स्वर्गको सम्झना
निमेश भूटानी
सिड्नी, अष्ट्रेलिया
ठूलो पार्न पर्यो कठीन कति यो बिग्रेर जाला भनी
हुर्कायौ पिरलो सहेर कति हो घुर्क्याइ चुस्ता पनि।
आफ्नो सन्ततिको भविष्य बनिने चिन्ता लियौ हर्दम
पाएनौ सपना पुरा नहुने भो तेर्स्यो बडो बन्धन।।
सुर्ता लाग्छ सधैँ चसक्क मनमा बिज्दैछ त्यो संझदा
पोल्छ भित्र मूटु सकिन्न सहनै माया बडेको हुँदा।
तिम्रो कोख बिसे लुकेर कति हो खेल्थें म सानो छँदा
रम्थे पो बनका चरा पनि सँगै आएर ती सर्वदा।।
बस्ता हुन् कति पात शुद्ध बनका मेरो सुस्वागत् गरी
रूँदा हुन् पशु ती विरक्त बनिदै आमा हराए सरी।
खोज्दा हुन् बनका जनादि सबले मीलेर खेल्न भनी
कुर्दै पो छ कि त्यो बगाल बनको छोडेर पक्षी पनि।।
बाख्रा बस्तुसँगै बगाल बनमा खेल्दै गएको पनि
आयो याद सधैँ पिरोल्छ मनयो कस्तो रुखो जीवनी।
टाट्नामा पशु थ्ये कति भोकसँगै संघर्ष होला सँधै
पानी मिल्न सके बरा घिडघिडो बँच्ने थियो कि कतै।।
पाखा खेत भरी पराग बनिदै झुल्दै छ की पावन
ल्याई बासन त्यो भरेर बनको डुल्दै छ की आगन।
मेरा ती रस राग लिप्त मनका प्यारा परेवा पनि
घुर्दा हुन् घरका बसेर सिँढिमा देला र खाने भनी।।