हामी यस्तै छौँ
नैनसिङ मगर (सारु)
पेन्सिल्भिनिय, अमेरिका
आफ्नो काम सफल नहुन्ज्यालसम्म काकालाई काका भन्छौँ
अब काम सकियो है उसको आवश्यकता पर्दैन भनेपछि
काकालाई लाटा भन्छौँ ।
हिजो………
यसले चाल पाउँछ कि, लुक्नुपर्यो भन्नेहरू
आज………
ए, तपाईँ त मेरो काका पर्नुहुन्छ भन्न थालेका छन् ।
सँगै खेली हुर्केकाहरूले
तँ को होस् ? म चिन्दिन भन्न थाले
जन्मेदेखि नै लिटो खुवाउनेलाई बिर्सन थाले ।
हामी गरिबको लास देख्दैनौ
धनीको जन्मदिन बिर्सँदैनौ
थुत्न र लुट्न हामीलाई भनिरहनु पर्दैन
हाम्रो बानी नै यस्तै छ ।
मेरा बालीनाली लहलह भइरहुन्
मलाई मात्र जिउवा गरुन्
थिच्नेलाई थिचिरहनु
चेप्नेलाई चेपिरहनु ठूलाहरुका बानी नै छन् ।
बिहान बेलुकै देवता, भगवान् नखोज्नेहरू छैनन् होला
भगवानभित्र भेदभाव नगर्नेहरू छैनन् होला
म मात्रै जाहीँ पुगौँ अरू रहुन् तल तलै भन्नेहरू कति होलान्
बाहिर हाँसे पनि भित्र अर्कै सोच्ने बानी अझै हाम्रो हटेको छैन
हातमा ग्रन्थ बोकेर अर्काको खल्ती हेर्ने बानी कहिले हट्ला ?
सपनामा नीरमाया भनेर बोलेकैमा
मलामीमा धनेसँगै हिँडेकैमा
डिभोर्स गर्नेहरू कति होलान् ?
पानीबिना बाच्नेहरू
मायाबिना बाच्नेहरू
बोलीबिना बाच्नेहरू
भावनाबिना बाच्नेहरू कमै होलान्
जान्दाजान्दै बाच्नेहरू धेरै होलान्
ठगभन्दा ठगिनेहरू झनै होलान्
हामी यस्तै छौँ ।