अचेल हुँदैछ के तिम्लाई ?
भावना गिरी
क्यानाडा
वैरीलाई मेरो खबर सोध्दैछौ रे
एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे
खुसीभन्दा मेरो नाम रोज्दैछौ रे
आधा रातमा मेरो अँगालो खोज्दैछौ रे।
अचेल हुँदैछ के तिम्लाई ?
हिजो राम्रो भनी आजलाई धिकार्दैछौ रे
रुक्मिणी भुली राधे नै पुकार्दैछौ रे
अहिले छोड्दै ऊ बेला सुइकार्दैछौ रे
भाग्य सम्झी आफ्नै सिरमा हिर्काउँदैछौ रे।
अचेल हुँदैछ के तिम्लाई ?
मेरो माया ती आँखाको नानीमा लुकाउँदैछौ रे
अथाह प्रेमको सागर आफू भित्र सुकाउँदैछौ रे
अतीतलाई अँगाली भविष्यको यात्रा चुकाउँदैछौ रे
सँगै भाकेको देउराली अघि नजर झुकाउँदैछौ रे
अचेल हुँदैछ के तिम्लाई ?
मेरो दर्शन पाउन नरिवल फुटाउँदैछौ रे
आशा मर्यो भनी सिसा झैँ दिल टुटाउँदैछौ रे
सुखी शब्द भाग्यबाट लुटाउँदैछौ रे
साथ रहने अटुट बन्धन चुटाउँदैछौ रे
अचेल हुँदैछ के तिम्लाई ?