छ्योडेन छेत्री

मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो Uttam Rai

 

छ्योडेन छेत्री-
दोस्रो न्वरान
90 को दशकमा गरेको हो उसले !

मानवाधिकारका परेवाहरू
आकाश ढाकिन्जेल उडेको हो
तर बिडम्बना!
ड्रयागनको हैकमवादले
एउटै बस्न पाएन
र त दोहोरियो न्वरान
छ्योडेन छेत्रीको. ….

बासमतीका बालाहरू
दक्षिणै ढाकेर झुले पनि
सुगन्धले राजधानी भरिएको हुन्छ
होइन भने,
के छ त्यस्तो बाध्यता छ्योडेन छेत्रीहरूलाई
बासमती फलाएर
च्याख्ला चपाउनुपर्ने ???

‘ग्रोस नेशनल ह्याप्पीनेस’ को
चाल्नो जस्तै छाता
शिर ढाकेर हिँडिरहन्छ
छ्योडेन छेत्रीहरू सँग सगैँ…

विश्वले खिचिदिन्छ तस्वीर
हाँसिदिन्छन् छ्योडेन छेत्रीहरू
फरक यति हो
दुःखको आँधी बेहरी
अनि-
पीडाको बाछिटा
खप्नै सक्दैन-
‘ग्रोस नेशनल ह्याप्पीनेस’ को महान छाताले

छ्योडेन छेत्रीहरू,
मुस्कुराउदै रोइरहेछन्
हाँस्दै दुखिरहेछन्
मरेर बाँचिरहेका छन्;
विश्व क्यामेराको जुमिङ पावरले
यतिको त स्पष्ट देख्नुपर्ने हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *