तिम्रो अनुपस्थिति – १

रमेश गौतम 
नर्वे 

जब
तिम्रा अर्धमुदित ओठहरूबाट
मुस्कान हराउँछ
र तिमी अपरिमित पीडामा डुब्छ्यौ….
एक हुल जङ्गली जनावरहरू
बुर्कुसी मार्दै आउँछन्
र चिथोर्न थाल्छन् मलाई।

तिनीहरू आफ्ना धारिला, तिखा नङ्ग्राहरूले
मेरा अङ्गप्रत्यङ्ग यसरी लुछ्छन्
कि मानौँ
मेरो शरीरका अङ्गहरू अब मसँग छैनन्।

जब ती नङ्ग्राहरू मेरो हृदयतर्फ फैलन्छन्
म आत्तिन्छु
म कहालिन्छु
म बेहद दर्दले च्यातिन्छु
र चिच्याउँछु बेजोडसँग
ता कि
फुटिदेओस् यो दुनियाँ
चिरा चिरा भएर…
मेरो हृदय मेरो हृदय मात्र होइन
यो तिमी बस्ने सिंहासन पनि हो।

कसैले च्यातिदेओस् मेरो काय
धुजा धुजा बनाएर….
अहा कति मिठो हुन्थ्यो होला त्यो पल !
शरीरका धुजाहरूले
सायद
महसुस गर्न सक्दैनन् कुनै तुफान
अनुभूत गर्न सक्दैनन् कुनै चट्टानी प्रहार।

तर
कसैले नछोइदेओस् मेरो हृदय
जहाँ मैँले
आफैँलाई भन्दा बढी माया गर्ने एउटी परीलाई
लुकाएर राखेको छु कसैले नदेख्ने गरी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *