पानीको दहमा देखिएको अनुहार

शिवलाल दाहाल
केन्टकी, अमेरिका

आज धर्तीले भारी बिसाएको छ
र आङ कन्याएको छ
धेरै लामो यात्रापछि छलामछिनको वरपिपल चौतारीमा
यहाँ म जमानाम सुनतोलाको भारी बिसाएर थकाइ मार्थे
उकालो चड्दाको कठिनाइ मलाई थाहा छ
निधारमा गाडिएको नाम्लाको डाम मलाई थाहा छ
ढाकरले पेलेको ढाँडको घाउको पीडा मलाई थाहा छ
हिँड्दा हिँड्दा खुट्टामा उठेर फुटेका फोकाको व्याथा मलाई थाहा छ

सधैँ प्रदूषणको भारी बोकेर हिँडेको धर्ती
आज सुँघ्दैछ जंगली फूलहरूको सुगन्ध
सम्झँदै शहहरूले फ्याँकेका फोहोरको डङ्गुरको दुर्गन्ध
सम्झँदै आधुनिक कलकारखानाहरूले निकालेको फोहोरको हरक
आज धर्ती चराहरुको गीत सुनेर चकित भएको छ
आज धर्ती खोलाहरूको कलकल आवाज सुनेर द्रवीत् भएको छ
सायद उसले प्राकृतिक आवाजहरू नै बिर्सि सकेको थियो
सायद उसले प्रकृतिका अत्तर देशी फूलहरू नै भुलिसकेको थियो
लाग्छ आज ऊ बाटो बिर्सिएर हिँडेको छ कुनै एउटा गाउँतिर
र बाटामा भेट्छ हरित जंगल, फूल र रजहाँसहरू
र बाटामा स्पर्श गर्छ स्वच्छ हावा र पानीको मधुरता
जस्तो म आदिम युगमा गर्थेँ

आज धर्तीले अनुहार धोएको छ
कति दिनसम्म धूलोले लछेप्रै ढाकेको अनुहार
कति सुकिलो र स्निग्ध देखिएको छ पानीको दहमा ……….
थेम्स,गङ्गा,मिसिसिपी, नाइल्स, युफ्रेटस् नदीहरूमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *