समय रहेन अब
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
म जो थिएँ आज म त्यो रहिन
म जे हुनेछु, म त्यो पनि थिइनँ……
सुन न , मलाई महसुस गर्न सक्छौ हैन!
आऊ मेरो छेवैमा आएर बस
यो शय्याको एक डिलमा आएर बस।
मलाई बेसक थाहा छ कि तिमीलाई थाहा छ मेरा ओठ चल्दैनन्
हात-पाउले केही थाहा पाउँदैनन्
तिमीले मैले बोलेको सुन्दैनौ – यो पनि थाहा छ
तर तिमी मलाई महसुस गर्न सक्छौ, यसमा मन ढुक्क छ
किन कि
मलाई आज तिमीलाई भन्नु धेरै छ
तर समय मसँग धेरै छैन,
त्यसैले
आऊ…न….एक चोटि समीपमा आऊ
छेवैमा बस अनि मेरा हात समाऊ।
म यो शय्यामा एक्लै धेरै सुतिसकेँ
मलाई यी त्यान्द्रा – तुन्द्रा देखि धेरै झन्झट लागिसक्यो
म थाकिसकेँ, हारिसकेँ, लड्ने शक्ति हराइसक्यो
मेरो ईश्वर पनि मेरो व…र आएर बसेको छ
मलाई लिन आएको भन्छ
त्यसैले ममा समय औधी छैन
आऊ मेरो शरीर सुताइएको शय्याको नजिकै आएर बस
मलाई माफ गरिदेऊ
अनि एक चोटि मुस्कुराइदेऊ!
म गएपछि,
मलाई राम्रोसँग थाहा छ कि
कठिन हुनेछ, तिमीलाई मन समाल्न, एकदमै कठिन
तर तिमी कसैगरी आफ्नो मनलाई भुलाउनु है
तिमीलाई त थाहा नै छ
तिमी दुखी हुँदा मेरो मन असाध्यै रुन्छ
मेरो मन म तिमिसँगै छोडेर जान्छु
मेरो मनको ख्याल राख्नु, नरुवाउनु है!
तिम्रो गल्ती पटक्कै होइन
अरे पगली…..म नै हु त्यस्तो
जो तिमीसँग धे…..रै प…..र सम्म जान सकिन
यहीसम्म लेखेको रहेछ।
म गएपछि तिमी तिम्रो मुटुलाई एक्लो नराख्नु
अरू कसैसँग सम्बन्ध गाँस्नु, हाँस्नु, खेल्नु
मैले भनिहालेँ नि, तिम्रो गल्ती पटक्कै होइन
तिमीसँगको मेरो यात्रा यहीसम्म मात्र रहेछ।
अनि सुन न
मिल्यो भने
म गएपछि म सुतेको जमिन माथि
सुन्दर फूलबारी बनाइदिनु
जहाँ फूलहरू लहलहाउँदा फुलुन्
अनि तिमी तिनै फूलहरू जस्तै फेरि फुल्नु
आफ्नो सेतो पोसाकमा तिनै फूलहरूको
रङ्गले आफूलाई सिँगार्नु, तिमी बेसक मुस्कुराउनु
मेरो ईश्वर र म भएर
तिम्रो नयाँ बिहानी कोर्न थालेका छौ
जहाँ तिमीले आफ्नू जिउँदै शरीरमा
कात्रो लगाएर हिँड्नु पर्ने छैन……
यो सायद मेरो समझदेखि धेरै टाढाको कुरा
कि म मरे पछि मात्रै तिमीलाई किन सेतो पोसाक दिइन्छ??????
खै धेरै त के भन्नू अब
तिमी र म भेट्नु अघि
एउटा ठुलो गोलाकारको बेग्ला बेग्लै
दिशाबाट बेग्ला बेग्लै दिशातर्फ हिँडेर
नजिकिएका थियौ
अहिले फेरि हामी बेग्ला बेग्लै दिशातर्फ हिँडिरहेका छौ
एक अर्का देखि धेरै टाढा…..
म जे थिएँ त्यो म रहिन
र म जे हुनेछु , त्यो त म पक्कै पनि थिइनँ……..