मरुभूमि र अस्तित्व
रमेश गौतम
नर्वे
मुटु अर्थात संवेदनाले भरिपूर्ण
शरीरको कुनै अंग
कुनै समय रोमान्चित थियो।
खण्डहर जिन्दगीका कथाहरु
सायद् आफू सिर्जित
विवशताका गथासाहरु!
मैँले कहिल्यै सोचिनँ-
जीवन यति अनिश्चित बन्छ
जीवन यति भयाक्रान्त बन्छ।
सुन्दर आगारहरु
सपनाको संसारका कुराहरु
मीठो परिवेश
तर लान्छित बालापन
सायद् विस्मृति भइसक्यो आज।
म तिम्रो आश्रयमा आश्रित
जर्जरताको एउटा शिकार-
तिमीभन्दा पृथक परिभाषित भएर सधैँ
बगिरहेछु-अनियन्त्रित खहरेको बेगसँगै।
मैँले तिमीसँग कहिल्यै सोधिन
यात्रानुभूति र रोमान्सहरु!
जिन्दगीका मीठासपनाहरु!
कुनैदिन
हेलेनकेलरले डुल्न चाहेको
वनजंगलका सयरानुभूतिहरु!
अहा!
मैँले कहिल्यै सोधिनँ-
क्युरीगाथाहरु!
कल्पना चावलाका व्यथित संकल्पहरु!!
मैँले कहिल्यै हेरिनँ-
भिन्चीकृत मोनालिसा सुन्दरताहरु!
यो मेरो व्यक्ति भित्रको कुरा।
चंगासँग खेलेर
कुनै सिद्धान्त प्रतिपादित गर्ने फ़्र्यांक्लिनहरु
बगरसँग मिलेर
कुनै साध्य प्रमाणित गर्ने पाइथागोरसहरु
आफैँसँग हारेका आइन्स्टाइन अनुभूतिहरु
कुन्नि कता नाँच्दै थिए/ गुन्जँदै थिए।
यहुदीबस्तीले
कालो दिनको स्मृतिमा
आँसु बगाइरहेको यो बेला
ममा स्थानान्तरित त्यो जर्जरता
तिमीले बुझेकै छैन।
म
रहस्यको पर्यायबन्न चाहन्न;
मलाई थाहा छ-
आज मसँगमेरो छाया छैन।
जीवन अनुभूतिका नीरसताहरु
आफैँसँग अपरिचित आफ्नो अस्तित्व
अनि
पत्थर जस्तै समय,समय त्रासदीहरु
मसँग छन्-
बगरहरु, मरुभूमिहरु!
मणिभिकृत अनुभूतिका चोइटाहरु
आज व्यंग्य हाँसेका छन्
बन्धकी राखिएका खुसीहरु
पीडा बाँचेका छन्
सापटी माँगिएका कन्चन आस्थाहरु
दर्द रोएका छन्!
मेरो चिनारी अब तिमीमा छ
भन तिमीले मलाई के भन्ने?
07/09/2004
Itahari
When I usually inter in your blog I dont forget to read once again this poem and another poem on the topic Bidai ko bela.