बासीभातको दौड

दिल भूटानी
बेलडाँगी, नेपाल

दौड उस्तै छ
गाउँमा जस्तै शहरमा पनि
बासीभातको ऊर्जा उस्तै छ
हिजो जस्तै
आज पनि।

भुँडीलाई आवश्यकता उति नै छ
उति नै छ श्रम शोषण पनि
भोक मेटाउनु, बाँच्नु, हाँस्नु उस्तै छ ।

फरक यति हो
यहाँ साइकलको क्यारीयारमा दौडिन्थ्यो
त्यहाँ गाडीको क्याबिनमा बसेर दौडिन्छ
जहाँ बसे पनि दौडिरहन्छ बासीभात।

जब देखि यो धर्तीमा श्रमको मूल्य पलायो
तब देखि हो बासीभातको दौड चलेको
यो दुनियाँमा ।

आयतन उस्तै छ
गाउँमा पनि शहरमा पनि
लस्करै साइकलमा दौडियोस् वा कारमा।

ऊर्जा त ऊजा हो
चाहे बासीभातको होस् या सूर्यको
दौड त दौड हो
चाहे साइकल होस् या कारको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *