मनहरू, सपनाहरू, जीवनहरू

गणपति दाहाल
न्यूयोर्क अमेरिका

मनहरू, सपनाहरू, जीवनहरू
असीमित
आशा र अभिलाषा
बोकेका तारा-पुञ्ज
शब्द-शब्दमा
वाक्य-वाक्यमा
पाइला-पाइलामा
करुणाको भीख माग्न
वाध्य छन्
विवश छन्
वाध्यता र विवशता,
समय र परिस्थिति,
दुःख र वेदना
अभाव र अनिकाल,
हुरी र वतासका
अल्थिमेतम पत्रहरु
पाइला–पाइलामा तेर्सिन्छन्
संघर्षका पर्खाल बनेर,
चुनौतिका अखबार बनेर
दासत्वका पराकाष्ठा बनेर ….

तर,
मनहरू
सुनौलो भविष्यका
सपनाहरू
नयाँ बिहानीको
अनि जीवनहरू
सुरक्षित मार्गको खोजीमा
समयको कठघरामा
आस्थाका बन्दी बनेका छन्
त्यसैले,
मनहरू,
सपनाहरू
जीवनहरू,
कुनै पनि संर्घषका दस्तावेजहरूमा
कुनै पनि सम्झौताका धाराहरूमा
कुनै पनि मेलमिलापत्रहरूमा
हस्ताक्षर गर्न सक्दैनन्,
किन भने
यहाँ,
प्रत्येक यात्राहरुमा
कलम्बसका डरलाग्दा कथा सुनाइन्छन्,
आधीँ र हुरीका कहानी दोहोर्यान्छ,
बर्मुडा ट्राइङ्गको ट्रेजेडी पढाइन्छ,
सुनामी र ज्वालामुखीका हार्ड न्यूज लेखिन्छ,
हिटलर र पोल्पोटका आत्मकथा सुनाइन्छ,
दन्तेकथाका पात्रहरुको मात्रै इतिहास घोकाइन्छ,
डेडुलस र इकारसको प्रयोग, पाठ पढाइन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *