सम्पादकीय

गजल र भूटानी साहित्य

ईसाको १० औं शताब्दीतिर पर्सियाबाट सुरु भएको मानिने गजल विधा फारसी, उर्दू र हिन्दी साहित्य हुँदै नेपाली साहित्यमा प्रवेश गरेको एउटा लोकप्रिय विधा हो | गजलको अभ्युदयसंगै निक्कै लामो समयसम्म यो उति बेलाका राजा महाराजाहरुका राजसी घरानहरुमा प्रेमालाप साटासाट गर्ने माध्यमका रुपमा कैद थियो | गजल महारानीहरुका कोठीहरुमा बस्थ्यो, नारीको सौन्दर्य बखानमा मन्त्रमुग्ध हुन्थ्यो र रोमान्सको पवन चलाउँथ्यो | गजल सर्वसाधारणको जमातबाट टाढा थियो |

कालक्रममा गजल जस्तो चोटिलो विधालाई मायाप्रिती सम्प्रेषणको विधाको रुपमा संकुचित पारिनु हुन्न भन्ने मान्यता लिई यस विधालाई सर्व साधारणहरुको संसारमा ओह्रालियो | अब गजलको क्षेत्र फराकिलो भयो र क्रमश: यो प्रेम-घृणा, सुख-दु:ख, हाँसो-आँशु, समर्थन-विद्रोह आदि मुखरित गर्ने सहज मध्यमका रुपमा विकसित भयो |

गजल विधालाई नेपाली साहित्यमा युवा कवि मोतीराम भट्टले भित्र्याएको मानिन्छ | भट्टको देहान्तपछि निक्कै लामो समयसम्म गजल सुषुप्त अवस्थामा रह्यो | जागरण कालअन्तर्गत गजलकारहरु ज्ञानुवाकर पौडेल र बुँद रानाहरुको लेखन सक्रियतासंगै गजल विधाले नेपाली सहित्यामा पुनर्स्थापित हुने सुवर्ण अवसर पायो |

भूटानी सन्दर्भको गजल लेखनले एक दशक पार गर्‍यो |  तर यति छोटो समयभित्र भूटानी गजल लेखनले निक्कै ठूलो फड्को मरेको पाइन्छ | यही समयावधिभित्र निक्कै धेरै गजलकारहरु जन्मिएका छन् जसको अथक प्रयासमा भूटानी गजल नेपाली समकक्षीसंग समानान्तर गतिमा हिँड्न सकेको पाइन्छ | यसको प्रमुख श्रेय भूटान गजल मंचलाई जान्छ जसले आफ्नो स्थापना (२०६१ साल भाद्र ०५) संगै विविध कार्यक्रमहरुमार्फत भूटानी गजललाई सम्मानजनक स्थानमा पुर्‍याउने काम गर्‍यो |

यति हुँदाहुँदै पनि धेरै गजलकारहरु गजल लेखनको सिद्धान्तिक पक्षका बारेमा निक्कै हदसम्म अनभिज्ञ रहेको पाइन्छ | गजल लेखनको सिद्धान्त, यसको चमत्कारिकता, गहनता, विषय बस्तुको छनोट, भावको सबलता आदिमासमेत अर्थपूर्ण अभ्यास गर्दै भूटानी गजललाई एउटा नवीन उचाई प्रदान गर्न सकिनेछ |

सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *