छोरीप्रति
शिवलाल दाहाल
विर्तामोड
आस्था— मेरी छोरी
तिमी जन्मियौं
फूल फुलेका बेला,
वसन्तवागमा
एउटा सानो पिपिरा
तर कति छ उत्साह,
कति छ अभिलासा
फक्रिने र फुल्ने
सँगाल उत्साह
सँगाल जिज्ञासा
सँगाल तृषणा
सब थोक चाहिन्छ
तिम्रो विच्यौना नजिकै
एउटा सानो छिँडी छ
जहाँबाट –
घामको एक छेउ
जूनको एक पाउ
सजिलै देख्न सकिन्छ
हावाको झोक्का सजिलैसंग
भित्र पसिदिन्छ र
फक्रन्दै गरेको तिम्रो मुस्कान फुस्काउन खोज्छ
यो झुपडीको सौन्दर्य हो
हरेक पल्ट मैले हेर्दा
तिम्रा आँखाले केही खोजिरहेको हुन्छ
खोज, खोज्नु पर्छ
संसारमा धेरै थोक छ
यो अनन्त भूगोल
यो अनन्त ब्रम्हाण्ड
तिम्रा आँखामा अटाउनु पर्छ
खुब रम,
आमाको काखमा
आमाको प्यारमा
रचना: असार १० गते, २०६९