जो स्मृतिमा मात्र बाँचिदिएका छन् !

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

तिमी स्वप्नालोकमा विराजमान हौला
हामी यो पृथ्वीको गोलचक्रमा छौँ
जानेबाटो एउटै हो
मात्र तिमी अघि भइदियौ !

एउटा भारी मन बोकेर
तिम्रो यात्राको कथा लेख्न बसेको छु
खाली खुट्टाले नै तिमीले
जिन्दगीको काफी यात्रा गर्‍यौ
काँडाहरुलाई तिमीले काँडा सम्झिएनौ
फगत हिँडिरह्यौ हिँडिरह्यौ
एउटा महान् यात्रा !

तिमी किसानको छोरो !
तिम्रो दिनचर्या सुरु हुन्थ्यो
बारीबाट भर्खरै टिपेर अगेनाका डिलमा सेकाएका सुर्तीका पात
खोसेलामा बेरेर धुँवाको सर्को तान्दै
फिक्का चियाका डबका पेटमा भरेर
भालेको प्रथम डाकसँगै !
अगेनाको ढिलामा चिलाउनेका दाउराको धुँवा र खरानीको फूल
तिमीले कति खायौ कति
एउटा जीनको सुरुवाल र कमेजले
कति सालको सिरेटो र झरी टार्यौ

खुटाले चप्पल र जुत्ताको कहिल्यै माग राखेन,
कट्टुस र मैदलका काँडाले खै के गर्‍यो र तिमीलाई ?
थाँदोखा र मेन्चुको भिर होस् कि, सेखा डाँडाको लम्पट
फेदीको बगर होस् कि दुम्तेको उकालो
तिम्रा कर्मशील खुट्टाले जुत्ता कहिल्यै मागेन
खाली खुट्टाले नै जिन्दगको काफी यात्रा गर्यौ !
खोला, खोल्सा र खाँदहरु
उकाली, मैदान, पहाड
लेक, बेँसी, र समथर भूमिहरू
खेत, बारी, बगरहरू
अनेक घूम्ती र गल्छेँडाहरू
तिमीले काफी यात्रा गर्यौ

म जस्तो विश्वविद्यलय गएर तिमी बेकुफ भएनौ
जंगली पातमा लेखेर अक्षरसम्म सिक्यौ
र पढ्यौ रामायण र महाभारतको कथा
तिमीले जंगली काँडा र फूलहरु हेरेर जीवन दर्शन सिक्यौ
घडीको काँटा गनेर समयबोध गर्नु परेन तिमीलाई
समयवोध गर्न घाम, जून र ताराहरू नै काफी थिए
कागजमा कोरेर तिमीले समय तालिका बनाउनु परेन
तिम्रो समय तालिका प्राकृतिक थियो
खेत बाँजो मार्न, आली काट्न, बियाड राख्न, धान रोप्न
मकै छर्न, कोदो रोप्न, फापर छर्न, दाइँ गर्न
तिमीले कतै तालिक केन्द्र धाउनु परेन
वषौँ लगाएर, उपकरण खोजेर तिमीले माटाको परीक्षण गर्नु परेन
माटो, मौसम र वातावरणको प्रयोगशाला नभएर के भो त ?
तिमीलाई जलवायु र मौसमको भरपूर ज्ञान थियो
तिमी बुझ्थ्यौ प्राकृतिक गुण–अवगुण
तिमी बुझ्थ्यौ नैसर्गिक नियम र सिद्धान्त

तिम्रा शैशवकालका काफी दिनहरू
ती हरिया वनपाखा र गाई–गोठहरुमा बितेका थिए
कहिले पागेप, कहिले लोसे, कहिले मेन्चुचोक
कहिले यावेना, कहिले डाँडा चोक, कहिले खोलाखर्क
तिमी गाई–वस्तुका पछिपछि लागेर,
डाले हान्दै, घाँस बटुल्दै, जङ्गल पन्छाउँदै
कति हिँड्यौ कति हिँड्यौ
प्रकृतिको अनन्त विस्तारमा तिमी रमायौ
त्यसैले त तिमी बुझ्थ्यौ प्रकृतिको भाषा
आदिमताको आवाज
डाँडापाखामा ठोकिएर हुने प्रतिध्वनित गुञ्जनहरु
कोलकोलेका बिरही भाका, न्याउलको बोली र ढुकुरका कुर्लनहरु

पिठ्यौँमा सुन्तलाको भारी बोकेर
तोक्मा टेकाउँदै
एकै दिनमा कैयौ डाँडा काटिदिन्थ्यौ तिमी
शारदीय जूनेलीरातमा हसिया लिएर हिँडेपछि
खेतभरि धानको निन बिछ्याएर
बिहान आमाले पुर्याइदिएको फिक्का चियाको सर्को तान्दै
ढुङ्गामा बसेर थकान मट्थ्यौ
र कल्पनालोकमा हराउँथ्यौ तिमी…..
थाँदोखाको डाँडाबाट बिस्तारै झर्दै गरेको घाम
जब ती खेतका गराहरुमा फैलिन्थ्यो
र सुन्थ्यौ सामसु खोलाका प्रतिध्वानिहरु
बिउँझन्थे तिम्रा अनन्त नैसर्गिक कवि भावहरु
र पोखिन्थे खेतका गराभरि
शीतका लहरहरुमा मुछिएर बेग्रल्ती
तिमी लेख्थ्यौ कविता
शीतका मसीले जंगलीपातहरुमा

लेखेको टर्दैन भन्थ्यौ नि तिमी !
आखिरी जीवनको अन्तिम सत्य त्यही नै रहेछ
तिमीलाई रोगले नराम्रो गरी सतायो
तिमी मुस्किलले हिँडडुल गर्थौ
तर तिम्रो स्मृति उस्तै तेजिलो थियो
उही मलिम बोली, उही स्नेहसिक्त आँखा
उही कलुशशन्य ह्रदय………
तिमी बेलाबेलै सुनाउने गथ्र्यौ वाल्यकालीन स्मृति–कथाहरू
वाल्यकालका रमाइला क्षणहरु
अँ तिमी भन्थ्यौ नि गाउँमा तर्साउन हिँडेको
आफैँलाई तर्साएपछि आत्तिर फाल्हान्दा
भर्याङ् खेतमा तीन गरा मुनि झरेको
यावेनामा एकासी राती सोक्पा आएपछि
गाईबाछाहरु अतालिएको, रातभर धुनी तापेर बिताएको
छिप्छिपेमा भूतले विधोत मच्चाएपछि राति नै बासछोडेर भागेको
तिमीसँग कथा हाल्ने विचित्र कला थियो
त्यो नालुङ खोला, त्यो बिमिरे खेत
त्यो हाम्रो घरबारी, त्यो पागेप
त्यो थाँदोखा, त्यो मेन्चुचोक सबका
एक एक कथाहरू थिए तिमीसँग
हामी अभिभूत भएर, तिम्रा कथाहरू सुन्थ्यौ
बेला बेलै तिमी भन्ने गथ्र्यौ नि
‘जिउँदो हुँदा त त्यही बाटो हिँडेको हो’
त्यसभित्र कत्रो दर्शन छ, कत्रो पीडा छ !
म बेलाबेलै सम्झिन्छु यो वाक्यांश
र आँसुमा डुब्दछु

अब तिमी रहेनौ !
संसारको रित भनौ वा हाम्रो दुर्भग्य !
मात्र हामीसँग छ तिम्रो स्मृति
तिमी सम्झाउने गथ्र्यौ ‘सहीसिद्धि ठुलो’
‘बाँचेदेखि संसारदेखिन्छ’ ‘भनी नबिराउनु’
‘ठुला मानिसका ह्रदयमा धेरै कुरा अँट्तछन्’
यही थियो तिम्रो आर्दश र जीवन दर्शन

तिमी स्वप्नालोकमा विराजमान हौला
हामी यो पृथ्वीको गोलचक्रमा छौँ
जानेबाटो एउटै हो
मात्र तिमी अघि भइदियौ !
आखिर मानिसले एक दिन न एक दिन
अविधितको यात्रा गर्नै पर्दारहेछ
यही सम्झिएर, चित्त बुझाउँनु छ
अनेक सम्झना र बन्दना तिमीलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *