म अनि मेरा आँखा

जय हुमगाइ
क्यानडा

म अनि मेरा आँखा
एकैदिनका हौँ
म ठुलो भएँ
तर मेरा आँखा अझै उत्रै छन्
म फेरिए उनीहरू उस्तै छन्
म जहाँ पुग्छ
उनीहरू म सँगै त्यहीँ पुग्छन्।
हे आँखा तिम्रा र मेरो
सम्बन्ध वर्णन गरी नसक्नु छ।
म भइन भने तिमीहरू असमर्थ छौँ
म हुँदा तिमीहरू उदेकका छौँ
मैले देख्ने ठाउँमा जाँदा
तिमीहरू रमाएर हेर्छौ
अलि टाढा जाँदा
लोलाएर हेर्छौँ
मैले घुमाइदिए, डुलाइदिए
खटिदिए भने मात्र
तिमीहरू रमाएर मज्जा र सन्तुष्टि लिन्छौँ
राम्रो जति सबै हेर्न खोज्छौ
हे आँखा तिमीहरू कस्ता आँखा
कैले मलाई खुसी पार्छौ
कैले दुखी पार्छौ
तिमीहरूले राम्रो देख्दा
म खुसी हुन्छु
अनि मलाई दुख लाग्दा
तिमीहरू पनि ता दुखी हुन्छौ
हे आँखा तिमीहरू कस्ता आँखा
कैले त्यसै सताउँछौ
कैले जिताउँछौ
कैले आफै सँग हराउँदछौ
कैले बेइज्जत गराउँछौ
कैले इज्जत दिलाउँदछौ
तिमीहरूले हेर्दा मज्जा म पाउँछु
तिमीहरूले फुर्ती लाउँदा
मैले थपक्क मान्छु
तिमीहरूले आँखा जुधाउँदा
शरम मैले मान्छु
तिमीहरूलाई हेर्ने कुरा देखाउन
मैले सँग सँगै जानु पर्छ
हे आँखा तिमीहरू कस्ता आँखा
राम्रा कुरा,राम्रा चिज,राम्रा लुगा,राम्रो गहना
राम्रो घर,राम्रो गाडी,राम्रो माली, राम्रो साली
राम्रो देख्ने अर्काको बुडी
बैँसालु तरुणी रहर भरेर हेर्छौ
अनि त्यसको
दोष जति मलाई दिन्छौ
हे आँखा तिमीहरू कस्ता आँखा
लाज पचाएर धेरै प्रकारले हेर्छौ
निहालेर हेर्छौ,टोलाएर हेर्छौ,
चियाएर हेर्छौ,ट्वाल्ल परेर हेर्छौ
कड्के नजरले हेर्छौ,छड्के नजरले हेर्छौ
जिस्काएर हेर्छौ तल देखि
माथि सम्म एकोहरिएर हेर्छौ
रिस चढाउँछौ
बेइज्जत मलाई गराउँछौ
नराम्रा चैँ हेर्दै नहेर्ने तिमीहरू
डिठ कति गर्छौ
म छेउमा गएँ भने
आँखा तारेर हेर्छौ
राम्रो नभए रिस
मलाई दिन्छौ
बुढो,कुप्रो,लुलो लङ्गडो, लुते,भुते
दाउरे चाउरे राले सिँगाने थोत्रे झुत्रे
माग्ने,आँपे,गाँडे चाके चकमके
भाते भुँडे डल्ले ठ्याउले
हेर्दै नहेर्ने तिमीहरू
हे आँखा खाली देखिने
बस्तु मात्र हेर्न बानी परेका
तिमीहरू मन भित्रका राम्रो
सहभाव आदर्श दया धर्म
इज्जत र मस्तिष्क
कहिले हेर्छौ।
अनि भन हाम्रो सम्बन्ध
हो कस्तो?
तर पनि छ गहिरो
गजबको किन भने
मैले देख्ने सेरो फेरो
मन नपराउने तिमीहरू
अनि तिमीहरूको सेरो फेरो
मन पराउने म कस्तो अनौठो
हे आँखा बैँसालु तरुणी
नदेखे सम्म लोलाई रहने तिमीहरू
देखे पछि हुरुक्कै हुने म पनि
तिमीहरूको हरबखत होमा हैँसे
नथपे के गर्ने?
हे आँखा तिमीहरू नहुँदा पनि
दुख पाउने म
हे आँखा तिमीहरू हुँदा पनि
सुख नपाउने म
हे आँखा तिमीहरू कस्ता आँखा
मैले रोही दिँदा
आँसु झार्ने तिमीहरू
मैले सुती दिँदा
निद्रा लिने तिमीहरू
मैले चिम्म गर्दा
अँध्यारो पार्ने तिमीहरू
मैले ऐना हेर्दा
मलाई देखाउने तिमीहरू
हे आँखा तिमीहरू कस्ता आँखा
मलाई घुमाई दिने
मलाई देखाई दिने
तिमीहरू नै रहेछौ मेरो
जीवनको सहारा
तिमी नभए मलाई नहुने
म नभए तिमीहरूलाई पनि नहुने
हे आँखा तिमीहरू नै रहेछौ
मेरो जीवनको सहारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *