म रोएको बेला
टि.आर.राई
मेरो साहसी आवाज र जवाफहरुलाई
राइफलको नाल र सङ्गिनले बन्द गर्दै
तिम्रो नाटक र तमाशा हेर्न बाध्य बनायौ
यातनाको चरमसिमा तिर आखिर डो-याइछाड्यौ ।।
म रोएको बेला तिमी हाँसेथ्यौ
खुशी र गजबपना पोखाएथ्यौ ।
जब आठ नम्बरको कोरियन बुटले
मेरो शरीर भरी टेकिंदा-रगेटिँदा
करेन्ट, कोर्रा, सुई, काँडेतार आदिले
मेरो बदनलाई दयारहित चुम्दा
आफैँ चित्कार फुटिगएथ्यो करुणाभरि
हो तिमीले यसरी धेरै सतायौ
अन्य हजारौँ साथीहरुलाई पनि सतायौ
तिम्रो कालो कोठाभित्र काफी दिन बिताउँदा
हातकडी र साङ्लाले मेरो हातपाउ बाँधिदा
म भित्रभित्रै रोएथेँ फेरि बाहिर बाहिरै रोएथें
चिसोमा रोएथेंतातोमा रोएथें
रातमा रोएथें फेरि दिनमा
तिमीलाई के थाहा मपनि तिमी जस्तै मान्छे !
तिमीले त मानवता सर्वश्व गुमायौ
हामी सबैलाई पशु बनायौ
सामन्य सुधारको निम्ति आवाज उठाउँदा
धेरैको ज्यान लिन पनि सक्यौ
निर्दोषलाई दोषी बनाउन सक्यौ
नरुचेको गाँस ख्वाउन सक्यौ
नबसेको बासमा बसाउन सक्यौ
तिमीले जे पनि गर्न सक्यौ
म बाँधिएको बेला रुहेको बेला
तिमीले जे पनि गर्न सक्यौ
तिमीले जे पनि गर्न सक्यौं ।
टि.आर. सर,
“जब आठ नम्बरको कोरियन बुटले, मेरो शरीर भरी टेकिंदा-रगेटिँदा, करेन्ट, कोर्रा, सुई, काँडेतार आदिले, मेरो बदनलाई दयारहित चुम्दा, आफैँ चित्कार फुटिगएथ्यो करुणाभरि, …….”
Thanks for your nice kabita.
Lakshmi Prasad Dhakal, Amsterdam