आभिनय नगर्नु

प्रदीप लोहागुन
कालेबुङ, भारत Pradeep Lohagun

आगोसँग खेल्न नसक्नेहरुले
सपना नदेख्नू-
कसैलाई सपना पनि नदेखाउनू ।
बाटो बनाउँदै हिँड्न नसक्नेहरुले
लक्ष्य नतोक्नू-
कसैको पथप्रदर्शक पनि नबन्नू ।
हुँकार त जसले पनि पिट्न सक्छ
सानो दह देख्दै तिघ्रा कमाउनेहरुले
सागरबाट मोती टिपेर ल्याउँछु नभन्नू ।
क्रान्ति भनेको कोरा भावुकता होइन साथी,
यो त निर्णय हो, समर्पण हो ।
शत्रुले एम्बुस थापेको खबर सुन्दै
सातो उड्नेहरुले
युद्धको घोषणा नगर्नू-
अरुलाई युद्धमा होम्मिन आह्वान पनि नगर्नू ।
बन्दीकी आमाको विज्ञापनले
कति दिन चल्छ तिम्रो ‘कर्पोरेट हाउस’?
टीआरपी बढेको झूट्टो प्रचार नगर्नू
टिभीको कुनै रियालिटी-शो होइन आन्दोलन
घरि घरि कमर्सियल ब्रेक नलिनू ।
सरकारले सानो सिर्कुना उज्याउँदा
मुटु कमाउनेहरुले-
बाघको अभिनय नगर्नू ।
सपना तुहिएका आँखाहरुले
कुनै दिन सोध्लान् प्रश्नहरु,
कुनै दिन माग्लान् बन्दीकी आमाको
बिमा पोलिसीका पेपरहरु !
शहीदले खोज्लान् रगतको मूल्य
तराई-डूवर्सले खोज्लान् सिमानाको धर्का
गोर्खाले खोज्लान् ठेगानाको तमसुक-
तिमीले सही सही जवाफ दिनू ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *