मनको आँधि

कवि
कवि

शिवलाल दाहाल
केन्टकी, अमेरिका

तिमीले सूर्य–आँधि सुुनेका हौला
तिमीले समूद्री– आँधि पनि सुनेका हौला
यहाँ म त्यस्तो केही कुरा गरिहेको छैन
म त मनको आँधिको कुरा गर्दै छु
यो मनको आँधि कहाँबाट उठ्छ, कसरी उठ्छ थाहा छैन
मात्र छाती हल्लाएर आउँछ, मुटु हल्लाएर आउँछ
भावनका रुखहरु उखेल्दै, हाँगाहरु भाँच्दै आँउछ
चिन्तनका श्रंखलाहरु तोड्दै आउँछ
संवेदनाका फाँटहरुमा धुलो काड्दै आउँछ
जीवन–मूल्यका जगहरु भत्काउँदै आउँछ
हिजोका मेरा प्राप्तिहरु बडार्दै आउँछ
कति सजिलै आइदिन्छ यो आँधि
कसैको जीवन–मूल्यको प्रवाह नगरी
कसैले सिर्जनाको इतिहासको रत्ति पनि बोध नगरी
कसैको नैतिकता, कर्तव्य र दायतित्वको एकसुको पनि मूल्य नगरी
म त आजित छु, यो मनको आँधिदेखि
यो मनको आँधिसँग सारा ज्ञान, विज्ञान र दर्शन हारिदिएको छ
न यसको उदय कतै पत्तो लगाउन सकिन्छ
न यसको अस्तय कतै पत्तो लगाउन सकिन्छ
फगत ऊ आइदिन्छ हरचिज एकाएक हल्लाएर
फगत ऊ आइदिन्छ मेरा स्वप्नाहरु विथोलेर
फगत ऊ आइदिन्छ मेरा सम्भावनाहरू निमोठेर
फगत ऊ आइदिन्छ मेरा बाटाहरु भत्काइदिएर
फगत ऊ आइदिन्छ मेरा सद्भावनाका सेतुहरु टुटाइदिएर
यो मनको आँधिदेखि म आजित छु
ऊ जति बेला पनि आइदिन्छ, जहाँ बस्ता पनि आइदिन्छ
जिन्दगीलाई हल्लाउँदै….बालुवा र धुलो उडाउँदै
भो भयो अब त म उजाड भइसकेँ
अब बाँकी छैन उडाउनु पर्ने
नफुटेको यो एउटा चटानी छाती छ, एक पटक ठूलो झोक्का लिएर आइदिए पुग्छ
र फालाफाल पारिदए हुन्छ यो छाती
–तयार छु एकबार मरिजाने जिन्दगी सूलीमा चडिदिनलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *