हेमलक

तुम्बेहाङ् लिम्बु

प्राचीन युनानको हेमलक
अनि हाम्रो देशको शा-वा-सुम
उस्तै-उस्तै हुन् सानु।

हेमलक
एक किसिमको विष थियो
जो दार्शनिक शुक्रातलाई
पिउन वाध्य पारियो
शा-वा-सुम पनि
उग्रराष्ट्रवादी विष थियो
जो निरीह जनतालाई
पिउन वाध्य पारियो।

उद्देश्य एकै थिए-
प्राचीन युनानमा पनि
हेमलक पिलाउनुको अर्थ
शुक्रातको विचारको
अन्त्य गर्नु थियो
भूटानमा पनि
शा-व-सुम लागु गर्नुको अर्थ
जनताको विचारको
अन्त्य गर्नु थियो

तर हेमलकले
न त शुक्रातको विचार मर्यो
न त शा-वा-सुमले
भूटानी जनताको विचार मर्यो
प्राचीन युनानमा
शुक्रात पछि
हजारौं शुक्रात जन्मेसरह
भूटान भूमिमा पनि
अधिकार र स्वतन्त्रताको लागि
हजारौं शुक्रात जन्मिए
कयौंले बलिदान दिए

हजारौं वर्ष पछि
आजको युनानमा
शुक्रातलाई विष पिलाउनेहरु
कहाँ पुगे थाहा छैन
तर शुक्रातको विचार
आज पनि जिवित छ
युनानमा मात्र होइन
सारा विश्वमा जिवित छ

कुरा उस्तै हो सानु
समय र परिस्थितिको चक्र सामु
भूटानमा पनि
उग्रराष्ट्रवाद टिक्छ कि टिक्दैन
तानाशाह टिक्छ कि टिक्दैन
शा-वा-सुम टिक्छ कि टिक्दैन
तर …
न्यायप्रेमी जनताको विचार
स्वतन्त्रताप्रेमी जनताको सपना
विधिको शासन बनेर
समानता र भ्रातित्वताको गोडाले टेकेर
संसार परिक्रमा गर्नेछ
मानवताको मन-मुटुमा फुल्नेछ
इतिहाको मथिङ्गलमा वास गर्नेछ
किन कि
शुक्रातले जस्तै
भूटानी जनताले पनि
विचार तिलाञ्जलि दिएका छैनन्
बरु भूटानी संस्करणको हेमलक
हाँसी-हाँसी पिएका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *