एउटा झुल
गोविन्द लुइँटेल ‘यार’
ओहायो, अमेरिका
एउटा झुल:
न समात्न सकिन्छ
न प्रयोग गर्न सकिन्छ
झल्किन्छ, हल्लिन्छ तर पोखिँदैन
सल्किन्छ, पल्किन्छ तर जोखिँदैन
दुनियाँ खोज्छ आकाश-पाताल
समय खोज्छ तलातल भेटिँदैन
एउटा झुल!
एउटा झुल:
हाँसेर पनि मासिँदैन
नाँचेर पनि गाँसिँदैन
जब लाग्छ तब जोस भाग्छ
जब जाग्छ अनि सिमाना नाग्छ
शङ्का त हुन्छ, साबित हुँदैन
घृणा त गरिन्छ, मायाले छुँदैन
एउटा झुल!
एउटा झुल
जहाँ आनन्दको सट्टा हल्ला छ
जहाँ सङ्घर्षको सट्टा बद्ला छ
गीत गाइँदैन यसमा कथा भनिन्छ
खेल खेलिँदैन यसमा व्यथा ओकलिन्छ
नाफा बेचिन्छ यहाँ नोक्सान छरिन्छ
अड्कल गरिन्छ यहाँ हरपल नै गरिन्छ
एउटा झुल !