साहित्य परिषद भूटानका अध्यक्षको सन्देश

आज भूटानी साहित्यिकहरुको विश्वव्यापी साझा मञ्च अर्थात प्राविधिक भाषामा, ‘भूटानीज लिटरेचर डट कम-को चौथो जन्मदिवस हो । चारवर्ष अघि केही जागरुक भूटानी युवाहरुको पहलमा स्थापित तथा सञ्चालित र भूटान साहित्य परिषद अर्थात लिटरेचर काउन्सिल अफ् भूटानको स्थापनापछि विगत दुईवर्षदेखि सोही परिषदको मुख्य प्रकाशन बनेको भूटानीज लिटरेचर डट कम-ले आजसम्म हाम्रा विश्वव्यापी पहिचानका सवाल र अभियानमा मूल टेवा दिँदै आएको छ । यसलाई अझ प्रभावकारी सञ्चार मञ्चको रूपमा अघि बढाएर लाने हाम्रो उद्देश्य रहेको र यसतर्फ समग्र भूटानीहरुको चासो रहोस भन्ने हाम्रो अपेक्षा जाहेर गर्दछौं ।

भूटानी साहित्य परिषदको मुख्य प्रकाशनको कुरा यति गरिसकेपछि अब साहित्य परिषदबारे छुट्टै जिज्ञासा पाठकहरूमा हुनसक्छ । यसबारे पनि केही चर्चा गरौं ।

देशबाट उच्छेदित बनेपछि नेपालका शरणार्थी शिविरहरुमा दुःखदायी दिनहरु बिताउनुपरे पनि वैचारिक दृष्टिले स्वतन्त्र हामीले विभिन्न लक्ष्य र उद्देश्यमा समाजको रक्षा र विकासबारे सोच्तै आएका थियौं । यस सिलसिलामा केही वर्षदेखि अनवरतरूपमा फेरि लगातार हाम्रो परिवेश फेरिँदै आयो । हाम्रो समुदाय विश्वव्यापी रूपमा फैलिन थाले । यसरी हामी संसारभरि फैलिएर आधारभूत व्यवस्थापन भैसकेको र अब उसो आफ्नो पहिचान खातिर सोच्नुपर्ने आवश्यकता महसुस भएकोले हामी आजभन्दा दुईवर्ष अघि नै हाम्रो भाषा-साहित्यको संरक्षणतर्फ लाग्नुपर्ने निष्कर्षमा पुगेर भूटान साहित्य परिषद स्थापना गरेका थियौं जुनकुरा यहाँहरुसमक्ष अवगत छँदैछ । परिषद स्थापनाका केही वर्षअघिदेखि नै र आजसम्म पनि हामीले समग्र साहित्यिक मञ्चहरूलाई एक ठाउँ मिलाएर अघि बढ्नुपर्ने कुरा राख्दै आएका थियौं-छौं । सबै तह र तप्काबाट पनि यो कुरा आइरहेका छन् । परिषदको स्थापना पनि हामीले यही मूल उद्देश्य राखेर गरेका हौं । तर अहिलेसम्मको अनुभवले हामीलाई त्यो आशा पूर्ण हुन अझै समय कुर्नुपर्ने र अझै संघर्षशील बनेर हाम्राबीचमा रहेका ‘इगो’ र व्यक्तिविशेष महत्वाकांक्षाहरुको पर्दाफास गर्दै स्वच्छरूपमा साहित्यको उन्नतिखातिर हाम्रो साझा मञ्चलाई अझ सक्रिय बनाउने उत्प्रेरणा प्रदान गरेको छ ।

यद्यपि, यसो भन्दा भन्दै पनि संसारभरि छरिएर रहेका हामी समग्र भूटानीबीच सहकार्यको जरुरीलाई नकार्न कसैले मिलन्दैन । संसारका विभिन्न देशमा रहेका हामी भूटानीहरुको हातेमालो हाम्रो सामाजिक अस्तित्वको रक्षामा अनिवार्य छ । यही लक्ष्यमा भूटान साहित्य परिषदको स्थापना गरेर अल्पकालीन उद्देश्यमा कार्यगत साहित्यिक फाँटलाई फराकिलो पार्दै दीर्घकालीन लक्ष्यमा भूटान तथा अन्तर्राष्ठ्रियस्तरमा समग्र भूटानीले वर्तमान परिवेशमा उपयोग गर्ने भाषा-साहित्यलाई उन्तस्तरमा पुर्‍याएर यसलाई सबैले अँगाल्ने गरी यसको तह उचाल्ने ठूलो उद्देश्य बोकेका छौं भन्ने कुरा हामीले यहाँहरुलाई हामीले भनिसकेकै छौं । तर, समग्र भूटानीहरुको बिनाशर्त सक्रिय चासो, सहभागिता, जिज्ञासा र लगनशीलताबिना हामी दुई-चारजनाको कसरतले मात्रै यी वृहत् उद्देश्यहरू पूरा गर्न सम्भव छैन ।

परिषद स्थापनाको सिलसिलामै हामीले यो वैचारिक आह्वान गरेका थियौं र आज सोही आह्वानलाई पुनः दोहोर्‍याउन चाहन्छौं । आज साहित्य परिषद् स्थापनाको दुईवर्षको अन्तरालसम्म पनि हामीले कुनै उल्लेख्य उपलब्धि त हासिल गरेका छैनौं । यद्यपि, जति उपलब्धि हासील भएको छ त्यसमा असन्तुष्टि राख्नुपर्ने पनि कुनै कारण छैन । नयाँ देश, नयाँ परिस्थिति, रोजगारप्राप्तिको संघर्ष, परिवार सञ्चालनको भार, अध्ययन इत्यादिको भार धानेर निकालिएको अलिकति समयलाई प्रयोग गरी भाषारक्षा र साहित्य सृजनामा लगानी गरिँदैछ अहिलेसम्म ।

सर्वसम्मति कायम गरी वृहत् साझेदारीमा केही नमूनात्मक कामको प्रयास गर्ने, यसो गर्न नसके कसैले गरेकोमा सहायता पुर्याउने अथवा त्यो पनि नसके सिर्जनात्मक सुझावहरु दान गर्ने र त्यो पनि नसके चुप लागेर बस्ने शिक्षाको अभावमा हाम्रो घरफिर्ती आन्दोलन असफल भएको थियो । हाम्रा ठूल्ठूला उपलब्धिका सम्भावनाहरु छिन्नभिन्न भएर चुँडिएका थिए । तिनै लक्षणहरु फेरि पनि हामीले थुप्रै लक्ष्यहरुमा सामना गर्दै आउनु परिरहेको । यसर्थ यहाँ अनेक व्यक्ति-विशेषका टीका-टिप्पणी, स्वार्थनिहित दाउपेच गरेर प्रसिद्धिको ढोल पिट्नुभन्दा पनि साझा सफलता र सामाजिक उपलब्धिका लागि निशर्त योगदान र सक्रियता आवश्यक छ जुनकुरा घरी घरी भनिरहनु जरुरी छैन । परिषदको औपचारिक घोषणापछि यसका सम्पूर्ण गतिविधिहरू योजनाबद्ध तथा विस्तारित रूपमा अघि बढाउन समग्र भाषा तथा साहित्यप्रेमी महानुभावहरूको सहृदयताको लागि हामीले आशा राखेका छौं र यो आशा तथा भरोसा जारी रहनेछ । जुनसुकै दृष्टिकोणमा होस् हामी समग्र भूटानीहरूबाट प्रथम तहमा सहकार्य, साझेदारी, सहयोगको हात पाउने कुराप्रति विश्वस्त छौं भने हाम्रो मूल साहित्यिक कार्यक्षेत्र नेपाली भएकोले नेपाली साहित्यका सबै प्रेमीजनबाट अझ दर्बिलो सहभागिताको अपेक्षा राखेकै छौं । अनि समग्रमा सम्पूर्ण वैश्विक भाषा-साहित्य प्रेमीहरूबाट पूर्ण सहयोग तथा सहृदयताका लागि हामी अभिलाषी छौं, अनुग्रहित छौं ।

यसर्थ, समग्र भाषा-साहित्यका साधक र सामाजिक भविष्यको शाख बचाउन इच्छा र जाँगर भएका सम्पूर्ण भूटानी दाजु-भाइ तथा दिदी-बहिनीहरूबाट परिषदका हरेक कार्यमा चासो तथा सरोकार राखी यथासक्य सहयोग जारी रहने पूर्ण आशा व्यक्त गर्दछु  ।

भक्त घिमिरे
अध्यक्ष
साहित्य परिषद भूटान

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *