निर्देशक समिति अध्यक्षको वक्तव्य

अधक्ष्य: निर्देशन मण्डली
अधक्ष्य: निर्देशन मण्डली

शिवलाल दाहाल
केन्टकी, अमेरिका

आदरणीय परिषद्का सदस्यज्यूहरु, स्रष्टा–सर्जक र जनसमुदायहार्दिक अभिवादन ।

भरखरै साहित्य परिषद् भूटानको ऐतिहासिक सम्मेलन सकिएको छ । यहाँहरू कतिपय यो दुई दिने (जुन, ९ र १०) सम्मेलनमा प्रत्यक्ष सामेल हुनु भयो भने कतिले संसारका विभिन्न ठाउँमा बसेर केही भागहरू सामाजिक सञ्चाल मार्फत हेर्न पाउनु भयो । सम्मेलन कस्तो रह्यो भन्ने कुरा धेरै भनी राख्नु पर्दैन । सम्मेलनमा भएको सहभागिता, प्रकाशित कृति, कार्यपत्रहरूको प्रस्तुति र भूटानको नेपाली साहित्य माथि भएका छलफल र बहसले त्यसको ऐतिहासिकता, गरिमा र औचित्यलाई सहजै पुष्टि गरिदिन्छ । यो एउटा संस्थाका लागि पक्कै पनि गौरव गर्न लायक कुरा हो ।यस सम्मेलनमार्फत आएको परिषद्को कथा सङ्कलन “समकालीन भूटानी नेपाली कथा” भूटानको सन्दर्भमा एउटा महत्त्वपूर्ण कथा–कृति हो ।

यस कार्यमा खट्नु हुने प्रधान सम्पादक श्री यतिराज अजनबी, प्रकाशन सम्योजक रमेश गौतम अनि छापाखानाको सम्पूर्ण काम जिम्मा लिने सर्जक श्री याम थुलुङ धन्य हुनुहुन्छ । यसै सम्मेलनमार्फत कृति विमोचन गराउनु हुने तुम्बेहाङ लिम्बु (किनाराको प्रश्न), गङ्गाराम लामिटारे (तरङ्ग कवितासंग्रह), आभास रिखाम (प्रश्नहरूको पहाड कवितासंग्रह), हिमशिखर (फूलको धार गजलसंग्रह), खेम रिजाल (धुमिल जून कविता सङ्ग्रह), खगेन्द्र भण्डारी (सम्झनामा देश कविता–गजल सङ्ग्रह, प्रतिमान सिवा (म जयमायाको सन्तान कवितासंग्रह), यतिराज अजनबी (अजनबी एल्बम) र मनोज राई (श्रदाञ्जली एल्बम) प्रति धन्यवाद ज्ञापन गर्दै बधाई भन्न चाहन्छु । सायद हाम्रो सन्दर्भमा एउटै मञ्चबाट यति धेरै कृति विमोचन भएको पहिलो परिघटना हो । यस पटक धेरै कृतिहरू आएका मात्रै छैनन्  अत्यन्त पठनीय र स्तरीय कतिहरू आएका छन् । यसबाट यो पुष्टि हुन्छ कि भूटानीहरुको, नेपाली साहित्यमा उपस्थिति बलियो हुँदैछ ।इतिहासको एउटा महत्त्वपूर्ण काल खण्डमा सम्पन्न यस सम्मेलनमा रहेको बृहत् उपस्थितिले पुनर्वासपछि आम जनसमुदायमा देखिएको भाषाप्रतिको चिन्ता र सरोकार प्रस्ट देखिन्छ । सन् १९९३ पछिको एक दशकमा परिषद्ले समाजमा जुन भूमिका निर्वाह गरेको थियो आज समुदायले त्योभन्दा ठुलो अपेक्षा गरेको छ । सम्मेलनबाट प्राप्त भएको ऊर्जा, शक्ति र प्रेमलाई रचनात्मक रूपमा लिँदै भूटानी समाजको अपेक्षालाई परिपूर्ति गर्ने लक्ष्यमा परिषद् सधैँ क्रियाशील रहनेछ । केही समय लाग्छ नै तर त्यो समाज–इच्छा पूरा गरेरै छोड्ने कुरामा हामी प्रतिबद्ध छौँ ।

सबै भन्दा खड्केको कुरा आर्थिक लगानी हो । त्यसमा सबैको ध्यान जाओस् भन्न चाहन्छु ।

आखिरमा परिषद्का बोडका सदस्यज्यूहरु, पदाधिकारी, सदस्यज्यूहरु, आमन्त्रित पाहुना, सर्जक, कृतिकार, संगीतकर्मी, गायक, सञ्चारकर्मी, सामाजिक अभियान्ता, आर्थिक सहयोगी, समग्र सिन्सिनाटी समाज र सम्मेलनमा उपस्थित विशिष्ट व्यक्तित्वहरूमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । सम्मेलन सम्योजनको अविभारा लिनु हुने सर्जक श्री खेम रिजाल, परिषद्को सांस्कृतिक विभागमा रहेर निरन्तर खट्नु हुने गायक श्री मनोज राई र सिन्सिनाटी भूटानी समाजका अध्यक्ष प्रकाश शर्मा, परिषद्का कार्यकारिणी अध्यक्ष श्री भक्त घिमिरे, सचिव श्री रूप पोख्रेल र कोषाध्यक्ष श्री लक्ष्मण भण्डारीलाई निर्देशक मण्डलीको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।

सबैको साथ सहयोग र गरिमामय उपस्थितिले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो ।

धन्यवाद ।

शिव दाहाल
अध्यक्ष
निर्देशक समिति

साहित्य परिषद् भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *