यौँ भने भारतमा चैँ यसलाई धन्सिरी नदी नै भनेर चिन्ने गर्छन् ।

जति नै लामो वर्णन या व्याख्या गरे पनि आफ्नो बालापनसँग जोडिएको मेरो प्यारो दैफाम मलाई हमेसा सुन्दर लाग्थ्यो अनि लाग्छ । त्यसताका स्कूल धाउँनु बडो आपतको कुरो थियो । कम्तीको पनि एक घण्टादेखि लिएर दुई-अडाई घण्टा, एकभारीको झोला पिठ्युँमा बोकेर पैदल धाउँनु पर्थ्यो। हामी गाउँबाट धाउने विद्यार्थी प्राय पुराना सोचका नै थियौँ तरै पनि त्यस जमानामा पनि दैफाम निकै विकसित र फेसनमा निकै अगाडी रहेको जस्तो मलाई लाग्छ| यसमा मेरा समकालीन मित्रहरूको कस्तो मत छ मलाई त्यति ज्ञान भएन । गो-गो पैन्ट र बेलिबटन पैन्ट त्यति खेरका बडो चल्तीका लुगा थिए । अनिल कपूरको जस्तो बाल ठाडो पारी पछाडि फर्काउने अनि खल्तीमा हात हालेर बडो सानसङ्ग हिँड्ने चल्तीको स्टाइल थियो । एक दिन मैले पनि त्यसै गर्ने भएको, खुट्टाको बुढी औँठा पैन्टमा अल्झेर यस्तो नराम्रो सङ्ग लडेको छु कि अझै पनि याद आउँछ अनुहार पिल्सेर रगताम्मे भएको ।

शिलाङ्ग्, गुहाटी र तेजपुर जस्ता शाहरबाट प्रभावित भएर होला, डिस्को, ब्रेक्डान्स जस्ता अत्याधुनिक नृत्यमा राम्रो दख्खल राख्दथे दैफाम बजारका अगुवा दाइहरू । यतिसम्म कि आफ्नो नृत्य प्रदर्शनका लागि विभिन्न सहरबाट आमन्त्रण आउँथ्यो। गन्स एण्ड रोजेस्, व्हिम्स् , दुरन दुरन जस्ता ब्याण्डहरुका फ्यानहरु थिए । मुख्यतय हिन्दी चलचित्रबाट नयाँ नयाँ हाउभाउ सिकिन्थ्यो र यसले युवा पिँढीका जनजीवनलाई त्यतिकै प्रभावित पारेको थियो । खेल क्षेत्रमा पनि दैफाम निकै अगाडी थियो । भीम रोका जस्तो असल फुटबल खेलाडी दैफामले पाएको थियो ।

नाङ्ग्लो वा चाल्नोको बिट निकालेर तारको एउटा ह्याण्डल बनाई त्यसलाई गुडाउँदै जाँदा दुई घण्टाको बाटो कोही बेला त आधा घण्टामै पार गरिन्थ्यो । तर यदि त्यसो गरिएन भने कोही बेला बाटैमा खेल्न थालिन्थ्यो अनि कति खेर डिम्पेन पक्वालको सिर्कना खानु पर्थ्यो थाहा नै हुँदैन थियो । मैले मात्रै होइन, प्राय सबै जसो मित्रहरूले डिम्पेन पक्वालको सिर्कना चाख्ने मौका पाएका छन् । किन कुट्नु परेको बाटोमा हिँडी राखेका अथवा खेली राखेका केटा-केटीहरूलाई मलाई अचम्म लाग्थ्यो तर त्यो भन्दा धेरै चाहिँ डर नै लाग्थ्यो । लामो बाटो, जङलको बाटो, एक्लाई-दोक्लई हिँड्न डर हुन्थ्यो त्यसैले गठ्ठा बाँधिएर हिँड्नु पर्ने । फेरि के हो कोनि एक्लै हिँड्यो भने टाउको काट्छ भन्थे । टाउको काटेर कहाँको मिल वा कारखानामा बली अथवा भोग चढाउँछ भन्ने हल्लाको बिब्बिगी थियो ।

महन्त कान्छा एक विशाल शरीर भएका र सारै चर्को स्वरमा बोल्ने स्वभावका व्यक्ति त्यस जमानामा सारै धनी मानिस थिए । उनलाई कतिले कान्छा महाजन पनि भन्थे । उतिखेर हात्ती पालेका, गाडीहरू भने खोइ कति हो गन्ती त थाहा भएन, ट्रक भएका, गुवा बगान, जिप गाडी, माछा पोखरी र धानमिल उनका केही देखिने सम्पत्तिहरू थिए भने अरू हामी फुच्चा-फुच्चिहरूले नजानेको कति थियो कोनी । स्कुलमा ब्रेक वा छुट्टी हुने बितिक्कै हामी उनको गुवा बगानमा ढुङ्गा हान्न पुगी हाल्थ्यौँ।

खोइ काँहाबाट कान्छा महाजनका कुरो पुग्यो थाहा भएन (सायद बुवाले कुरा गर्दिनु भयो), तर उनीबाट, “यी केटाहरूलाई स्कूल धाउन टाढा भयो, यतै मेरो मिलको छेउको घरमा बसुन्, राती यसो मिलको देखभाल पनि गर्छन्” भनेर आदेश आयो । सारै खुसी लागेको थियो, बजारमा बस्न पाउनु भनेको निकै सानको कुरो हुन्थ्यो उबेलामा| त्यस माथि स्कूल धाउन दुई घण्टा हिँड्नु नपर्ने भयो।

दुई चार वटा फेर्-फारे लुगा अनि थोत्रा ओढ्ने-ओछ्यौंने, एक-दुई वटा पकाउने भाँडा र थाल लिएर त्यो सानो कालो काठको घरमा बस्नलाई पुगेको थिएँ म । मसङ्ग अरू दुईजना साथीहरू थिए । एक जना सुक बहादुर राई हुन्, मलाई राम्ररी याद छ भने अरू एक जना चाहिँ को थिए मलाई याद भएन । साथी सुक बहादुर मलाई निक्कै अचम्मको अनि रोचक पनि लाग्थ्यो । तेती खेर स्कूलबाट अनि घरबाट पनि लुकी-छिपी हामी खैनी खान्थ्यौँ । उदेक लाग्दो कुरो, सुक बहादुरले जिब्रो माथि खैनी राखेर खान सक्थे र बोल्न पनि सक्थे । उनी म भन्दा निकै चतुरो पनि थिए । उनैको निर्देशनमा हामी बेलुकी भएपछि मिलमा पस्थ्यौँ, त्यहीबाट चामल लिन्थ्यौँ अनि त्यसैलाई केलाएर पकाई खान्थ्यौँ । मिल जति खेर पनि खुल्लै हुन्थ्यो| राती त्यही मिलमा पसेर ओछ्यान लगाउँथ्यौँ । सित्तैमा बिजुली बत्ती बाल्न पाईन्थ्यो| एकाध घण्टा पढेपडेपछि रातभर तास खेलेर बित्थ्यो । सारै आनन्दका दिनहरू थिए । तर यो क्रम कति दिन जारी रह्यो थाहा भएन । हरेक शनिवारका दिन हाफ्-छुट्टी हुन्थ्यो अनि आइतबारको दिन पुरै छुट्टी । शनिवार सिधै घर जानु पर्थ्यो र रासन-पानीको बन्दोबस्त गर्नु पर्थ्यो । हप्तामा एक चोटि मात्र घर जाँदा निकै शान बढेको महसुस हुन्थ्यो । वरिपरि छर-छिमेकीले पनि पर्देसी आएछ भन्दिन्थे| खुसीले नाक फुलिएर सानो हुँदैन थियो । यदि कुनै शनिवार घर गएन भने त्यो मिलदेखि माथिको डाँडामा जाँन्थ्यौं । त्यो ठाउँ बडो रोमाञ्चक लाग्थ्यो । त्यहाँ आईबी थियो । राज परिवार वा अन्य कुनै ठुला सर्कारी कर्मचारीहरू आउँदा त्यो गेस्ट हाउसमा बस्दथे । त्यसैलाई आईबी भनिन्थ्यो । बडो राम्रो, सफा र फुलबारीले भरिपूर्ण थियो । त्यतैतिर अल्लारिएर बिताउँथ्यौँ छुट्टी । कहीँ कतैबाट एक-दुई रुपैयाँ लुकाएर राख्न सकियो भने फोटो खिच्ने खुब रहर हुन्थ्यो तर क्यामरा नै नहुने ।

आज सन २०१६ को अगस्तमा पुराना सम्झनाहरूलाई बिउँझाउँदै मेरा मित्र सुक बहादुर राई कोङ्कर्डबाट सिन्सिन्नाटी आउनु भएछ| भेट गर्न गएँ फरेस्ट पार्कमा सपरिवार । यी हाम्रा बाल्यकालका कुराहरू सङ्गै आफ्नो मातृभूमि अनि जन्मथलोको सम्झानाहरुलाई आलो पार्दै गएँ । तर साथीको ब्यस्तताको कारणले गर्दा खासै लामो कुराकानी गर्न पाइएन तै पनि छोट्कारीमा ती दिनहरूको पनि चर्चा गर्न भ्यायौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *