म अभिमन्यु
शिवलाल दाहाल
केन्टकी, अमेरिका
म अभिमन्यु
यतिखेर मेरा अस्त्रहरु भुइँमा खसिसकेका छन्
मेरो रथ हाँक्ने घोडाका खुट्टा भाँचिसकेका छन्
के हेर्दै छौ ए दुर्योधन ! के पर्खिँदै छौ ए शकुनी !
ए द्रोणाचार्य ! ए दुसाशन ! के बिचारिरहेछौ ?
यही हो मौका, हान चौका
म अभिमन्यु
यसघरी यताउता, दायाँबायाँ कतै नहेर
बरु घोच तीरहरुले एक–एक गेरेर
मेरा छातीमा, मेरा आँखाहरुमा
बरु गाड तीखा वाणहरु
प्रत्येक अङ्ग–अङ्गमा
लुच छाला, निकाल आँखा
भाँच खुट्टा, फोर टाउको
यही हो मौका हान मुङ्रा
बर्साऊ बज्र,ठोक मुर्चल
फुक शङ्ख, थर्काऊ कुरुक्षेत्र
जे मन लाग्छ उही गर
जहाँ मन लाग्छ त्यहीँ हान
म फगत पल्टेको छु नाङ्गो हात
यो कुरुक्षेत्रको मैदानमा
ए दुसाशन ! ए शकुनी !
किन अलमल गरिरहेछौ ?
हो चक्रव्यूहमा पारेर पनि तिमीहरूको अझै चित्त बुझेको छैन कि क्या हो ?
र मेरो उपास गीत गाइरहेछौ
एकोहोरो शङ्ख फुकेर
किन गिज्याइरहेछौ
मेरो पराक्रम र वीरतामाथि प्रश्न उठाएर ?
मेरो धनुर्विद्या र अल्पायुको खिल्ली उडाएर ?
फुक शङ्ख र उत्घोष गरिदेऊ
मेरो मृत्युको
यो कुरुक्षेत्रको मैदनमा
र गाऊ गीत विजयको !
तर यति कुरा तिनीहरूलाई थाहा हुनु पर्ने हो
मेरो अवसान
युद्धको समाप्ति होइन
मेरो अन्त्य सम्पूर्ण पाण्डवहरुको पराजय होइन
त्यसैले म ऐलान गर्छु
युद्ध त जारी रहनेछ त्यो बेलासम्म
जबसम्म लेखिन्न तिमीहरूको अपराध कथा
इतिहासको आखिरी पृष्ठमा अँगारका अक्षरले
र गाउँदैनन् गीत काग र गिद्धहरुले !