त्यो कालो रात

कवि
कवि

ईश्वर प्रवासी
अमेरिका

त्यो कालो रात !
हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात ।
जुन रात मेरो सिउँदो पुछिएको थियो
मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो
अनि मेरो निरीह शरीरमाथि पौडी खेल्न
मेरो अस्मितामाथि कौडी खेल्न
क्रुर सामन्त अनि निरंकुशताको विल्ला भिरेका यौन पिपाशु लम्किरहेका थिए
मलाई पालै पालो झम्टिरहेका थिए ।
त्यो कालो रात !!

वहाँ देशका निमित्त बलि हुनु भो
त्यो कालो व्यवस्थाको हलि हुनु भो
किनकि आमा रोएको हेर्नु पाप हो
अन्याय-अत्याचार सहनु अभिशाप हो
त्यसैले त वहाँ जानु भो
देशको मट्टी खानु भो ।
वहाँको अन्तिम इच्छा के थियो
त्यो मैले सुन्न पाइँन,
वहाँका राष्ट्रप्रेमी शब्द मनमा उन्न पाइँन
किनकि, ती भोका गिद्धहरु चम्किरहेका थिए
मेरो निर्जीव शरीरतर्फ लम्किरहेका थिए ।
त्यो कालो रात !!!

वहाँले छाडेर जानुभएको नासो
आज जन्मभूमि त्यागेर बन्या छ मेरो पासो
स्वदेशलाई लात हान्दै समुन्द्र त-यो
बाँचेर पनि धर्तीमा पटक पटक म-यो ।
अनि आफ्ना पिताको रगतले सिँचेको माटो
भुलेर अंगाल्यो पलायनको बाटो ।
आफ्नो संस्कार र रीतिलाई सबै तोड्यो
नाता रहेन देशको, अब त आफ्नो धर्म नै छोड्यो ।
नरसंहार भयो मेरो, जहाँ भयो इज्जतको लिलामी
बाँचेर पनि म, आफ्नै ज्यूँदो लासको गएँ मलामी ।
त्यो कालो रात !!!

[ सम्पूर्ण ज्ञात तथा अज्ञात शाहिदहरुमा समर्पित- कवि ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *