एउटा सपना

अजित रूपाबुङ
अमेरिका

बगैँचाका फूल, फुल्न छाडे पछि
मल जल गर्ने मालीले नै उखेलेर फ्याँकी दिन्छ
म कसैको बगैँचामा फुल्ने फूल बन्न चाहन्न
बरु
ऋतुको राजमा फुल्ने
स्वतन्त्र जङ्गली फूल बन्न चाहन्छु।
हलो तान्ने बफादार राँगा, हलो तान्न नसक्ने भए पछि
नुन भूस खिलाउने हलीले नै हटिया लगेर
मार हान्छन्
अङ्ग प्रत्यङ्ग जोखेर बेच्छन्
भुटुवा चाख्छन्
म त्यो बफादार राँगा बन्न चाहन्न
बरु
स्वतन्त्र चरी हिँड्ने
जङ्गली मिथुन बन्न चाहन्छु।
म घरबाट आउँदा जसरी उन्मुक्त थिएँ
घर नफर्कुञ्लेल
उस्तै उन्मुक्त भएर विचरण गर्न चाहन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *