सम्झौतामा अल्झिएको साइनो
तिलारूपा आचार्य(अधिकारी)
ओहायो , अमेरिका
के रोजौँ म ?
के खोज्छौ तिमी
के सोधौँ म
के बुझ्छौ तिमी
न मेरो खुसीमा तिमी रमाउँछौ
न तिम्रो सफलतामा
म सामेल हुन सक्छु
जबरजस्ती थोपरिएका साइनोहरूमा
सम्बन्धको अर्थ नै
सुल्झिँदै नसुल्झे पछि
एउटै छाता ओढी
हिँड्नुको के मज्जा भो ?
आफ्ना- आफ्नै बाटाहरू
दोबाटोमा जोडिँदैनन् भने
हामी हिँड्दै गरेको,
यात्राको के फाइदा भो र !
तिम्रा दु:खाइहरूमा
न म दु:ख्न सक्छु
मेरा प्रत्येक चोटहरूमा
न तिमी मलम बन्न सक्छौ
मलाई न तिम्रो कदर छ
तिमीलाई न मेरो फिक्कर रहन्छ
फिक्का हाँसो ओठमा
कतिन्जेल सुहाउँछ र
मेकअप गरी- गरी
बनाएको सुन्दरता
दीर्घकालीन कहाँ हुन्छ र ?
उसै उत्रिए पछि
निक्कै कुरूप बनाएर जान्छ
सायद,
गन्तव्य एउटै नभएर होला
तिम्रा इच्छा आकाङ्क्षा
म भन्दा टाढा हुन्छन्
मेरा चाहाना र बाध्यता
तिम्रा निम्ति बहाना बन्छन्
दु:ख पिडा बाँड्दै नबाडीए’सी
हामी एक अर्कामा
महसुस नै नभए’सी
सगैं मन्दिर गई
पूजा गर्नुको के फलिफाप भो ?
बहाना जति नै जुटाए पनि
आफ्नो यात्रा
आफ्नै तह गर्न नसक्दा
विकल्पमा,
साइनो बलिदान
गर्नुको अर्थ के…..?