‘खबरदार ! कवि/साहित्यकारले समाजबारे बोल्ने होइन ’

भक्त घिमिरे
पेन्सिलभेनिया/अमेरिका

सामाजिक सञ्जालको एउटा समूहमा ‘समाजमा व्यक्ति सर्वश्रेष्ठ कि सामाजिक मूल्य-मान्यता’ भन्ने एकजना विद्वान मित्रको तार्किक जिज्ञासाले सो विषयलाई छलफलमा ल्याउने हुट्हुटी जगाइदियो । ‘समाजका मूल्य-मान्यताको विषयमा गुरु/पुरुहितबाहेक कोही बोल्नै पाउँदैन । कवि साहित्यकारहरु यस्ता विषयमा बोले भने त्यो निरर्थक हुनेछ र त्यो धर्मका विरुद्धको आक्रमण ठहर हुनेछ’, भनेर खबरदारी नै गरिसकेपछि यो प्रसंगलाई अलिकति नकेलाईकन चित्तै बुझेन ।

उहाँको नाम के हो, कहाँ बस्नुहुन्छ भनेर म पृष्ठभूमि र व्यक्तित्वप्रति कुनै पनि टिप्पणी चाहन्न । बरु यो विचार प्रष्टरूपमा राखिदिनुभएकोमा उहाँलाई धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । किनभने उहाँले राख्नुभएको विचारले नै हाम्रो वर्तमान समाजको ठूलो हिस्सालाई प्रतिनिधित्व गरिरहेको छ । सदियौंदेखि चलेर आएको परम्परामा यस्तै चलनहरु देखिएका छन् । आफ्नो सामाजिक वर्चस्व गुमाउन कोही चाहँदैन भन्ने कुरा सामान्य मानिसलाई पनि ज्ञान छँदैछ । वैदिक, पौराणिक कालको कुरा छोडौं, हाम्रै जीवनको कालखण्डमा पनि केही दशकअघिसम्म समाजका हरेक सांस्कृतिक अभ्यासलगायत आर्थिक व्यवस्था र न्यायसम्पादनको विषयसमेत उहाँले भनेका जस्ता ‘गुरु’, ‘पुरोहित’हरुकै हातमा थियो ! यतिसम्म कि, युद्ध र राज्यविस्तारको समयसम्म पनि दरबारमा राजगुरु बनेर पुरोहितहरु नै बसेका थिए । उनीहरुकै परामर्श र उपदेशमा राजपाटका कामहरु हुन्थे । यद्यपि, अब पनि यसरी नै सधैं चलिरहनुपर्छ भन्नेचाहिं होइन ! धेरै कुरामा परिमार्जन आवश्यक भएको छ ।

  • हिन्दू भनेको धर्म होइन संस्कृति हो । हिन्दू संस्कृतिको प्रादुर्भाव आंशिकरूपमा वैदिककाल र अधिकांश पौराणिककालका घटनाक्रमहरुसित आधारित छ । शुरुमा यो जुन उद्देश्यबाट प्रेरित भए पनि तेस्रो शताब्दिपछि यसको मूल लक्ष्य दुइ भिन्ना भिन्नै दृष्टिकोणबाट अभ्यासमा चल्न थाले । आजसम्म चल्दै आएका हिन्दू संस्कृतिका दुइ दृष्टिकोणमध्ये एउटा हो; आध्यात्मिक मोक्षका लागि सन्यास र वैराग्यतर्फ उन्मुख गराउने उत्प्रेरणा र समाजलाई अहिंसात्मक शान्तिको आभाष दिलाउने अभिप्राय ।
  • दोस्रो दृष्टिकोण हो; विशाल भारतभूमिको रक्षा गर्नलाई अपनाइएका साम, दाम, दण्ड र भेदका नीतिहरु ! यसर्थ पहिलोमा नैतिक आचरणको महत्व छ भने दोस्रोमा सत्ता अनुशासनको बढी महत्व छ । पहिलोमा गुणकर्मको बढी महत्व छ भने दोस्रोमा राजसी वंशजपरम्पराबाट चल्ने जातिसत्ताको बढी महत्त्व छ । अतः यी दुइ दृष्टिकोणमा एउटाको शिक्षाबाट ज्ञानी, मुनि, साधु, महात्मा पैदा हुन्छन् भने अर्कोको शिक्षाबाट जातीयसत्ता र वर्गीयसत्ताका कठोर तानाशाहहरु पैदा हुन्छन् ।

त्यसर्थ ‘गुरु/पुरोहितलाई गाली गऱ्यो’ भनेर बुरुक्क उफ्रिनु विषयको गम्भीरता नबुझ्नु हो एकातिर भने अर्कातिर समाजलाई समाजको रूपमा नचिन्नु पनि हो । तर, यो मेरो कुनै गुनासो होइन । किनभने उहाँले राख्नुभएको विचार कुनै नयाँ विचार होइन, उहाँ एक्लैको सोच पनि त्यो होइन । यो त समाजको ठूलो हिस्सालाई प्रतिनिधित्व गर्ने सोचाइ हो । यही सोचाइलाई परिवर्तन गरेर समाजलाई जड्ताबाट उकास्तै नयाँ गति दिनुपर्ने आवश्यकताको संकेत हो यो । त्यसो गरिएमात्र हाम्रो सामाजिक दर्शनचेतना र सभ्यताको विश्वव्यापी अस्तित्व कायम हुनेछ ।

फेरि पनि दोहोऱ्याउँदै भन्छु-फलानाले किन यस्तो कुरा गरे, भनेर म गुनासो गरिरहेको छैन ! म व्यक्तिको चरित्र चित्रण गर्न चाहन्न । यद्यपि, त्यो प्रतिनिधिमूलक विचार भएकोले र त्यो समूह हाम्रो सामाजिक विषयको डिस्कोर्श चलाउने मञ्च भएकोले विषयको चर्चामात्र उठाएको हुँ । मैले आदर गर्ने, मेरो निजी आस्थाका सम्मानित अग्रजहरु र सबैका आ-आफ्ना विश्वासका सम्पूर्ण गुरु-द्रष्टाहरुका अघि नतमस्तक बनेर, कतै बिराएमा अग्रीम क्षमायाचना समेत जाहेर गर्दै म निश्चित विषयको उठान गर्न गइरहेको छु ।  मैले यहाँनेर यसो भनिरहँदा निन्दा र स्तुति दुवैमा पार्थक्य नहुने भनेका गुरु/पुरोहितहरु नै हुन्; त्यो उहाँहरुको लाक्षणिक गुण हो भन्ने कुरा पनि मैले बिर्सिएको छैन !

सबैभन्दा पहिले यहाँनेर गम्भीर भएर चिन्तन गर्नुपर्ने कुरो के छ भने, उहाँको चेतनाले प्रस्तुत गरेका गुरु/पुरोहित भनिएका महानुभावहरु को को हुन् ? गुरु भनेका व्यक्तिहरु कस्तो गुणले सुशोभित हुनुपर्छ ? अथवा कसरी चिन्न सकिन्छ ? भन्ने हो ! वैजनी वा नारंगी वस्त्र र चन्दन-टुप्पी नै गुरु हुनुको मानक हो कि अरु पनि आधारहरु छन् ? उच्च चैतन्य र ज्ञान गुरु हुनुको हकमा पर्छन् कि पर्दैनन् ?  भन्ने प्रश्नको जगमा अडिएको छ हाम्रो अहिलेको ‘डिस्कोर्श’ ! ज्ञानको सार व्याख्या गरेर वैदिक वाङ्मयले देखाएका समाजोपयोगी विधिहरुलाई व्यवहारमा ल्याउने अनि पुराना राजाहरुले तत्कालीन सामाजिक चेतनाको गति अनुसार बनाएका (अहिले सन्दर्भहीन भइसकेका तर, धार्मिक आवरणभित्र राखिएकाले ती राजसी चलनहरु पनि धर्म जस्ता देखिने) नियमहरुलाई खारेज गरी समय सुहाउँदो विधिको स्थापना गर्ने अहिलेको सामाजिक डिस्कोर्श हो ।

यति कुरा नबुझीकन एकोहोरो आफ्ना कुरा सुनाउनमात्र कोही सामाजिक डिस्कोर्शमा आउनुभएमा त्यो स्वयंको अहंकारबाहेक केही हुने छैन । समाजमा आइसकेपछि आफूलाई चित्त नबुझेको विषय पनि सुन्न सक्नुपर्छ । तब न अन्तरक्रिया र परामर्श सम्भव हुने हो ! नत्र, भौतिक देहमा लिप-पोत गरेर ठूला ठूला महात्मा बनेका आडम्बरी कथित गुरुका कुरा पनि उनीहरु आवरणमा गुरु/पुरोहित बनेकै कारणले ‘दोहोऱ्याइ, तेहऱ्याइ सुन्नैपर्छ’,  ‘मात्र उहाँहरुको सुन्ने हो, अरुले बोल्ने कामै छैन’ भनिसकेपछि हाम्रो समाजको मानसिक चित्र छर्लङ्ग भइहाल्यो ! यदि उहाँले चाहेजस्तै वा भनेजस्तै गर्ने हो भने यहाँभन्दा उता यस्ता सामाजिक डिस्कोर्शहरु चलाउने औचित्य नै रहेन ।

म यहाँनेर किन यसो भनिरहेको छु भने उहाँले भनेका जस्ता गुरु/पुरोहितहरुले मात्र बोल्न हुने/बोल्न पाउने, तीबाहेक अरु सबै ‘व्रात्य’ भन्ने बुझाइको दुर्दशा र दुर्गति हाम्रो समाजले पौराणिकालदेखि नै भोग्दै आएको छ । हाम्रो समाजले त पाँचहजार वर्षदेखि नै उहाँले भनेजस्ता गुरु-पुरोहितकै निर्देशन मानेर आएको छ निः हैन र ? गुरु हुनुको सच्चा संज्ञान भएका चिन्तकहरुले दिएका उपदेश र ज्ञानका कारण संसारमा जति उन्नति र उपबल्धी भएका छन्; जति निर्माण र आविष्कार भएका छन्  -तिनको श्रेय त उहाँहरुलाई नै जाने हो । तर बिग्रेका कुराको दायित्वचाहिं कसले लिने ? श्रेय र दायित्व पूरै उहाँहरुले नै लिनुपर्छ ! किनभने समाजको शिक्षा र नीतिनिर्माणका सारा कामहरु आजसम्म उहाँहरुकै प्रमुख भूमिकामा भएका छन् ! त्यो पनि कतिपय ठाउँमा त आत्मचेतनाको संज्ञानको कारणले नभएर केवल जन्मद्वारा तोकिएको जातीय वंशको आधारमा !

गुरु/पुरोहित मातहत अज्ञानताको एउटैमात्र सरल उदाहरण यहाँ पस्किन उत्सुकता जाग्यो !  हाम्रा शास्त्रहरुले बाँसको अग्निलाई बहिष्कृत बताएका छन् । बाँसमा आगो बालेमा त्यो आगोले मानिसको स्वास्थ्यमा गम्भीर असर पर्ने बताइएको छ । त्यही भएर हवनको समिधामा, कुनै यज्ञकर्म र पूजा अनुष्ठानका अग्निहोत्रमा बाँसको प्रयोग वर्जित छ । तर, चीनबाट आयात गरिएका बाँसका सिटामा आराले काटेको काठको धूलो टाँसेर त्यसमा केही रासायनिक सुगन्ध मिसाइ बनाइएको अगरबत्तीलाई ‘भगवान खुशी पार्ने धूप’ को रूपमा बेस्सरी प्रयोग गरियो । मेरो करिब करिब पचास वर्षको आयुभरि हरेक पूजा अनुष्ठानमा म्याग्नेसियम नामको रासायनिकयुक्त अगरबत्तीलाई धूपको रूपमा प्रयोग गरिएकै हो । यसभित्र केही मात्रामा आइरन र सिसाको समेत प्रयोग हुन्छ ।  त्यो जलेर निस्किएको धुवाँ मानिसको स्नायु तन्तुमा गम्भीर असर पार्ने विषसरह हुन्छ । अगरबत्तीको धुवाँले छालाको रोग हुन्छ भने मस्तिष्कको नसालाई काम नगर्ने बनाउँछ । यो कुरो मैले मनोगतरूपमा गरिरहेको छुइनँ । धेरै अनुसन्धानले प्रमाणित गरेको विषय हो । तर, यो चेतना नभएका गुरु/पुरोहितहरुलाई ‘यो काम त गर्न हुन्न’ भन्ने कि नभन्ने ?

बाछा मारी गाई दुहेर ल्याइएको दूध पिएर गजक्क पर्दै आफूलाई ‘निरामिष’ ठानिरहेका छौं । त्यही दूधमा पकाएर हामी पिण्ड चढाइरहेका छौं ! यो उचित छ ? ‘बाछा मारेको होस् कि नमारेको होस्, किनेर ल्याएपछि त्यो दोष त दूध बेच्नेलाई लाग्छ’, भनेको पनि सुन्न पाइएको छ ! समुद्रमन्थनबाट निस्किएका पाँचवटा गाईहरु नन्दा, सुभद्रा, सुरभी, सुशीला, बहुलामध्ये सुरभीलाई मात्र ब्रह्माजीले अपनाएका थिए ।  दीव्य वैदिक गाईको उपमासहित सुरभी ब्रह्माजीलाई दिइएको थियो ताकि सुरभीद्वारा प्रदत्त दूधको मात्र पञ्चगव्य बनाउन मिल्ने, यज्ञ-अनुष्ठानहरुमा सम्पूर्ण मानवजगतको कल्याणका लागि अर्पण गर्न सकिने बताइएको थियो । अथवा साधारण अर्थमा नेपाल र भारततिरका स्थानीय प्रजातिका (जसको जुरो र घाँटीमा माल भएका) गाईको मात्र दूध र गहुँत-गोबर चल्ने तर, जर्सी र अन्य नश्लका गाईको दूध, गहुँत-गोबर केही नचल्ने पूजा र अनुष्ठान त हामीमध्ये कैयौंले गरेकै हुनुपर्छ !  विभिन्न मुलुकबाट आयात गरिएका अन्य नश्ल र प्रजातिका गाईहरुलाई अछूत दाबी गरिएको थियो । तर, विस्तारै बाह्य मुलुकबाट आयात गरिएका गाईहरु धेरै दूध दिने गुणका कारण सर्वव्यापी हुँदै गए । यहाँसम्म कि केही पुरोहितहरुले यजमानलाई ‘फलानो नश्लको गाई दान गर्ने भएमात्र’ सम्म भन्न भ्याए ! अहिले त त्यही पनि आफूले पाल्ने कुरो छैन । ठूल्ठूला व्यापारिक खाद्यभण्डारहरु नै अहिलेका दुहूना गाई हुन् !

उहिले गाई दुहुने पनि विशेष नियमहरु थिए । बाछोको भाग छुँदा घोर पाप लाग्ने आदर्शहरु थिए । बाछोलाई पहिले चुसाउने, केही भाग दुहुने र फेरि बाछोलाई छुट्टै राखिदिने नियमहरु थिए । तर, अहिले गाईले गर्भधारण पनि मालिक र गोठालोको इच्छानुसार गर्नुपर्छ । जन्मपछि बाछो वा बाछीले मालिक र गोठालोकै इच्छामा बाँच्ने वा मर्ने नतिजाको सामना गर्दछ ! धेरैजसो बाछाहरु जन्मने साथ मारिन्छन् । बाँचेकाहरुले आफ्ना माऊहरु देख्न पनि पाउँदैनन् । त्यो आफ्नो सन्तानवियोगको पीडामा आँसु झार्दै गरेको गाईबाट, उसको निरस स्पन्दनबाट असुलिएको दूध वा घिउलाई कुनै राजाले आधा राज्य दान गरेजस्तो गरी गमक्क फुलेर ‘मैले चढाएँ, भोग लगाएँ’ भनेको सुनिन्छ ! मानिस फूल चढाउँछ, जल चढाउँछ प्रकृतिले पहिले नै दान गरिसकेको ! खाद्य र मिष्ठान्न चढाउँछ प्रकृतिले अस्ति नै दान गरिसकेको ! हैन, मान्छेले आफ्नै पौरखको उत्पतिचाहिं के चढाउन सक्छ हँ, उसको मगजमा प्रतिविम्बित भगवानलाई ? पूजाको अर्थ कृतज्ञता अर्पण गर्ने, धन्यवादी हुने हो कि एक औंस चढाएर दुइपाथीको भरपाई माग्ने हो ? “पुष्प हातमा लिएर जम्ले हात गर अनि भगवान सम्झेर वर माग” भन्दै गुरु/पुरोहितहरु सकेसम्म मरिकुच्चै भारी पुग्ने गरी माग्न लगाउँछन् त यजमानहरुलाई  !

यस्ता कुरामा डिस्कोर्श चलाउँदा गुरु/पुरोहितमात्र बोल्ने कि त्यसबारेमा जानकारी भएका अरुहरु पनि बोल्ने ? घरका छोरी-बुहारीलाई मासिकस्राव हुँदा छाउपडी पठाउने, उतै मर्न बाध्य बनाउने अनि आफू कामख्य माईको दर्शन गर्न जानुको के अर्थ हुनसक्छ ? यो रहस्यबारे छलफल गर्ने कि नगर्ने ?

यी त अति सामान्य उदाहरणमात्र हुन् । यस्ता कुराको तालिका बनाएर अघि बढेमा धर्म र संस्कारको नाममा हुर्किएका गलत चलनहरु दुइसयभन्दा माथि  पुग्छन् । यस्ता कुरामा जीवनदर्शन र समाजबारे चिन्तन गर्ने व्यक्तिहरु बोल्ने कि नबोल्ने ?

हैन, हामीले पनि गुरु/पुरोहितलाई बोल्नै हुन्न भनेको कहाँ हो र ? उहाँहरु बोल्नुपर्छ, मज्जाले बोल्नुपर्छ पो भनेको त ! तर, त्यो बोलाई सम्पूर्ण संज्ञान हासिल गरेका गुरुहरुको एकमुष्ट विचार होस् । त्यो विचारले देश, काल र परिस्थिति अनुसारको समाजलाई दिग्दर्शन गरोस् पो भनेको त ! तीन/चारसय वर्ष अगाडि बनेका नियमहरुले आज र भोलिको समाजलाई निर्देशन गर्न नमिल्ने भो, अब केही आवश्यक परिमार्जन गर्नुपर्छ पो भनेको त !

यहाँनेर डिस्कोर्शको क्रममा सामाजिक अभ्यासको कुरा गरिरहँदा धर्म भन्ने शब्द बारम्बार आइरहन्छ । तर, समाजलाई अन्यौलग्रस्त बनाउने, दिग्भ्रमित बनाउने कुरा धर्म होइन; संस्कारको विभिन्नता हो । धर्मको नाममा बखान गरिएको कथित धार्मिकता हो ! जसलाई समाजका अधिकांश मानिसहरुले धर्म भनिरहेका छन्, त्यो संस्कार हो । त्यो संस्कारभित्र पनि अनेकन क्षेत्रीय, प्रान्तीय, आञ्चलिक अन्धविश्वासहरु मिसिएका छन् ! यस्तै अन्धविश्वास र केही किंवदन्तीहरु मिसिँदै ‘सनातन वैदिक संस्कृति’ ‘हिन्दू धर्म’को नाम लिएर समाजमा दह्रिएको छ !

हिन्दू भनेको धर्म होइन क्षेत्रीय संस्कृति हो । हिन्दू संस्कृतिको प्रादुर्भाव आंशिकरूपमा वैदिककाल र अधिकांश पौराणिककालका घटनाक्रमहरुसित आधारित छ । शुरुमा यो जुन उद्देश्यबाट प्रेरित भए पनि तेस्रो शताब्दिपछि यसको मूल लक्ष्य दुइ भिन्ना भिन्नै दृष्टिकोणबाट अभ्यासमा चल्न थाले । आजसम्म चल्दै आएका हिन्दू संस्कृतिका दुइ दृष्टिकोणमध्ये एउटा हो; आध्यात्मिक मोक्षका लागि सन्यास र वैराग्यतर्फ उन्मुख गराउने उत्प्रेरणा र समाजलाई अहिंसात्मक शान्तिको आभाष दिलाउने अभिप्राय ।

दोस्रो दृष्टिकोण हो; विशाल भारतभूमिको रक्षा गर्नलाई अपनाइएका साम, दाम, दण्ड र भेदका नीतिहरु ! यसर्थ पहिलोमा नैतिक आचरणको महत्व छ भने दोस्रोमा सत्ता अनुशासनको बढी महत्व छ । पहिलोमा गुणकर्मको बढी महत्व छ भने दोस्रोमा राजसी वंशजपरम्पराबाट चल्ने जातिसत्ताको बढी महत्त्व छ । अतः यी दुइ दृष्टिकोणमा एउटाको शिक्षाबाट ज्ञानी, मुनि, साधु, महात्मा पैदा हुन्छन् भने अर्कोको शिक्षाबाट जातीयसत्ता र वर्गीयसत्ताका कठोर तानाशाहहरु पैदा हुन्छन् ।

हाम्रो समाज पनि यी दुवै वैचारिक धारबाट अछुतो छैन । धर्मको अभ्यासबाट कोही सन्त, ज्ञानी, मुनिहरु पनि निस्किन्छन् भने कोही निरंकुशताको दम्भ हाँक्ने तानाशाहरु पनि निस्किन्छन् । नश्लको घमण्ड पनि धर्मकै डिस्कोर्शमा मिसिएको छ । “कवि र साहित्यकारहरुलाई समाजका अवयवबारे बोल्न नदिनू” भनेर ‘फतवा’ जारी गर्ने प्रवृत्ति नै त्यो तानाशाही मनोद्वेगको स्रोत हो !

यो हाम्रो पूर्वीय दर्शनचेतनामा मात्र भएको होइन । नश्लीय चेतनाको दम्भबाटै युरोपतिर फाशीवाद र नाजीवाद पनि हुर्किएका थिए । उनीहरुको त्यो दम्भ श्वेतसर्वोपरिताको भावबाट पैदा भएको थियो । वर्णभेद, रंगभेद, वर्गभेद सबै धर्मभित्रै अँटाएका ऐतिहासिक विडम्बनाहरु थिए । तर, यस्ता द्वेषपूर्ण, दुरुह चेतना, मानवसमाजको लागि घातक, सभ्यताको विनाशक विचारधारा नै अधिकांश मानिसहरुको मस्तिष्कमा ‘धर्म’ को नाम लिएर पक्की घर बनाई बसेको छ ! हाम्रो वर्तमान सामाजिक उद्देश्य त्यो विचारधारालाई तोड्नु पनि हो । त्यसर्थ; त्यस्ता वैचारिक आदान-प्रदान हुँदा मुटु पोल्ने इष्टमित्रहरु डिस्कोर्शमा भाग नलिइकन बस्नुभए उचित हुन्छ भन्ने मलाई लागिरहेको छ ।

धर्मको बारेमा हामीले यहाँ चर्चा गरिरहनु पनि पर्दैन । किनभने धर्म नितान्त व्यक्तिनिहित चेतना हो । दुइ वा दुइभन्दा अधिक व्यक्तिहरु मिलेर सामूहिकरूपमा अभ्यास गरिने कुनै पनि कुरा धर्म होइन, संस्कृति हो । संस्कृतिको अभ्यास परिवार, समूह वा समुदायमा गरिन्छ । त्यही समूह वा समुदायलाई समाज भनिन्छ ।

धर्म भनेको अध्यात्मसित अन्तरंग जोडिएको विषयवस्तु हो । अध्यात्मलाई पनि यतिबेला अपभ्रंशित बनाइएको छ । यसलाई ‘पारलौकिक’ सुख, सयलप्राप्तिको साधन बताएर अर्को व्याख्या गरिन्छ । तर, अध्यात्म मरेपछि चाहिने पारलौकिक विश्लेषण वा दर्शनमात्र होइन ।  अध्यात्मको शाब्दिक अर्थ स्वयंको अध्ययन हो । प्रत्येक जीवका एक-एक शरीरमा पृथक सत्ता छ, त्यही चेतनाको अनुभूति अध्यात्म हो । ब्रह्मज्ञान भनेको पनि त्यही हो । शरीर भित्र चैतन्य छ, प्राण छ । त्यसभित्र आकाश, धर्ती, जल, वायु सम्पूर्ण ब्रहाण्ड पनि छ । ती सबैको एकमुष्ट पहिचान गर्ने र तिनको महत्व दर्शाउने विचारशक्ति नै अध्यात्म हो । अध्यात्म फगत पारलौकिक ईश्वरीय चर्चा होइन । यो स्वयंको स्वभाव जान्ने विज्ञान पनि हो । अध्यात्म मानव मनको भित्री तहसम्मको रासायनिक विश्लेषण पनि हो । अध्यात्मको सम्बन्धमा श्रीमद्भगवत गीताको आठौं अध्यायमा भनिएको छः-

अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते।

भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः।। ८.३।।

‘परम अक्षर (अविनाशी) तत्त्व ब्रह्म हो । स्वभाव (आफ्नो चेतन स्वरूप) लाई अध्यात्म भनिन्छ ।  भूतको भाव  उत्पन्न गर्ने विसर्ग (यज्ञप्रेरक बल) लाई कर्म नामले जानिन्छ !’ (अनुवादः स्वामी तेजोमयानन्द) । ‘परम अक्षर ब्रह्म हो अनि जीवको आफू हुनुको अनुभूति नै अध्यात्म हो । प्राणीहरुलाई उत्पन्न गर्ने जुन त्यागबल छ त्यो नै उसको कर्मसंज्ञा हो ।’ (अनुवादः स्वामी रामसुखदास)

 

शाण्डिल्य सूत्रका भाष्यकार स्वामी योगप्रताप भारती भन्छन्-जब मानिसहरु अधार्मिक भए त्यही भ्रान्तिमा उनीहरुले गिर्जाघर, मस्जिद, मन्दिर र गुम्बजहरु बनाउन थाले । उनीहरुले ‘भगवान’लाई आफूले बनाएको खोचजस्तो घरमा थुनेर बन्दी बनाउन थाले ! अनि उनीहरु सबै भन्नथाले, ‘भगवान, अल्लाह, यशु वा बुद्ध आ-आफ्ना मन्दिरभित्र मात्र बस्छन् !’  यसरी भगवानको विशालता मन्दिरभित्र खुम्चियो । जसरी भगवानलाई खुम्च्याएर सीमित बनाइयो मानिसको बाउन्ने चेतना अझै चाउरिएर मरिचजस्तै हुँदै गयो । ‘तिमीले धेरै तिर्थस्थल बनायौ र केहीलाई पवित्र भन्यौ । धेरै मूर्ति बनायौ र केहीलाई साक्षात भन्यौ ! विभेद गर्न कहाँ अरुले सिकाएका हुन् र, यसको कारण तिमी स्वयं हौ !’ जब भगवान मन्दिरहरुमा थुनिए, तब मन्दिर धाउनेहरु हिन्दू भए, मस्जिद धाउने मुसलमान, गिर्जा जाने इशाई र गुम्बज छिर्नेहरु बौद्ध । दर्शनशास्त्रले देखाएको ज्ञानद्वारा प्राप्त प्रकृति र सबैतिर प्रमात्मा देख्ने दीव्यचक्षु भए यो धर्तीमा किन बौद्ध, इस्लाम,हिन्दू र इशाई हुन्थे मानिसहरु ?

प्रकृति निदाएको प्रमात्मा हो भने प्रमात्माचाहिं जागृत प्रकृति हो ! यो धर्ती, सारा ब्रह्माण्ड, आकाश सबै पवित्र तिर्थ हुन् । सबै नदी र समुद्रहरु पवित्र गांगेय हुन् । सबैलाई भज । सबैलाई पूज । सबैलाई पवित्र रहन देऊ ! सबैलाई मानव हुनुको सम्मान देऊ, सबैलाई शिक्षा र ज्ञानको दान गर । सबै प्राणिमाथि दया गर ! पूर्वीय दर्शनशास्त्रको मूल विन्दू यति नै हो । स्वामी योगप्रतापको यो विचार हामी र हाम्रो समाजमा कतिको लागू हुन्छ कि हुँदैन ? हुन्छ भने कुन हदसम्म भनेर विचार गर्नुपर्ने भएको छ ।

‘हजार जिब्रा भएका शेषनागले पनि बयान गरी नसक्ने’ भनेजस्तो जति नै तन्काएर व्याख्या गरे पनि अध्यात्मको खास अर्थ आफुभित्रको चेतनतत्व अनुभूत गर्नु नै हो ! यसर्थ, अरुद्वारा लादिएको कुनै पनि कुराले मानिसले धर्मको अभ्यास गर्न सक्तैन ! संस्कारको अभ्यासमात्र गर्नसक्छ । अहिलेसम्म हाम्रो समाजले अभ्यास गर्दै ल्याएका सबै संस्कारहरु धर्मका लागि उत्प्रेरित  गर्ने लक्ष्यमा केन्द्रित छैनन् ।  अधिकांश संस्कारहरु अघि माथि नै व्याख्या गरिए अनुरुप दोस्रो दृष्टिकोणको कट्टरवादी हिन्दू शासकीय अवधारणाबाट उत्प्रेरित छन् ।  केही सीमित संस्कारले मात्र समाजलाई धर्मको अनुभूत गराउने तर्फको शिक्षा दिन्छन् । तिनलाई केलाई-निफनी गर्नु जरुरी भएको छ !

हामी समाजले गर्ने अभ्यासका बारेमा केन्द्रित परामर्श गर्न चाहिरहेका छौं ! यस सन्दर्भमा सबैभन्दा पहिले सबैको मस्तिष्कमा ‘समाज’ शब्द परिभाषित हुनुपऱ्यो । जब व्यक्तिको अस्तित्व र चेतनालाई नै निषेध गरिन्छ भने त्यो ‘समाज’ कसरी समाज बन्न सक्छ ? समाज भनेको के हो ? समाज कसरी बन्छ ? जस्ता प्रश्नहरुको समाधान पनि सामाजिक डिस्कोर्शहरुमार्फत गर्नुपर्ने देखियो । ठिकै छ यस्ता डिस्कोर्शहरु पनि एउटा कार्यशाला भन्दा कम होइनन् । त्यसर्थ व्यक्ति र समाजको पार्थक्य, अन्तरसम्बन्ध आदिबारे छलफल गर्दै जाउँ । वेदादि शास्त्र लेख्ने ऋषिहरु यो व्यक्ति र समाज भन्ने पहिचानमा समाहित हुन्छन् कि हुँदैनन् ? ल ठीक छ, व्यक्तिबिनाको पनि कुनै समाज बनेछ रे ! तर, व्यक्ति श्रेष्ठ कि समाज सर्वश्रेष्ठ भनेर तोक लगाउने मापदण्ड के हो ? कुन निकायले तोक्छ ? वैदिक साहित्यका तमाम स्रष्टाहरु सबै कवि थिए । सबै वैदिक माङ्मयहरु कविता शैलीमा लेखिएका महाकाव्यहरु हुन् ! तिनकै सिर्जना पढेर हामी विभिन्न चरणमा जीवनका मूल्यबोध गरिरहेका छौं ।

तर, आज यहाँनेर एउटा बिडम्बनापूर्ण कोपभाजनको दुरुह चेतना फैलिँदैछ । कतै कवि/ साहित्यकारहरुले समाजको अस्तित्वबारे चिन्तन गर्नै नहुने भनेर डमरु बजाउन पनि थालियो (?) वैदिक साहित्यका श्लोक र सर्गहरु पाठ गरेर (अध्ययन गरेर हैन) सुनाउने हाम्रै समाजका हाम्रै बन्धुबान्धवहरुलाई अतिरञ्जित रूपमा पुल्कित बनाउँदै ‘गुरु/पुरोहित मात्र ईश्वरद्रष्टा हुन्; समाजलाई निर्देशित गर्ने लालमोहरप्राप्त अख्तियारवाला हुन्’, अरु कसैले भनेको समाजले सुन्नु पर्दैन अथवा सुन्नै हुँदैन भन्दिनाले हाम्रो सांस्कृतिक धरातल डुब्दै गएको छ । वर्तमान समाजको दुर्दशा नदेख्नेहरुबाट आएको यो विध्वंशकारी सोच समाजको अस्तित्वचेतनाकै लागि अति घातक छ । मानिसको लागि जीवन र जगतका तमाम कुरामा जुनसुकै किसिमको शिक्षा दिने सबै व्यक्ति, पक्ष र संयन्त्रहरु गुरु हुन् र त्यसको ग्रहण/उपभोग गर्नेहरु सबै चेला बन्न सक्छन् । र, तिनले पनि समाजको चिन्तन गर्न सक्छन्/गर्नुपर्छ भन्ने चेतना नभएका ‘मुहम्मद बीन तुगलकी चेतना’का हिमायतीहरुले प्रवाहित गरेको नारंगी गेरु-चन्दनधारी बाहेक अरुलाई सामाजिक दायित्वबोधबाट पाखा राख्ने सोच समाजको लागि  निकै घातक चिन्तन हो !

समाजको कार्यशैली भनेको के हो ? सामाजिक आचरण भनेको के हो ? कार्यशैली र आचरण जस्ता शब्दको अर्थ नबुझेर मैले प्रश्न सोधिरहेको होइन । त्यो आशयको चर्चा मात्र उठाएको हुँ । मैले डिस्कोर्शमा राख्नचाहेको कुरो चाहिं के हो भने भौतिक देहमा आवरण सजाएर बनेका गुरु-पुरोहित र केही निश्चित उद्देश्यका सम्प्रदायगत प्रमाणपत्र लिएका आचार्यद्वारा निर्देशित  समाजमात्र यो भूलोकमा भएको एकमात्र सम्पूर्ण मानव समाज हो ? वैदिक संस्कृति बाहेकका अरु नियम र विधि मान्नेहरु हाम्रो ‘समाज’को अवधारणाभित्र अटाउँछन् कि अटाउँदैनन् ? अथवा तिनलाई समाजमा गन्ने कि नगन्ने ? हाम्रो सभ्यताको समग्र आयतनमा गुरु-पुरोहित र तिनको आदेश पालन गर्नेहरुमात्र रहन्छन् ? गुरुको पूर्ण अर्थ के हो ? पुरोहितको पूर्ण अर्थ के हो ? हाम्रो समाजमा पूर्ण अर्थका गुरु र पुरोहितहरु कतिजना छन्? यस्ता संवेदनशील पक्षका विचारहरुको समाधान र सकारात्मक/सिर्जनात्मक चिन्तनको प्रवर्द्धनतिर हामी लागौं । त्यसरी समाजले आंशिक भए पनि द्रूत गतिमा प्रगति गर्नेछ ।

अब रह्यो, वैदिक शास्त्र र चलिआएका नियम, विधि पद्धतिका कुरा !  वैदिक शास्त्रमा उल्लेख भएकै नियम, विधि र पद्धति मात्र हाम्रो समाजमा चलिआएका छन् त ? बालविवाह, सतीप्रथा, बहुपत्नी/बहुपति प्रथा, दाइजोप्रथा, ‘थलाईकुथल’ प्रथा (दक्षिण भारतमा बुढो-पाको रोगी भएपछि मारी दिने चलन) कुन वेदका कुन ऋचामा लेखिएका छन् ? यी झट्टै समाधान गरिनुपर्ने  जटिल विषय हुन् कि होइनन् ? कसैले यहाँनेर ‘सतीप्रथा कहाँ छ अहिले’ भन्ला । सतीप्रथा अहिले पनि विधवा प्रथाको रूपमा छँदैछ । झुत्रा लुगा लगाएका, दाँत झरेका गरीब नारीहरुमाथि बोक्सीको अभियोग लगाएर जिउँदै पोल्ने वा गाउँनिकाला गर्ने चलनको रूप लिएको  छ सतीप्रथाले । छाउपडीमा कैद गरिएका युवतीहरुको दुर्गतिपूर्ण मृत्यु भइरहेको छ । एउटा लँगौटी गतिलो गरी कस्न क्षमता नभएको गरीब बाहुनलाई ब्राह्मणवादी अधिनायकत्व फिँजाएको अभियोग लागिरहेकै छ ! यस्तो किन भइरहेको छ त ? किनभने गुरु/पुरोहित भनेका वर्णाश्रम परम्पराको उपल्लो वर्गका हुन् । त्यो वर्गमा ब्राह्मणहरु पर्दछन् । ब्राह्मणहरु सबै गुरु/पुरोहित हुन्छन् भन्ने अवधारणाबाट समाजले शिक्षा र ज्ञानमा पनि जन्मवंशको उत्तराधिकार अपनाएर ल्यायो । तर, ब्राह्मणहरुभित्र ज्ञानी महात्मा महर्षिहरुदेखि राजाका दरबारमा बस्ने शामन्ती बाहुन, आर्यघाटमा बसेर सुगालाई भाग्य हेराउने दोबाटे बाहुन, दरबारमा मरेका मान्छेको काट्टो खाने काट्टे बाहुन, बाहुन आमा-बाबुका कोखमा जन्मिएकै भरमा अर्थ न बर्थ सधैं मागेरमात्र खानुपर्छ भन्ने मगन्ते बाहुन हुँदै परिबन्दले लुटिएका, आफ्नो भन्ने केही पनि नभएको दुखिया- सर्वहारा बाहुनसम्म हुन्छन् भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ कि छैन ?

अब स्थापित मूल्य मान्यताका कुरा पनि गरिहालौं । समाजमा स्थापित मूल्य-मान्यताहरु सधैंका लागि अजम्बरी हुँदैनन् ! स्थापित मूल्य-मान्यताहरु कसले बनाएका हुन् ? किन र कसरी बन्छन् ? ती नियम र विधिमा देश, काल र परिस्थितिका सन्दर्भहरु जोडिन्छन् कि जोडिँदैनन् ? वैदिककालको शुरुवातदेखि आजसम्म कति नियम बने र मासिए ? सधैं ‘स्थापित मूल्य-मान्यता’ को बँचाउ गरेका भए बुद्ध, गान्धीलाई संसारले चिन्ने नै थिएन ! सन्त ज्ञानेश्वर, तुलसी दास, रविदास, रामानुज, मेहराज ठाकुर, कवीर, रामानन्दहरु समाजमा स्थापित हुनुको तात्पर्य उनीहरुले तत्कालीन स्थापित मुढविवेकी मूल्य-मान्यताविरुद्ध कदम उठाएरै हो !

स्थापित मूल्य-मान्यतालाई सधैं स्थायी राख्न चाहनेहरुलाई म एउटा प्रश्न गर्नचाहन्छु-उहिले एकबेलामा उत्पात ठूलो धार्मिक अनुष्ठानका रूपमा रहेको सतीप्रथालाई अहिले किन जारी नराखेका हुन् ? देवी माई, संसारी माई पूजा, गोठधुप किन नगरेका हुन् ? बाह्र राँगा, सात खसी छिनालेर कुलपूजा किन नगरेका हुन् ? मष्ट र देवाली पूजा किन नगरेका हुन् ?

अब समाजको चिन्तन गर्नेहरुका सामु खाली दुइवटा विकल्प छन् । ती विकल्प के हुन् भने कथंकाल आफ्ना बाबुको देहान्त दुर्भाग्यवश आमाभन्दा पहिले नै भइदियो भने आफ्नी आमालाई पनि जिउँदै लगेर अग्नि दाहमा होम्नु र सधैं स्थापित मूल्य-मान्यताको कुरा गरिरहनु- होइन भने नियम र मान्यताहरु कहिल्यै स्थायी-अजम्बरी हुँदैनन् भनेर बुझ्नु ।

समाज र समाजको विश्वास सधैं एकनाश रहँदैन र रहनु पनि हुँदैन; प्रगति र उन्नतिका लागि सकारात्मक परिवर्तन सधैं आवश्यक छ भन्ने कुरा किन नबुझेका हुन् यी एकोहोरो परम्पराका पक्षधरहरुले ?  समाजको सकारात्मक चिन्तनधाराका लागि यो चुनौतीको विषय हो !

One Reply to “‘खबरदार ! कवि/साहित्यकारले समाजबारे बोल्ने होइन ’”

Leave a Reply

Your email address will not be published. Required fields are marked *