माङ्मा लुङ रिसाउँछ
तिलक राई
बेलडाँगी
उकालो चढ्दा
पसिनाले जीउ लुत्रुक्कै भएको बेला
थकाइको सुस्केरा
सुटुक्क खुईया मुखबाट निस्कियो भने
फलाँटको रूखहरूले कानमा
कानेखुसी गर्छन्
ए …! मनुवा हो
यसरी आवाज ननिकाल
यहाँ त अनिष्ठ हुन्छ
र
माङ्मा लुङ रिसाउँछ ।
डाँडा चढ्नेहरू
खुसी भएर रमाउनु हुँदैन
स्वतन्त्र भएर हिँड्नु हुँदैन
प्रगतिको कुरा गर्नु हुँदैन
हाँसी रहेको आकाश रिसाएर
एक छिनमा कालो बादल भएर
हुस्स कुहिरोले छोप्ने छ
सबैको उत्साहमाथि अङ्कुश लगाउँदै
डर पैदा गरेर
माङ्मा लुङ रिसाउँछ ।
माङ किन रिसाउँछ
ती किबुहरूलाई थाहा छैन
तर
बिलाउनेहरू तिनै पोथ्राहरूमाथि
आरोप लगाई रहेका छन्
छिलिएर फुल्नु र फल दिनु
कालिजहरूका हल्लालाई प्रश्रय दिनु हो
भोका पेटहरू अगाएर
आनन्दित भएको देखी सहँदैन
सिरेटोहरू मुटुमा खिल गाड्दै
मुख अँध्यारो पारेर
माङ्मा लुङ रिसाउँछ ।
भोको पेट पेटारो कसेर
भक्ति गानमा लिप्त हातहरू देख्दा
कहिलेकहीँ खुसी देखिने
लाटोकोसेरोको चिच्याहटलाई थुनेर
वर्षौँको कैदपछि
कानमा थुरिनु पुग्छ उन्मुक्त रूपमा
ढोल, झ्याम्टा र स्तुतिको चहकिलो आवाज
अनि सोच्न बाध्य छ कि
डालामा कैद बुवाँले
यो सुनसान वन थर्कने आवाजले
फेरि माङ्मा लुङ रिसाउँछ ?
०००