“नभएसम्म डिट्रोयट” र “गल्लीगल्लीका गीतमा” बरालिँदा
शिवलाल दाहाल
कसैका नजरमा नपरेको
हिजो लोहारको हिकाईमा
हम्मरको चुटाइमा
थिलथिलिएर भासिएको अलिकति माटो हुँ म
(नभएसम्म डिट्रोयट कवितासंग्रह, पृष्ठ ५५)
माथिको कवितात्मक अंश गत महिना (मई १९, २०१७) अमेरिकाको ओहायो राज्य अन्तर्गत, क्लिबल्याडमा विमोचित कविता कृति “नभएसम्म डिट्रोयट”बाट लिइएको हो । यसले शासन, सिमान्तीकरण र अस्तित्वको विषयलाई बयान गर्दछ जो हाम्रो विगत र वर्तमानको यथार्थ पनि हो । चाहे त्यो राजनैतिक होस् कि साहित्यिक । थोरैमा धेरै भन्नु कविताको विशेषता हो । भानुका कविता यस्तै बिम्बमय र प्रतीकात्मक लाग्दछन् । उनी कवितामार्पmत विगतलाई बिउँत्याउँदछन्, बिर्सन लागेको अतीतको यादलाई पुनरोत्थान गर्दछन् ।
कुनै दिन साम्चु किनारमा गाई चराउने भानु ढुङ्गाना अचेल कविताको सुइसुइला बजाएर क्यानाडाको डिट्रोयट नदी किनारका राजहाँस हच्काउँछन् । त्यही डिट्रोयट नदी किनारमा उभिएर उनी अतीत र वर्तमानलाई जोड्न खोज्दछन् । कहिले उनी खरानीको खेती गर्दछन् त कहिले अन्धविश्वासको, अनि त्योभन्दा बढ्ता चाहिँ आशा र उत्साहको पनि । उनका कवितामा भावनात्मक आग्रह जति छ त्यती नै विचार र चिन्तनको विस्तार पनि छ । क्रार्यक्रममा उनी भन्दै थिए ‘म भाग्य लेख्न विर्सिएको मान्छे ।’ भाग्य लेख्न विर्सिएको नहोला सायद भाग्य लेख्न पर्खिएको रहेछ समयले र जीवनको चार दशक पार गरिसकेपछि कविताको व्योममा उनी क्यानाडाबाट झल्किदिए ।
ठेगानबिनाको जीवनमा
ठहरबिनाको पीडा हुन्छ
यसै भन्न सकिन्न
मान्छेले जीवनमा कहिलेकाहीँ
नसोचेकै पनि बेहोर्नै पर्छ
(ठेगानबिनाको जीवनमा, पृष्ठ ६७)
यस्ता तेजिlaa कविताहरुको संगालो ‘नभएसम्म डिट्रोयट’मा जम्मा २९ कविता संग्रहित छन् । मात्रै ७९ पृष्ठंमा संरचित यो कवितासंग्रह काठमाडौँको डिस्कोर्स पब्लिकेसन मार्पmत निस्किएको हो भने विमोचन चाहिँ गत महिना अमेरिकाको क्लीबलेन्ड हाइट्मा भएको थियो ।
कवि भानु ढुङ्गानाको कृतिसँगै विमोचन भएको अर्को कृति हो तीलारुपा आचार्य (अधिकारी)को ‘गल्लीगल्लीका गीत’ । कवियित्रीले गल्ली–गल्लीका गीत भनेपनि विविधताको व्यञ्जना बोकेका कविता हेर्दा लाग्छ उनका कवितामा सडकको विस्तार छ । दुई दशक लामो समय कविता साधनामा लोगेकी तीलालाई कविता लेखन धावनमार्गको दौड् जस्तो लागेन छ क्यार । त्यसैले कवितामा निकै परिस्कार र परिस्कृति दिन भ्याएकी छन् । सरलता, सहजता र संप्रेषणीयता उनका कवितात्मक गुण हुन् ।
यी कविता यात्राका कविता हुन् । त्यो यात्रा जन्मभूमि भूटानदेखि आरम्भ हुन्छ, नेपालको शरणार्थी शिविरमा बिश्राम गर्छ लगभग दुई शसक जति – बाटो हराएर, बाटो अल्मलिएर अनि कालान्तरमा कोलम्बसका पाइला छाम्दै अमेरिकाको ओहायोसम्म आइपुग्छ – त्यो यात्रा । त्यसकारण यी कविताको धरातल त्यही यात्रा र बिश्राम, मानवीय पीडा, नारीवर्गका समस्या, प्रेम र उन्मुक्तिको चाहना हो ।
उनका कवितामा निम्नवर्गीय पात्र र नारी चरित्रका अतृप्त आकांक्ष, गरिवी, दुःख, पीडा, निराशा र समस्याग्रस्त जीवनको चित्रण छ । यी कविता समस्याहरु देखाउन मात्र सिमित छैनन्, तिनले शिक्षा र चेतनाको विकासमा पनि जोड्दिएका छन् । सामाजिक विभेद, परम्परागत सोच, संकुचित सामाजिक परिपाठी उनका कविताको विद्रोहका निसाना हुन् ।
एक हाते फरिया
एक बित्ते चोलीमा
कसरी सधैँ मलाई
छोपेर राख्न सक्नुहुन्थ्यो र ?
मेरो मनको वेगलाई
कसरी छेक्न सक्नुहुन्थ्यो र ?
मेरो बैँस लुकेर
कसरी बस्न सक्थ्यो र ?
(उन्मुक्त आशाहरु, पृष्ठ ६७)
नारीवर्गको स्वाधीन अस्तित्व र प्रगतिका पक्षमा वाकलत गर्ने यो कविता निकै धारिलो छ । तर उनको विद्रोह सम्यमित देखिन्छ, उत्तेजनापूर्ण होइन । फुलमायाको ‘एउटा दुःखने पाटो’ मा कवियित्रीको आग्रह छ फूलमायाहरुलाई अतीत जति दुःखे पनि, आशा र उत्साहको खोजी गरेर प्रगतिको बाटो पहिल्याउनु पर्छ ।
सफलताका सिँढीहरु
चढ्दै जाँदा
कता–कता पूmलमायालाई
त्यही एउटा पाटोले
अलमल्याई दिन्छ ।
(फूलमायाको दुःखने एउटा पाटो, पृष्ठ ८२)
संक्षेपमा भन्नु पर्दा तीलाका कवितामा नारीवादी चिन्तन, मानवतावादी स्वर, मानवीय प्रेम र समसामयिक युग–चेतनाले फैलने अवसर पाएका छन् । साहित्य परिषद भूटान र डिस्कोर्स पब्लिकेसनले संयुक्त रुपमा प्रकाशन गरेको यस संग्रहमा जम्मा ४८ वटा कविता छन् भने पुस्तकमा कुल पृष्ठसंख्या १५९ रहेको छ । भूटानको साहित्यिक फाँटमा नारी स्रस्टाहरुको खडेरी परिरहेको समयमा तीलाको उपस्थितिले अरु लेखकहरुलाई पनि लेख्न प्रेरणा प्रदान गर्ने छ, गर्न सकोस् ।