तिमी देश बन्न सक्छौ भने
रमेश गौतम
नर्वे
तिमी देश बन्न सक्छौ भने
आऊ
म तिमीलाई
चुम्छु
अङ्गाल्छु
र
तिमीमै समाहित हुन्छु।
तिमी देश बन्न सक्छौ भने
आऊ ….
म मेरो उर्वर रगत
म मेरा प्रत्येक थोपा पसिना
तिमीमा पोख्छु
र तिमी “खुसी” बाँचेको हेर्छु।
म मेरो आफ्नो जीवन
तिम्रा निम्ति बाँच्छु
म आफू आजीवन
तिम्रा काखमा नाच्छु
र गौरवान्भित बन्छु –
म देशसँग छु।
तिमी देश बन्न सक्छौ भने
आऊ ….
यो देशको भोकोलाई
यो देशको प्यासीलाई
तिमी देश बनेर
खान देऊ
पिउन देऊ
धीत मर्ने गरी।
म तिमीलाई खाएर
आफूलाई महान् सम्झन्छु
म तिमीलाई पिएर
आफूलाई अजेय सम्झन्छु
साँच्चै तिमी आऊ।
तिमी देश बन्न सक्छौ भने
आऊ ….
म तिमी हाँसेको देख्न चाहन्छु
म तिमी सभ्यताले पोतिएको हेर्न चाहन्छु
तिम्रो मुक्तिका खाँतिर
म आफूलाई
बलि चढाएर हेर्न चाहन्छु;
तिम्रा शताब्दीयौँदेखिका तीता अनुभूतिहरू
पोल्न चाहन्छु
नास्न चाहन्छु
र तिमीलाई
मुस्कुराएको हेर्न चाहन्छु।
तिमी देश बन्न सक्छौ भने
आऊ ….
म तिमीलाई चाम्लिमिथाङ्को मैदानमा
आलुदोर्जी – फुन्छोदोर्जीले
अङ्गालो हालेको देखाइदिन्छु;
हर देउरालीहरूमा
जिग्मी पाल्देनहरूले
महासुरहरूसँग
हात मिलाएको देखाइदिन्छु;
साँच्चै
आफ्नो शासनको स्वर्णमहोत्सवमा
जिग्मीसिङ्गेहरूले
टेकनाथहरूलाई
सिन्दूर लगाएको देखाइदिन्छु।
हो त
तिमी देश बन्न सक्छौ भने
आऊ ….
रचना: ३१ जनवरी २००२
हात्तिसार, धरान