भविष्य

डिल्लीराम रेग्मी
ओहायो, अमेरिका

उसले मलाई एकोहोरो
एकतमासले ट्वाल्ल परेर हेरिरह्यो
मेरा ओठसँगै ऊ पनि
आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो
म उसलाई ध्यान पनि दिँदै
आफ्ना गफमा तल्लीन थिएँ
म र मेरो सहपाठी साथी
हाम्रा विद्यार्थी जीवनका बरेमा कुरा गर्दै थियौँ
मेरो छोरालाई मेरो साथीको छोराले केही भन्यो
“आवर ग्रेण्ड फादर स्पिकस् द सेम ल्याङ्वेज”
मैले उसलाई अचम्मित दृष्टिले पुलुक्क हेरेँ
कसरी बोलेको होला यस्तो भाषा?
उसको अनुहारमा प्रस्ट देख्थेँ
यो अनुत्तरित प्रश्न
मैले बोलेको उसलाई अचम्म लागिरहेछ
मानौँ म अर्कै लोकको भाषा बोलिरहेछु
मैले बोलेका शब्दहरू उसलाई
कुनै म्युजियमबाट ल्याएझैँ लागिरहेछ।
आजकाल जमाना परिवर्तन भएछ
माउसको एक क्लिकमा संसार पढ्न सकिन्छ
संसार घुम्न सकिन्छ
तर हाम्रो भाषा भने
कुनै पुस्तकालयको एक कुनाबाट
निन्याउरो अनुहार लगाएर चियाइरहेछ
होसियार !!!!!!!!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *