समय
कुमारी पोखरेल
अमेरिका
अब त अमेरिका आएको पनि बाह्र वर्ष भैसकेछ
समय पत्तै नपाई डाँडा पो काटिसके छ
समयको अन्तरालसँगै हामी कता कता पुग्यौँ
साथीभाइ छर छिमेक सारा देशभर छरियो ।
कति रमाइलो थियो त्यो बाल्यकाल
खोलानाला अनि ती बालसखा
गुच्छा गोटी पौडी अनि लुकामारी
अहिले आउँछन् ती याद झल्झली ।
तिहारमा साथीभाइ भेला भई
देउसी भैले खेल्दै नाचेको
यादले सताउँछ आज घरी घरी ।
गाउँभरि सेलरोटीको बास्ना
सँगै हाँस्दै नाचेका पल
फेरि पनि मन उडेर
पुग्छ त्यहीँ क्षण ।
यहाँ त सबै जना काममा तल्लीन हुनै पर्ने
घर भाडा, घरको किस्ता, बस्न अनि खानाको निम्ति
कामलाई सानु ठुलो नगन्ने
आफ्नो कामलाई दृढ भएर गर्ने प्रवृत्ति यहाँ ।
सत्र वर्षको शरणार्थी जीवन बितायौँ हामीले
दु:ख-पीडा कष्ट सबै सह्यौं हामीले
यहाँ त खान बस्नको निम्ति दु:ख छैन
तर सुखमा हामी मात्तिन हुँदैन ।
अब त हामी यस देशका नागरिक भएका छौँ
आफ्नो भाषालाई कदापि नभुलौँ
हामी यही देशमा राम्रो काम गरौँ
हाम्रा सन्ततिलाई आफ्नो भाषा संस्कृति सिकाऊँ ।
नबिर्सौँ हाम्रो भाषा अनि संस्कृति
जोगाउनु छ हामीले
हाम्रो पुर्ख्यौली
सम्पत्ति !!