आखिर किन म बाँचे?

कवयित्री
कवयित्री

मञ्जु खड्का
एन्.एच्, अमेरिका

केही शब्द छैन मसंग
ती आमालाई भन्ने
हातमा समाइरहेकी छोरी
प्रकृति नै वैरी भएर
हातबाटै च्वाट्टै चुँडेर
नि:सन्तान बनाएको क्षणमा
म हेरिरहेथेँ
ती आमा
छट्पटाईछट्पटाई रोएर मुर्छा परिरहिथिन्
भन्दै थिइन्
एकाएक कालो भूवँरी आयो
आँखामा तुँवालो लागे जस्तो भयो
हे दैव ! भन्दै छोरीको हात च्याप्प समातिन्
आखिर मभन्दा ठूलो आएपछि
मेरो केही लागेन |

एक्कासी जिन्दगी तहसनहस भयो
मेरोलागि संसार निराकार
बिल्कुल निराकार भयो
मेरो जीवन
शिशामा ढुंगाले हानेर झर्याम्म फुटेसरह भयो
यो सत्यता झूठ होइन
तर मलाई विश्वास लागिराख्या छैन
मेरी छोरी मलाई कतै बोलाइराख्या छिन् होला
आमा आमा शब्द
मेरो कानमा गुन्जायमान भइराख्याछ
कताकता यो शब्द
एक्कासी कानमा परेर
मलाई झस्काइदिन्छ |

ती आमा छट्पटाइरहेको  म हेरिरहेथें
उसो के के भनिराख्या थिन्
एक पलमा मेरो संसार बिलायो
मैंले देखेको ठूलो सपना
मैंले बुनेको नौलो ईच्छा/आकांक्षाको माला
सुनामीको एक छल्काले
सब चकनाचुर बनाइदियो
कोपिलामै
मेरो फुल्ने फूल चुँडियो
कलिलो मुना भाँचिए मात्र हुन्थ्यो
आखिर बोटै उखेलियो
उनी बोल्दै थिइन्
म कस्ती आमा
मैंले मेरी छोरी बचाउन सकिनँ
अभागी म
आखिर किन बाँचे ?

मेरो मुटु कहाँ त्यती दर्बिलो थ्यो र?
बिचरालाई भन्ने
शब्द नै मसंग थिएन
रुँदै बर्बराइराख्या थिइन्
नामनिशाना
चिनोबानो
केही छैन मसंग
न त एक तस्वीर छ
हेरेर चित्त बुझाउँ
न कुनै उसको प्रिय चीज छ
सधैं आफुसंगै राखौं
बरु प्रभु !
तिमीले कसैले कल्याण गर्छौं भने
ममाथि गर
आखिर मेरो हातबाट
मेरी छोरी लाग्यौ
यो फिक्का संसारमा
अब उसो बाँच्नु छैन
मेरो बिन्ती
मलाई पनि मेरी छोरीसंगै लैजाऊ
भन्दै थिइन्
अभागी म
आफ्नै हातबाट मेरी छोरी उछिट्याएँ
तर किन बाँचे म ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *