तिम्रो तस्बिर
रमेश गौतम
नर्वे
आज फेरि
त्यो पुरानो तस्बिरमा
तिमीलाई पल्टाइपल्टाई हेरेँ।
र
यो क्रम
चलिरहेछ लामो समयदेखि !
अर्थात्
यो बहुलट्ठीपन
बाँचिरहेछ लामो समयदेखि !!
धेरै वर्ष पहिले
मैले तिमीसँग
एउटा तस्बिर मागेको थिएँ-
एउटा सामूहिक तस्बिर
जहाँ
तिमी अलिकति मुस्कुराएकी थियौ
खै किन हो उति बेला
तिमीसँग
तिम्रो एकल तस्बिर माग्न
आँट नै आएन ।
यो त एउटा बहाना मात्र थियो
तिमीलाई तस्बिरमा लुकाउने !
तर मसँग
तिम्रा अरू अनगिन्ती तस्बिरहरू थिए
मेरा आँखाले सुटुक्क चोरेका ती तस्बिरहरू
जतनसँग लुकाएर राखेको थिएँ
कसैले नदेख्ने गरी
हृदयको त्यो सिंहासनमा
जहाँ भगवान् पनि बस्ने गर्छन् रे !
तिम्रो त्यो तस्बिर
र तिम्रा ती तस्बिरहरूमा
एउटा शालीन अनुहार थियो
हेरिरहूँ जस्तो
जिज्ञासु नयनहरू थिए
केही सोधिरहे जस्ता
अनि थिए
मसँग कहिल्यै दोहोरो बात नगर्ने
ती अर्धमुदित ओठहरू
जो नबोलेरै
मेरो अर्धचेतन हृदयसँग
सम्वाद गरिरहन्थे
धारा प्रवाह
हरपल-हर क्षण-निरन्तर !
जब मैले तिमीलाई
तस्बिरहरूमा स्थानान्तरित गरिदिएँ
दैनिकी यति सहज भयो कि
मानौँ
प्रत्येक बिहान
म तिमीलाई बोकेर हिँड्थे
आफ्ना मदहोश नयनहरूमा
र धीत नमरुञ्जेल हेरिरहन्थेँ
तिमीलाई
एकोहोरो
सडक अनि गल्लीहरूमा
बाटो अनि गोरेटोहरूमा
भन्ज्यांग अनि चौतारीहरूमा
यत्रतत्र-सर्वत्र !!
सूर्योदय हेर्ने निहुँमा
एकाबिहानै बाहिर निस्कन्थेँ
र एकोहोरो नियालिरहन्थेँ
पूर्वी क्षितिजतिर ।
रातो घुम्टो ओढेर
तिमी टुप्लुक्क उदाउँथ्यौ ।
जसरी मुलायम सुरजको
पहिलो स्पर्शमा नै
बिलाउन थाल्थे ठिहीका शीतहरू
त्यसरी नै
बिलाउन थाल्थे
मेरो हृदयमा जमेका
बरफका ढिक्काहरू
र म
अनुभव गर्थेँ
अपरिमित शीतलता
एउटा अनौठो रोमान्च!!
दिउँसो
जब छिप्पिँदै जान्थे
सूर्यका मुलायम किरणहरू
तापक्रम यति बढ्थ्यो
कि मानौँ
तालु पग्लँदै छ
र पसिना भएर
बगिरहेछ शरीरभरि।
बल्थे
सडक किनारका
गिट्टी र ढुङ्गाहरू
अनि पग्लन्थ्यो
सडक पनि
र बाफ भएर निस्कन्थ्यो
अनन्तताको यात्रामा।
त्यही सडकको छाती टेकेर
खाली खुट्टै हाड घोटिरहेका
कुल्लीहरूको
पैतालाको बाटो भएर
हृदयसम्म पुग्थ्यो
अग्नि ज्वाला
र पिसोल्ट्याउँथ्यो त्यो कोमल मुटु
जसरी
त्यही सडककिनारमा
नाङ्ग्ले पसल थापेकी थरुनी दिदी
पिसोल्ट्याउँथिन् हरिया मकैहरू।
त्यही पग्लँदै गरेको सडकमा
प… र कतै
परावर्तित गरेर मरुद्यानको सुन्दरता
एउटा प्राकृत पोखरी मुस्कुराउँथ्यो।
त्यही पोखरीको छेउमा बसेर
पङ्खा हल्लाउँदै
नाचिरहेकी तिमीलाई देख्थेँ म।
तिम्रो पङ्खा हल्लाईले
शीतल हुन्थ्यो सडक
अझ शीतल हुन्थ्यो मेरो हृदय
अनि
म दगुर्थेँ तिमीलाई भेट्न
एउटा कहिल्यै नसकिने मृगमरीचिका !!
गल्लीहरूमा
निरूद्देश्य हिँडिरहेको बेला
पहेँलपुर फुलेका तोरीका फूलहरूमा
तिमीलाई देख्थेँ
तिम्रै वरिपरि झुम्मिएर
पुष्प मधु बटुलिरहेका
मौरीहरूको गुञ्जनमा
तिमीलाई सुन्थेँ
लाग्थ्यो
तिमी पुष्पको गीतमा
महको सङ्गीत भरिएकी
एउटा धुन हौ
कर्णप्रिय !
मनमोहक !!
प्रत्येक रात
धमिलो आकाश फाटेपछि
जूनले छरेको
शीतल प्रकाश हेर्न मन लाग्थ्यो मलाई।
जब बाहिर निस्कन्थेँ
एकाएक परिवर्तित हुन्थ्यो
बादलको गतिकी
हावाको कुची बोकेर
अनन्त आकाशको क्यानभासमा
बादलका रङहरू पोत्दै
कलासधनामा लीन हुन्थ्यो
एउटा अदृश्य कलाकार।
एकै छिनमा
जूनको निषिद्ध आभा हेर्न बसेको म
मलाई नै हेर्दै
मुस्कुराइरहेकी तिमीलाई देखेर
बिर्सिदिन्थेँ जूनलाई !
बिर्सिदिन्थेँ उसको शीतलतालाई !!
बिर्सिदिन्थेँ उसको सुन्दरतालाई !!!
उति बेला
पटक्कै लागेको थिएन
यो युगको विकास यो गतिमा हुनेछ
लागेको थियो
कि तिम्रो त्यो तस्बिर
सम्झनालाई पुनर्जागृत गर्ने
अन्तिम औजार हुनेछ मेरो !
अन्तिम चिनो हुनेछ तिम्रो !!
आज यहाँ
पहेँलपुर फुलेका
तोरीका फूलहरू छैनन्
मौरीका गुञ्जनहरू पनि छैनन्
घाम र जूनको
उदाउने-अस्ताउने
समान नियमितता पनि छैन
तर
जब म तिमीलाई सम्झन्छु
फुस्फुसाउँदै गरेको सेतो हिउँ
एकाएक
रुपान्तरित हुन्छ
श्वेतकमलमा
र फैलन्छ सुगन्ध दूरदूरसम्म !
जब म तिमीलाई सम्झन्छु
नजिकैको झाडीबाट
नाच्दै निस्कन्छन्
मृगशावकहरू
तिनीहरू कै चालमा उफ्रँदै
आउँछौ र गायब हुन्छौ
अनि फेरि
आउँछौ र गायब हुन्छौ
मृगलोचना तिमी !!
आज फेरि
त्यो पुरानो तस्बिरमा
तिमीलाई खोजेँ
अब त तिम्रो तस्बिर
कहाँ पो छैन होला र !!

तपाईं राम्रो लेख्नुहुन्छ रमेशजी🙏🙏