म फुलेको दिन
देउकी ढकाल, अम्सटरडाम
झल्झली याद आउँदछ
म सानु हुँदाको दिन
केटाले खेल्ने अम्फी
लुकीलुकी मैंले खेलेको दिन
आमैले लगाउने हार
दिदी र मैंले पालैपिलो लगाएको दिन
अनि बाबाले लगाउने टोपी
दिदीले लगाउदै उत्ताउलो गरेको दिन ।
सानै थिएँ म
सानै छु पनि म ठान्दथें
थाहा भएन म हुर्केको
म अग्लो भएको
अनि मेरो रुप
अनि ममा परिवर्तन आएको
अनि म फुलेको ।
प्रश्न गर्दछन् मलाई
हिमाल,
अनि पौवा-पाटी
म हिँड्ने गोरेटा अनि
मैंले पानी भर्ने पँधेराले
म फुलेको कथा ।
उत्तर ममा किन हुनु
जवाफ प्रश्नका
अनि म फुलेका
जन्म फेरि भए
फेरि फुल्ने अवसर मिले
भन्ने थिएँ सायद्
म फुलेको कथा ।