आत्मा

तारानिधि भण्डारी
सिड्नी, अष्ट्रेलिया

सत्यको पथमा चल्नु, नलाग्नु अरुको पछि
रीसराग अरु डाह गर्नु हुन्न कसै प्रति||

गर्नु चिन्ता व्यर्थ किन केदेखि डर राख्नुछ
मार्दछ कसले कस्लाई, आत्मा अजर-अम्मर |

न काट्छ शस्त्रले हेर न जलाउँछ अग्निले
न गल्छ पानीले त्यो त न हावाले सुकाउँछ |

आत्मा नै रुप हो ईश्वर, सम्झी ध्यान दिने गरौँ
आत्मा कल्याणको निम्ति शुद्ध मन्त्र विचार् गरौँ |

न यो शरीर हो हाम्रो, न हामी त शरीर हौँ
आकाश, पृथ्वी, वायु, जल, अग्नी त पिण्ड हौँ |

दिव्य तेजमयी आत्मा बसेको छ ममा सधैं
ईश्वरको रुप हो त्यो नै भन्ने निश्चय भो भने |

हृदाकाश  हो स्थान नारायण स्वरुप त्यो
सूर्यझैँ चम्किलो ज्योति चम्कन्छ दिनरात त्यो ||

जसरी आइयो खाली त्यसरी नै त जानु छ
कर्म शुद्ध गरी राखौं नत्र यो त अनर्थ छ |

यो देश मेरो हो भन्छौं, हिजो अरु कसैकोथ्यो
कसको हुने हो भोली, व्यर्थमा मेरो हो भन्दछौं |

ईश्वर नामको ध्यान, स्वरुप सम्झने गरौँ
आनन्द त्यसमा नै छ, संकीर्तन सधैं गरौँ ||

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *