पर्वको परम्परा र हाम्रो सोच

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

लेखक
लेखक

भक्त घिमिरे
अमेरिका

जुनसुकै जातीय समुदायको भए पनि हाम्रो नेपाली समाजले दशैं र तिहारलाई प्रमुख पर्वको रूपमा प्रत्यक्ष-परोक्ष मान्दै आएको छ । तर, विडम्बना नै भनौं वा सोचाइको कमजोरी, हामीले विजया दशमी अथवा दशैं भन्नेबित्तिकै ठूलाबडाले निधारमा टीका लगाएर आशीष दिने, मीठो-मसिनो खान जुराइदिने अनि तिहार अथवा भाइटीकालाई चाहिं सीमा बाहिरसम्म रमाइलो गर्ने साइतको रूपमा मात्र बुझ्ने गरेका छौं ।  यो परम्परा संस्कारको रूपमा कसरी विकसित भयो र हाम्रो समाजले कसरी यसलाई अंगिकार गर्यो , आजको परिवेशमा त्यसको सान्दर्भिकता के छ, कति औचित्य छ, आदि कुराको मूल्यांकनतर्फ पनि हामीले सोच पुर्याउनुपर्ने हो । विजया अथवा विजय भन्नेबित्तिकै हामी जीत बुझ्दछौं । यसर्थ, दशैं पर्व जीतको प्रतीक हो । एउटा निश्चित प्रवृत्तिले अर्को कुरूप प्रवृत्तिका विरुद्ध कठोर संघर्ष गरी जीत हासिल गरेको, क्रान्तिकारी परिवर्तन गराएको प्रतीक दिवस हो यो पर्व ।

संस्कारभन्दा अलिकति पर सरेर सोच्ने हो भने हामीले दशैं मनाउनलाई के जितेका  छौं? हामीले आज हाम्रै लागि के जितेका छौं र विजयको उत्सव मनाउने ? के-को खुशीमा र पर्व मनाउने ? यहाँ प्रश्नहरू उठ्छन् !

शास्त्रीय कल्पनाको स्वर्गलोकका देवताहरूलाई त्राही-त्राही बनाइरहेको मैषासूर दानवलाई दुर्गादेवीले बध गरी दुष्टप्रवृत्तिको नाश गरेदेखि मर्यादा पुरुषोत्तम रामले रावणलाई बध गरी लंका मुक्त गराएका कुरा सबै न्याय र स्वतन्त्रताका लागि गरिएका संघर्षका विजयोत्सव  थिए ।  आदि ब्रम्हाबाट वरदान लिएर कुनै शत्रुको हातबाट मृत्युवरन नगर्ने कसम खाएको मैषासूरले विश्वमा ध्वंश मच्चाउँदै नैतिक मूल्य-मान्यताहरू समाप्त पारेको बेला मर्यादाको रक्षा गर्न दुर्गादेवीले सिंहवाहिनीको रूपमा मैषासूरको बध गरेकी थिइन् ।

अतः यो पूर्णरूपमा राजनीतिक मुद्दा थियो । राजकाज र सामाजिक सत्तासम्बन्धी सवाल थियो । यही संयोग पारेर पछि रामले पनि व्यवभिचारी रावणको निरंकुश सत्ता ध्वस्त पारिदिए । राजा बलीले कल्पनाका तीनलोकहरूमा विजय हासिल गरेर तिहार अथवा दीपावली मनाउने आदेश जारी गरे । त्यसैले दीपावलीमा आज पनि देउसी गीतमा भट्याउनेहरूले “बलीराजको हुकूम हुँदा”, भन्ने गरेका छन् । दीपावलीमा पाँचदिनभरि यमलोकका राजा यमराजलाई कुनै मानिसको काल धरतीमा नपठाउन हुकूम जारी गरेकाले विदामा बसेका यमराज स्वयं पनि  आफ्नी बहिनीको हातबाट भाइटीका थाप्न गएको प्रसंग विभिन्न कथाहरूमा उल्लेख गरिएको छ । यसै दिनको संयोग पारेर पछि रामले बाह्रवर्षको वनबासकाल सकी लंका  जितेपछि अयोध्याफिर्तीको उत्सव मनाएका थिए तिहारको रूपमा । यिनै अवसरहरूलाई परम्पराका रूपमा अंकित गर्न दशैं र तिहार मनाइएको हो । यसमाथि अन्यायका विरुद्ध न्याय, अन्धकारविरुद्ध प्रकाश र दमनका विरुद्ध स्वतन्त्रताको प्रतीक दिवसका रूपमा यी पर्व मनाइने गरेको अर्थ लगाए पनि फरक पर्दैन । तर, शक्तिमाता दुर्गाको आराधना गरी प्रसन्न गराएर दानवी दुष्ट्याइँ भगाउने र अन्यायकी अन्त्यकाल बनेर आएकी नवदुर्गाको पूजामा भेदभाव, अन्याय, छलकपट तथा सारा गलत प्रवृत्तिहरू त्याग्ने प्रतीज्ञा गर्नको सट्टा यसलाई अझ गहिरो विभेद र कालो दुष्ट्याइँको नमूना दिवस बनाउन खोजिँदैछ । यहाँ हिन्दूविरोधी एउटा लहर चलेको छ र त्यो विचारकाहरूले दशैं-तिहारको कालो विरोध गरिरहेका छन् भने हिन्दू संस्कारका कट्टरपन्थी अनुयायीहरूले पनि मन्दिरको भेटी-सुपारी र पूजाको सेरोफेरोमा मात्र यसलाई सीमित गराउन खोजिरहेका छन् । साम्प्रदायिक संस्कारको आधारमा मात्र यो पर्व सीमित बनाउन खोजिँदैछ। यद्यपि, वास्तविकतामा भने समग्र नेपाली समुदायले मान्ने चाड दशैं अलग पहिचान लिएर अस्तित्वमा रहेको छ । साँच्चै भन्ने हो भने दशैं समूल नेपाली समुदायको चाड हो । तर, यसको सार्थकता व्यवहारिक हुनुपर्छ । मन्दिरमा भेटी-सुपारी चढाउने, मिष्ठान्न भोजभतेर लाउने तिथिमात्र होइन दशैं, संस्कृतिको नाममा चन्दा संकलन गर्ने माध्यममात्र होइन तिहार!

टाढा रहेका आफ्ना सन्तानहरू भेला भई दुःख-सुखका भलाकुसारी गर्ने र ठूला-बडालगायतका मानयजनबाट टीका थापेर आशीर्वाद लिने चलन नेपाली समुदायमा मात्र अहिलेसम्म विद्यमान रहेको छ । दशैंप्रतिको आस्था र औचित्यकै कुरा गर्ने हो भने आजको परिवेशमा हामीले पनि दुर्गादेवी र रामले झैं केही न केही लक्ष्यमा ठूलो उपलब्धि र सफलता हासिल गरेर खुशी मनाउनु मै दशैंको सही मूल्यांकन  हुनेछ । दशैंको गहन अर्थ खोज्ने हो भने यसको तात्पर्य न्याय र स्वतन्त्रताका लागि गरिएको संघर्षमा विजय नै हो भन्ने तथ्य भेटिन्छ । आज पनि समाजमा दमन, अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव, आक्रमण इत्यादि शृंखलाविरुद्धका संघर्षहरूको क्रम  जारी नै छ । यो संघर्षमा विजय भएको दिन हाम्रो पुस्ताका निम्ति अर्को नयाँ दशैं बन्नसक्छ । आजको दशैंकै समान प्रतीक दिवस बन्नसक्छ । परम्परागत दशैंका सन्दर्भमा हामीलाई बूढापाकाले आशीष दिन्छन्-भविष्यको समाजले न्यायका लागि संघर्ष गरोस् र विजय प्राप्त गरोस् भन्ने आशामा । तर हामी त्यो कुरालाई बुझ्ने प्रयासै गर्दैनौं ।

नीतिसूत्रकै रूपमा स्थापित भैसकेको यो आशीर्वादले सन्तानका सदस्यलाई शुभकामना दिँदै सफल र सार्थक मानव जीवन न्यायसंगत ढाँचामा जिउन हौसला बढाउने काम गरेको छ । तर आशीर्वादीहरूले मन्त्रको रूपमा लिएर पूजापाठमै सीमित गरी यसलाई व्यवहारमा उपेक्षा गरेका कारण आजको समाजमा यसको महत्त्व हराउँदै गएको छ ।

आयु द्रोण सुते

श्रीयं दशरथे

शत्रु क्षयं राघवे

ऐश्वरयं नहुसे

ग्तिस्चः पवने

मानं चः दुर्योधने

सूर्यो शान्त बने

बलं चः हलधरे

सत्यं चः कुन्ती सुते

सुज्ञानी विदुरे

प्रवृत्ति भवतान्

कृतिस्चः नारायणे

अष्ट चिरञ्जीवीमध्ये एक, महाभारतकालीन धनुर्विद्याका गुरु द्रोणका छोरा अश्वत्थामाको जस्तो दीर्घ आयु होस् भन्ने संकेतमा ‘आयु द्रोण सुते’ भनिएको छ । राजा दशरथको मर्यादालाई सश्रद्धा सम्मान गरी दरबारका राजकुमार रामले बाह्रवर्ष वनबास गएको कुरा झल्काउँदै ‘श्रीयं दशरथे’ भनेर अयोध्याका राजा, रामका बाबु दशरथको झैं श्री अथवा सम्मान रहोस् भनिएको छ । आफ्नै भातृहत्या गर्न तयार भई रावणका भाइ विभिषणले रावणका विरुद्ध रामलाई सघाएको कुरा इंगित गरी शत्रुको विनाशमा ‘शत्रु क्षयं राघवे’ भनेर रामको कूटनीतिक चातुर्यलाई संकेत गरिएको छ । यसरी नै स्वर्ग, पृथ्वी र मर्त्य, तीनै लोक जितेर सारा ऐश्वर्यमा कब्जा जमाएका राजा नहुसको विलासितालाई झल्काउन ‘ऐश्वरयं नहुसे’ भनिएको छ । यसरी नै पवनपुत्र हनुमानको संकेत गरी हावाको जस्तो गतिमा तेजदार बन्ने शुभाशीष दिँदै ‘गतिस्चः पवने’ भनिएको छ । लंकासंग्राममा लक्ष्मण मुर्छा परी मरणासन्न बनेका बेला हनुमानले हावाको तेजमा सञ्जिवनी बुट्टी खोजेका र नभेटेपछि पहाड नै बोकेर युद्धस्थल पुर्याई मुर्छित लक्ष्मणलाई बँचाएको कुरासमेत यस भनाइमा लक्षित गरिएको छ । यता हस्तिनापूर राज्यका अधिनायक, महाभारतकालीन कौरव पक्ष्यका नाइके, अन्धा राजा धृतराष्ट्रका जेष्ठ पुत्र, रैतीहरूका लागि नाजवाफ आदेश हाक्ने राजा दुर्योधनको मान-मर्यादालाई संकेत गर्दै ‘मानं चः दुर्योधने’ भनिएको छ । शत्रु र मित्रको भेद नराखी बराबर प्रकाश दिने सूर्य झैं शान्त र धैर्य हुने संकेत दिँदै ‘सूर्यो शान्त बने’ भनिएको छ भने आइपरेमा शत्रुमाथि रुख उखेलेर आक्रमण गर्ने, महाभारतकालीन कूटनीतिज्ञ श्रीकृष्णका दाजु बलरामलाई संकेत गर्दै ‘बलं चः हलधरे’ भनिएको छ ।  यसरी नै कुनै हालतमा पनि सत्यमा आधारित रहने आग्रहसहित सधैं सत्यको पक्ष्यमा रहेर संघर्ष गर्ने र लक्ष्यमा एकाग्र चित्त गरी कहिल्यै झूटो नबोल्ने कुन्तीका छोरा, पाण्डुपुत्र धर्मराज युधिष्ठिरलाई औंल्याएर ‘सत्यं चः कुन्ती सुते’ भनिएको छ । हस्तिनापूरको दरबारमा दासीपुत्र भएका कारण हेय दर्जा दिइएका तर, कूटनीति र राजकाजको क्षेत्रमा उच्च दक्षता राख्ने विदुरलाई लक्ष्य गरी ‘सुज्ञानी विदुरे’ भनिएको छ भने उनकै जस्तो प्रवृत्ति होस् भन्दै ‘प्रवृत्ति भवतान्’ को आव्हानसमेत गरिएको छ ।  यसरी नै सारा योग्यताहरूले भरिपूर्ण, संसारमा सुकीर्ति फैलाउने काम गरी सबैको निकट पात्र बन्नतर्फ उत्साहित गर्दै ‘कृतिस्चः नारायणे’ भनिएको छ । तर आज हामी यिनै आशीर्वादमा आधारित पात्रहरूका केवल नकारात्मक प्रवृत्तिहरू अंगालेर भ्रममा बाँचिरहेका छौं ।

अर्जुनले टाउकोको मणि झिकिदिएका द्रोणपुत्र अश्वत्थामाको अर्धचेतन मष्तिष्क लिएर हामी सामान्य मान्छेहरू जीवन भोग्दैछौं भने राजा दशरथको श्रीपदको लागि जतिसुकै तल गिरेर भए पनि घरसाँढा भई अर्कालाई आदेशमात्र गरिरहेका छौं । राघवका झैं शत्रुनाश गर्न जतिसुकै जालझेल गर्नेहरू थुप्रै छन्  भने राजा नहुसको ऐश्वर्य भोग्ने लालचमा संसारलाई कालो भ्रष्टाचारले गाँजिरहेको  छ । पवनकै गतिमा हाम्रो समाज हानिँदैछ तर, प्रगति, न्याय र उत्थानतर्फ नभई दायित्वबोधबाट पलायित, निरनतर विनाशतर्फ ! दुर्योधनको मान-सम्मानको लोभमा निरीहहरूमाथि सक्दो दमन गर्न हामी उद्यत छौं, मौका परे कमजोरहरूको जरा उखेलेर टक्टक्याउन पनि पछि पर्दैनौं हामी अनि कुरा गर्छौं मर्यादा, सम्मान र प्रतिष्ठाको! सूर्य-शान्तिको नाममा एकोहोरो प्रकाशले कसैलाई जलाइरहेको हाम्रो चेतनाले ठिम्याउन सकेको छैन । हलधर अथवा बलरामको बल आज नाहकमा खेर गइरहेको छ । अन्याय र दमनका विरुद्ध प्रयोग गर्नुपर्ने यो बल आज आपसी झै-झगडा र मारपिटमा खर्च भैरहेको छ । कुन्तीपुत्रको सत्यतालाई आधार गरी हामी ‘अश्वत्थामा हतोहतः’-को नारा दिँदै गुरु द्रोणहरूलाई भ्रममा पारी मुर्छित बनाउँदै मारिरहेका छौं भने विदुरको सुज्ञानलाई स्वार्थ, मोह र विखण्डनतर्फ केन्द्रित गरिरहेका छौं । त्यसैले हाम्रो ‘कीर्ति’ पनि जलन्धरकी अर्धांगिनी वृन्दालाई ‘म नै हुँ जलन्धर’ भन्दै छल गरी पतिव्रत्य डगाउने जाली नारायण अर्थात विष्णुको जस्तै भएर फैलिइरहेको  छ । हामी द्विविधा, संकोच र हिच्किचाहट, संसय र भ्रमको जीवन भोग्दैछौं, दुर्गादेवी र रामको जस्तो दृढतामा परिआएको सामना गर्ने हिम्मत र कर्तव्यबोध हामीमा छैन !

संस्कृति, परम्परा धान्न र मीठो खाएर मोज गर्न वर्षको वर्ष दशैं-तिहार मनाएर पनि प्रवृत्तिगत रूपमा यी पर्व मनाउने साँच्चै भनौं भने हामीलाई अधिकार छैन । किनकि हामीले हाम्रो समाजमाथि भएको अन्याय, दमन र अत्याचारविरुद्ध डटेर संघर्ष गरेका छैनौं । हामीले गलत प्रवृत्तिहरूविरुद्ध विजय हासिल गरेकै छैनौं, त्यसैले विजया दशमीको खास औचित्य हामीबाट पूरा हुन सकिरहेको छैन । यमपञ्चक तिहारको अर्थ खुलिरहेको छैन ।  यसका लागि हामीले जातीय, वर्गीय र क्षेत्रीय तहमा प्रलयकारी, एउटा युगिन सफलता, ऐतिहासिक उपलब्धि हासिल गर्नु पर्नेछ । यो नैतिक दायित्व पूरा गरेपछिमात्र हाम्रो असल विजया दशमी वा खास दशैं आउनेछ । तबमात्र हामी खुशीको उत्सवमा तिहार मनाउन सक्नेछौं । नत्र हाम्रो दशैं-तिहार छैन, अहिले मनाइने गरेको त संस्कृतिको नाममा परम्पराले लादेको बूढो पर्वमात्र हो !!!

3 Replies to “पर्वको परम्परा र हाम्रो सोच”

  1. Hari kancho

    Bhakta ji ko leakh,parba ko parampara ra hamro souch padna paya sarai sandarbik lago.parbako mahathwo ka hoo hamila bujirahaka 6inau.leakh ma sabai britanta lakhnu bayako raha6,new generation ko lagi yoo aatinai sandarbik ra bhujnu parna 6.new generation ko lagi aaninai bhujna sahayog bayako la Bhakta ji lalai leakh ko lagi dhaniyabad.future ma pani naya naya lek rachana padna paiyos…….

  2. sanjay biswakarma

    bhakti ji ramro lageo lekh.hamro pahar ko yad lai taja garayo.tapaiko yo lekh padera malai ghak lageo.lekdai garnu hola

  3. him Gautam

    तपाइले नेपाली टाइप गर्न भनि लिंक दिनु भएका केहि टुलहरू रोमन तो युनिकोड, नेपाली युनिकोड इत्यादी सबै टुलहरू छोटो छोटि कुरा लेख्न, यता उता जादा साइवर आदीको कम्प्युटर चलाउदा निकै सजिलोछ तर स्थाइ र वारम्वार नेपाली चलाउन यसको सट्टा श्थायि रुपले कि बोर्ड ले आउट नै इन्टलेसन गर्नु राम्रो हुन्छ। फेरी नेपाली फन्टहरू कुनै युनिकोडका रहेनछन्। अव हामी विस्तारै सबै काम नेपाली युनिकोडमा गर्नु राम्रो हुने भएकोले मैले तलको लिकमा राखेको प्याकेज डाउनलोड गरी उपर्युक्त स्थानमा राख्नु होला। कृपया मेरो कृतिको दरुपयोग नहोस्।
    डब्लुडब्लुडब्लु.सेनडस्पेस.कम/फाइल/भि६४ई८७ ma

Leave a Reply

Your email address will not be published. Required fields are marked *